कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमण प्रयास

कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमणको प्रयास भएको छ। तुलसीपुर १६ मा निधन भएका एक व्यक्तिको घरमा समवेदना दिनका लागि गएका सांसद चौधरीलाई त्यहाँ कुटपिटको प्रयास भएको थियो। सांसद चौधरीले आफू समवेदना प्रकट गर्नका लागि त्यहाँ गएको तर एमालेका स्थानीय कार्यकर्ताहरुले घेरा बन्दी गरेर आक्रमणको प्रयास गरेको बताए।

उक्त घेराबाट उम्किएर तुलसीपुर आइपुगेका चौधरीले पत्रकार सम्मेलन गरेर आफू भाग्यले जोगिएर फर्किएको बताएका थिए। ‘मौन अवधिमा म प्रचारका लागि गएको थिइनँ, परिवारका सदस्यको निधनले शोकमा रहेको परिवारलाई समवेदन व्यक्त गर्न गएको हुँ,’ उनले भने, ‘मौन अवधिमा मृतकको घरपरिवारलाई समवेदन प्रकट गर्न जानु पनि अपराध हो?’

आफू सांसद भएकाले निर्वाचन आचारसंहितालाई कसरी पालना गर्नुपर्छ भन्ने हेक्का रहेको भन्दै उनले एमालेबाट निकै ज्यादतीपूर्ण व्यवहार गरिएको बताए। उनले आफूमाथि आक्रमणको प्रयास गर्नेहरुलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published.