नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्याकालका लागि पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले राष्ट्रपति रामनाथ कोविन्दबाट ईश्वरका नाममा सपथ लिएका हुन्। मोदीसँगै अन्य मन्त्रीहरूले पनि सपथ लिएका छन्। 

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि मन्त्री बनेका छन्। नयाँ मन्त्रिमण्डलमा तत्कालीन विदेश सचिव एस जयशंकर पनि मन्त्री बनेका छन्। चार वर्षअघि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जयशंकर विदेश सचिव थिए।

त्यस्तै उत्तर प्रदेशको अमेठीमा भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानी पनि मन्त्री बनेकी छन्। अघिल्लो सरकारमा मन्त्री रहेका राजनाथ सिंह, नितिन गडकरी,पियुष गोयल, निर्मला सीतारमणले पनि नयाँ कार्यकालका लागि सपथ लिएका छन्।

मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि नयाँदिल्ली पुगेका छन्। सपथ ग्रहणका लागि मोदीले विम्स्टेक राष्ट्रका सरकार/राष्ट्रप्रमुखलाई निम्तो पठाएका थिए।

Leave a Reply

Your email address will not be published.