दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दलहरूले उम्मेदवार तय गर्दा क्षेत्रीय र जातीय अवस्था मनन गरी जहाँ जसको बाहुल्य छ, त्यही समुदायलाई प्राथमिकता दिन थालेका छन् । कैलालीमा प्रमुख दलले थारूहरूको बाहुल्य रहेको क्षेत्रमा थारू उम्मेदवारलाई नै नगर र गाउँपालिकाका उम्मेदवार घोषणा गरेका छन् ।
५ गुणा बढी थारू उम्मेदवार
प्रदेश नम्बर ७ कै सबैभन्दा बढी जनसंख्या र मतदाता रहेको कैलालीमा दलहरूले विगतको तुलनामा निकै बढी संख्यामा थारू समुदायका नेतालाई उम्मेदवार बनाएका छन् । जिल्लाका १३ वटै स्थानीय तहमा थारू उम्मेदवार र मतदाताका बलमा मूलधारका राजनीतिक दल प्रतिस्पर्धामा उत्रिँदै छन् । थारू मतदाता रिझाउन अधिकांश तहमा प्रमुख दलले थारू उम्मेदवारलाई प्राथमिकता दिएका हुन् । जिल्लाका ११ वटा तहको प्रमुख–उपप्रमुखमा विभिन्न पार्टीबाट १९ जना थारू उम्मेदवार छन् । तीमध्ये ७ वटा तहमा थारूबीच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमले अधिकांश तहमा थारू उम्मेदवारलाई प्राथमिकता दिएका छन् । कांग्रेसले शनिबार अन्य पार्टीको तुलनामा ढिलो गरी उम्मेदवार छनोट गरेको छ । जसमध्ये ११ जना थारू उम्मेदवार छन् । ८ जना प्रमुख तथा ३ जना उपप्रमुख पदमा उम्मेदवार बनाइएका हुन् ।
माओवादी केन्द्रले प्रदेशको एक मात्र उपमहानगरको मेयरमा थारू उम्मेदवार अगाडि सारेको छ । ४४ प्रतिशत राना थारू मतदाता भएको उपमहानगरमा कांग्रेसले पनि उपमेयरमा जीवन रानालाई अगाडि सार्न सिफारिस गरेको छ । माओवादी केन्द्रले ६ तहको प्रमुखमा थारू उम्मेदवार उठाएको छ । केन्द्रका केन्द्रीय सदस्य हरि चौधरीका अनुसार धनगढी उपमहानगर, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिका प्रमुखमा थारू उम्मेदवार तय गरिएको छ । ‘हाम्रो पार्टीको प्राथमिकतामा नै आदिवासी र जनजाति उम्मेदवार छन्,’ उनले भने ।
प्रमुख प्रतिपक्षी एमालेले पनि थारू उम्मेदवारलाई नै प्राथमिकता दिएको छ । एमालेले पनि घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको मेयर र उपमेयरका साथै कैलारी गाउँपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा थारू समुदायलाई अघि सारेको छ । कैलालीमा प्रभाव रहेका संघीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त गठबन्धनले पनि अधिकांश तहका प्रमुख–उपप्रमुखमा थारू उम्मेदवारलाई प्राथमिकता दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य साना दलले पनि थारू उम्मेदवार नै अगाडि सारेका छन् ।
विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले भने अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन । उक्त पार्टीको स्थानीय एकाइबाट अधिकांश थारू उम्मेदवार नै सिफारिस भएका छन् । सबै दलले वडा तहमा पनि निकै ठूलो संख्यामा थारू उम्मेदवार अगाडि सारेका छन् । ‘०५४ मा भएको स्थानीय तह निर्वाचनभन्दा यसपटक ५ गुणा बढी थारू उम्मेदवार मैदानमा छन्,’ थारू नेता बलवीर चौधरीले भने, ‘दलहरूले यसपटक जसरी थारू उम्मेदवार चयनमा सक्रियता देखाएका छन् यसको परिणाम पनि राम्रो आउँछ ।’
टीकापुर घटनापछि थारू–पहाडीबीचको तुष मेटाउन पनि दलहरूले थारू उम्मेदवारलाई प्राथमिकता दिएको अधिकांशको बुझाइ छ । ‘सकारात्मक रूपमा हेर्ने हो भने थारू बहुल जिल्लामा थारू उम्मेदवार बढी हुनु सामान्य कुरा हो,’ प्राध्यापक त्रैलोक्यनाथ जोशी भन्छन्, ‘युगौंदेखि पछाडि पारिएका वर्गलाई राजनीतिको मूलधारमा ल्याउने प्रयासलाई अन्यथा व्याख्या गरिनु उचित हुँदैन ।’ विगतभन्दा निकै शक्तिशाली स्थानीय सरकारका रूपमा निर्वाचन भइरहेको स्थानीय तहमा थारू समुदायको नेतृत्वले उनीहरूको विकासमा निकै मद्दत पुग्ने जोशीले बताए । उनले भने, ‘चुनावीय गणितका हिसाबले टिकट दिइए पनि यसले समग्रमा सकारात्मक परिणाम आउने कुरा ठूलो हो ।’
कान्तिपुर दैनिकबाट