`थारूमाथि सदियाैंदेखिकाे दमन र विभेद्काे परिणााम टीकापुर घटना´

उन्नती चौधरी/काठमाडौं।
संविधान घोषणा हुनु भन्दा एक महिना अगाडि कैलालीमा नामांकन र सीमांकनको विवदले भदौ ७ गतेका दिन टीकापुरमा ठूलो घटना घटेको थियो । सो घटना घटेको ठीक एक वर्ष पूूरा भएको छ ।

सोही घटनाबारे आदिबासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले अनुगमन प्रतिबेदन र घटनामा केन्द्रीत रही प्रकाशित संगालो पुस्तक मंगलबार काठमाडौंमा एकसाथ सार्वजनिक भएको छ ।

लाहुर्निपद्वारा आयोजित कार्यक्रममा समाजशास्त्री डा. कृष्ण भट्टचन, सांसद गोपाल दहितले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा सो संस्थाले घटनाकाक्रममा मानवअधिकार उल्लंघनको निश्कर्ष निकालेको छ ।

शान्तिपूर्णरुपमा आन्दोलन गर्न जसलाई पनि कानूनतः छुट रहेपनि थारूको आन्दोलनलाई दबाउने प्रयास प्रशासनबाट भएपछि घटना भएको प्रतिवेदनको निचोड छ ।

अधिवक्ता शंकर लिम्बुको संयोजकत्वमा गठित अनुगमन टोलीले ३४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा अहिलेसम्म २४ जना थारूमाथि प्रशासनले पक्राउ गरी ज्यानमुद्दा लगाएको उल्लेख छ ।

त्यस्तै, स्थानीय पत्रकार गणेश चौधरी र कृष्ण सर्वहारीले संयुक्तरुपमा लेखेको पुस्तक ‘थरूहट आन्दोलनः टीकापुर कथा’मा टीकापुर घटनाको विस्तृत विषय समेट्ने प्रयास गरिएको छ । कुल १३६ पृष्ठको सो पुस्तकले थारूमाथिको सदियौंदेखिको दमन, विभेदको परिणाम टीकापुर घटना घटेको निक्र्यौल निकालेको छ ।

कार्यक्रममा समाज शास्त्री डा. कृष्ण भट्टचनले टीकापुर घटना थारूमाथि भइरहेको विभेद, अत्याचारकै परिणामले घटेको बताए । उनले सो घटनाकोे दोषी स्वयम राज्य नै रहेकोे आरोप लगाए । थारू, मधेसी, आदिबासी जनजातिलगायतका नागरिकसँग राज्यले विभेद कायम राखे मुलुकमा अझै ठूलो दुर्घटना हुने सम्भावना रहेको बताए ।

सांसद गोपाल दहितले थारूमाथिको विभेद अन्त्य नभए टीकापुर भन्दा ठूलो आँधिबेरी आउन सक्ने चेतावनी दिए । प्रचण्ड नेतृत्वको सरकारसँग संघीय गठबन्धनले गरेको तीनबुँदे सहमति अनुसार सरकार अगाडि नबढे देशको जुनसुकै कुनामा पनि दुर्घटना हुनसक्ने संज्ञा दिए । उनले टीकापुर घटनापछि राज्यले थारूमाथि ठूलो अमानवीय व्यवहार गरेकोे आरोप लगाए ।

त्यसै गरी पत्रकार लक्की चौधरीले भाद्र ७ गते भएको घटनामा आठजना सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जानु दुःखद् जस्तै भाद्र ८ गतेको आगजनीको घटना पनि उतिकै दुःखद रहेको बताए । स्थानीय प्रशासनको कफुर्यकैबीच एक आक्रोशित पक्षले खुलेयाम थारूको घरपसल छानीछानी आगजनी गर्नुपनि ठूलो अपराध भएको उनको भनाई थियोे । आगजनी गर्नेको पहिचान गरी प्रशासनले कारवाहीको प्रक्रिया नबढाउनुु विडम्बनापूर्ण रहेको उनले तर्क दिए ।

मधेस विश्लेषक डा. रामदयाल राकेशले मधेस र थरूहटमा राज्यको विभेद समानरुपको भएकाले घटनाहरु पटक पटक हुनेगरेको बताए । राज्यले जबसम्म सबै वर्ग र नागरिकसँग समान व्यवहारको नीति लागु गर्दैन तवसम्म यस्ता घटना दोहोरीरहने बताए ।

कार्यक्रममा लेखक सर्वहारीले पुस्तकमा समेटिएको विषय र त्यसको निश्कर्षबारे प्रष्ट्याएका थिए । उनले टीकापुर घटनाबारेको संक्षिप्त जानकारी समेटिएको पुस्तक संग्रहनीय रहेको बताए ।

Leave a Reply

Your email address will not be published.