माग सम्बोधन नभएसम्म दोस्रो चरणको निर्वाचन हुन नदिने लेखीको चेतावनी

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन्। थारु पत्रकार संघ नेपालको चितवन शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव लेखीले थारु, मधेसी र समग्र आदिवासी जनजाति समुदायको माग नै आफूहरुको माग भएको दाबी गरे।

अहिलेको निर्वाचन प्राप्त अधिकारलाई पनि समाप्तपार्ने गरी गरिएकाले स्वीकार गर्न नसकिने लेखीले बताए। मधेसवादीदलको मुद्दासँग आफ्नो पार्टीको ऐजेन्ण्डा मेल खाएकाले पार्टी एकता भएको स्पष्ट पार्दै महासचिव लेखीले आफुहरुको मुद्दा र मागको विषयमा प्रतिपक्षसँग वार्ता जारी रहेको बताए।

सञ्चारमाध्यममा आइरहेको मधेसवादीदलहरु निर्वाचनमा जानेकुरा सत्य नभएको समेत लेखीको जिकिर गरे। महासचिव लेखीले माग सम्बोधन नभएसम्म निर्वाचन सफल हुन नदिने बताए।

टीकापुरमा भएको घटनामा ८ जना सुरक्षाकर्मीको हत्या कसले गरेको भन्ने विषय अहिलेसम्म एकीन नभएको अवस्थामा थारुहरुमाथि झुटो आरोप लगाएर थुनामा राख्नु गलत भएको टिप्पणी गरे।

थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य समेत रहेका नेता लेखीले राज्यको पुनःसंरचनाको क्रममा तराईमाथि चरम विभेद भएको आरोप लगाए। जनसंख्याको आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने बताए। आधा भन्दाबढी जनसंख्या भएको तराईमा थोरै गाउँपालिका र नगरपालिका र आधाभन्दा कम जनसंख्या भएको हिमाल र पहाडमा बढी गाउँपालिका र नगरपालिका बनाइएकाले यही संरचनामा चुनावमा जान नसकिने भनाई लेखीको छ।

आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षसमेत रहेका नेता लेखीले यथास्थितिमा गरिएको चुनावलाई स्वीकार गर्न नसकिने दोहोर्याए। टीकापुर घटनाको विषयमा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग उनको थियो।

जनआन्दोलनको नाममा १० हजार नेपालीको हत्या गर्ने माओवादीका नेताहरु जेल जान नपर्ने, झापा विद्रोह गर्नेहरु जेल जान नपर्ने तर पहिचान र आफ्नो स्वाभिमान जोगाउका लागि शान्तिपूर्ण आन्दोलन गर्ने थारुहरु आन्दोलन गरेकै कारण जेलजानुपर्ने ? लेखीले प्रश्न गरे।
नेता लेखीले नेपालको न्यायपालिका सर्वोच्च अदालत संवैधानिक अंग मानवअधिकार पनि कुनै न कुनैढंगबाट जातिवादी चिन्तनबाट ग्रसित भएको आरोप लगाए।

नयाँ संविधानमा संरक्षित क्षेत्रको कुरा लेखिएको भएता पनि चितवनका थारु समुदालयले उठाउँदै आएको थारु संरक्षित क्षेत्र सहितको स्थानीय तह निर्माण नभएकोले फेरि पनि भोट बैंकको रुपमा मात्र उपयोग गर्ने, चुनावमा टिकट दिए पनि हराएर प्रतिनिधित्वविहीन बनाउने खेल भएकाले चितवनको थाकसको यसप्रति ध्यान आकर्षण भएको कुरा थाकस चितवनका जिल्ला सभापति विश्राम महतोले बताए।
पत्रकार सम्मेलन थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.