टीकापुर घटना एकपटक फेरि चर्चामा आएको छ। सरकारले उक्त घटनालाई राजनीतक मुद्दा भनी फिर्ता प्रक्रिया अगाडि बढाएपछि सञ्चारमाध्यममा यसको ब्यापक विरोध भएको हो। करिब दुई वर्षअघि २०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा एक बालक र ७ सुरक्षाकर्मीको ज्यान गएको थियो। घटना कसले किन गराएको भन्ने प्रमाणित अझै भइसकेको छैन। तर सोही घटनामा दुई नाबालगसहित २५ जना थारुहरुलाई अभियुक्त बनाइएको छ। उनीहरु अहिले पनि कैलाली कारागारमा जेल जीवन बिताइरहेका छन्।
यो घटनामा नेकपा एमालेले मिडियाबाजी गरिरहेका बेला थारुहरु भने खिन्न भएका छन्। उनीहरुले भदौ ७ गतेको घटनाका कारण थारुहरुले पाएको दुःख अझै बिर्सिन नसकेको बताइरहेका छन्। सोही घटनापछि भदौ ८ गते टीकापुरमा विभिन्न व्यवसाय जमिरहेका थारु ब्यवसायीहरुको घर छानीछनी जलाइएको छ। कर्फ्युकाबीच प्रहरीकै संलग्नतामा घरहरु जलाइएको थारुहरुको गुनासो छ। ती घटनाबारे, घटनापछि ती परिवारमा परेको प्रभावबारे यहाँका मिडिया अझै बेखर रहेको उनीहरुको गुणासो छ। प्रहरी प्रशासनकै आडमा त्यस आसपासका गरिब थारुहरुलाई दिनुसम्मको दुःख दिइएको छ। प्रहरीले नै महिलामाथि हातपात गरिएको छ। तर यी कुराहरु राष्ट्रिय मिडियाको अनुसन्धानको विषय कहिल्यै नबन्ने गरेको गुनासो उनीहरुसँग छ।
भदौ ७ गतेको घटनापछि प्रहरीले दिएको दुःखबारे बयान गर्दै अग्रिदेवी चौधरी भन्छिन्, ‘प्रहरीले आएर लठीले घोच्ने काम गरे। रोक्दारोक्दै ममाथि जाइलागे। धन्न एकजना थारु प्रहरीले महिलालाई हातपात नगर भनेपछि उनी टाढा भए। नत्र उसले मलाई जेपनि गर्नसक्थ्यो।’
बिनाकारण प्रहरी एउटा छिमेकीलाई लछारपटार गरेको उनले बताइन्। खुट्टामा डोरी बाँधेर घिसारेर लगेको उनले आफ्नै आँखाले देखेकी छन्। गरिब भएर हो कि कमैया भएर हो प्रहरीले सताउन नछोडेको उनको गुनासो छ।
त्यस्तै दयाराम चौधरी र धनिराम चौधरीले पनि प्रहरीले आफूहरुमाथि ज्यादती गरेको बताए। मजदुरी मान्छे लडाइँ भएको ठाउँमा किन जानु भनेर विन्ती गर्दा पनि प्रहरीले कुटपिट गरेको उनीहरुको भनाई छ।
यहाँसम्म कि प्रहरीको कुटाइबाट एक बिरामी थारुको ज्यान नै गएको उनले बताए। ‘एउटा बडा थियो। उनी बिरामी थिए। प्रहरीले उनलाई पनि हातपात गर्योु। हातपात गरेको दिन त उनी ठीकै थियो। भोलिपल्ट उनको ज्यानै गयो,’ धनिरामले भने। प्रहरीले मानवीय संवेदनाको पनि परवाहै नगरी थारुहरुलाई यताना दिएको उनीहरुको भनाई छ।