गच्छदार-यादवबीच चुनाबी तालमेलको तयारी, योगेन्द्र भन्छन्, ‘पार्टी एकीकरणको कुरा पनि भइरहेको छ’

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अन्तिम तयारी गरेका छन्।उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबीच निर्वाचनमा तालमेल गर्नेबारे पटक–पटक छलफल समेत भइसकेको छ।

डेढ महिना यता दुई नेताबीच दर्जन पटकभन्दा बढी भेट भइसकेको छ। गच्छदारलाई भेट्न यादव गच्छदारले सम्हालेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा समेत गइसकेका छन् भने गच्छदार पनि यादव निवास सातदोबाटोमा पटक–पटक गइसकेका छन्। ‘दुई नेताबीच राष्ट्रिय जनता पार्टी नेपालसँग समेत निर्वाचनमा तालमेल गरेर जाने विषयमा छलफल भइरहेको छ,’ संघीय समाजवादी फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले भने,‘तीन पार्टीबीच चुनावी तालमेल हुनेमा म आशावादी छु।’

राजपा नेपालले निर्वाचनमा भाग लिनेमा आफू विश्वस्त रहेको र सकरात्मक कुरा भइरहेको उनले बताए। ‘सरकार पनि लचक भएकै हो। स्थानीय तहको संख्या बढाउने कुरामा आफ्नो तर्फबाट प्रयास गरेको हो’, उनले भने, ‘अहिले निर्वाचनमा जाउँ बाँकी कुरा संघर्ष गर्दै जाउँला भन्ने हाम्रो भनाइ हो। यसमा गच्छदारजी र हामी धेरै नजिक पुगेका छौं।’

निर्वाचनमा दुवै पक्ष मिलेर गएपछि उपलब्धि पनि धेरै हुने भएकोले निर्वाचनमा तालमेल अपरिहार्य भएको नेपाल लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले बताए। दुई नेताबीच निर्वाचनमा तालमेल मात्रै होइन पार्टी एकतासम्मको प्रयास भइरहेको चौधरीले बताए। दुई नेता मिलेर पार्टीलाई अघि बढाउँदा जुन उपलब्धि भएको थियो त्यसको संस्थागतका लागि पनि पार्टी एकता गर्नुपर्ने दबाब जनता र कार्यकर्ताबाट आएको उनले बताए। दुई पार्टीबीच एकताको प्रयास पनि भइरहेको उनले जानकारी दिए।

दुबै पार्टीलाई चुनावी तालमेलको जरुरी रहेकाले सामान्य खालका विवादले तालमेल नरोकिनेमा आफूहरु ढुक्क रहेको दुबै पार्टीका नेताहरुले बताएका छन्।दुई पार्टीको कार्यगत एकता र पार्टी एकतासम्म गर्न दोस्रो तहका नेता पनि सक्रिय छन्। लोकतान्त्रिक फोरमका महासचिव रामजनम चौधरी प्रमुख सचेतक योगेन्द्र चौधरी र समाजवादी फोरबाट,महासचिव अभिषेकप्रताप शाह र प्रमुख सचेतक शिवजी यादव लगायतका नेता सक्रिय बनेका छन्।

२०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधव नेपालको सरकार निर्माणका क्रममा विवाद भएपछि गच्छदारले मधेसी जनाधिकार फोरम नेपाल फुटाएर मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए। त्यसयता यी दुई नेताबीच सम्बन्ध सुध्रिएको यो पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published.