गच्छदार नेतृत्व कार्यदलको सिफारिसमा बिराटनगर र विरगञ्जलाई महानगर बनाउने घोषणा, २३ स्थानीय तह पनि थपियो

सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ। सरकारले तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो। ‘कार्यदलको रिपोर्टका आधारमा यो निर्णय भएको हो’ सञ्चारमन्त्री राम कार्कीले भने।

बिराटनगर र वीरगञ्ज महानगरमा स्तरोन्नती गरिएको छ। २३ स्थानीय तह थप गरिएको छ। तर, वीरगञ्जलाई महानगर बनाउने क्रममा एक गाउँपालिका गाभिएकाले बढ्ने संख्या २२ हो।

अब देशभर स्थानीय तहको संख्या ७६६ भएको छ। सोमबार सर्लाही, नवलपरासी, रुपन्देही, कपिलवस्तुमा ३-३ थप भएको छ। सुनसरी, पर्सा र रौतहटमा २-२ स्थानीय तह थप भएको छ। तर, पर्साको एउटा स्थानीय तह वीरगञ्जमा गाभिएकाले त्यहाँ बढ्ने एकमात्र हो। यस्तै बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा पनि १-१ स्थानीय तह थप भएको छ।

सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ। महोत्तरीका ३ तथा झापा, बाँके र रुपन्देहीका २-२ गाउँपालिका नगरपालिका भएका छन्। यस्तै कैलाली, सिरहा, धनुषा र बारा एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरिएको छ।

Leave a Reply

Your email address will not be published.