स्थानीय तहको निर्वाचनमा एनपिस अवार्ड बिजेताद्वय कौशिला र वसन्ती चौधरीको उम्मेदवारी

लखन चौधरी/धनगढी।

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एनपिस अवार्ड बिजेताद्वय कौशिला चौधरी र वसन्ती चौधरीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन्। मुक्त कमैया पुनःस्थापना, महिला हिंसा तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल दुबै जनाले नयाँ शक्ति नेपालको तर्फबाट कैलाली जिल्लाको फरक-फरक स्थानीय तहबाट उम्मेवारी दिएका छन्। कौशिला चौधरी गौरीगंगा नगरपालिकाको उपमेयर पदको लागि छनौट भएकी छिन् भने वसन्ती चौधरी कैलारी गाउँपालिका-५ को अध्यक्ष पदको लागि नयाँ शक्ति नेपालबाट छनौट भएकी हुन्। पूर्वकमलरी समेत रहेका उनीहरु मुक्त कमैयाको पुनःस्थापना तथा हक अधिकारको क्षेत्रमा क्रियाशिल एक-एक वटा संस्थाको अगुवाई समेत गर्दै आएका छन्। सन २०१५ मा एनपिस अवार्डको विजेता बनेकी कौशिला चौधरी मुक्तकमैया महिला विकास मञ्च कैलालीकी अध्यक्ष हुन् भने सन २०१६ मा एनपिस अवार्डको विजेता बनेकी वसन्ती चौधरी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष र मुक्तकमैया समस्या समाधान आयोगकी केन्द्रीय सदस्य पनि हुन्। स्थानीय तह निर्वाचनमा तपाईँको उम्मेदवारी किन? भन्ने जिज्ञासामा वसन्ती चौधरीले भनिन्- ‘मुक्तकमैया पुनःस्थापनाको सबाल, महिला हिंसा न्यूनीकरण, मानवअधिकारको क्षेत्रलगायतमा लामो समयसम्म काम गरियो, जुन क्रममा हासिल गरेको दक्षता र अनुभवको आधारमा ग्रामीण क्षेत्रको विकास गर्छु भनेर उम्मेदवारी दिएकी छुु। म एउटी महिला भएको नाताले पनि महिला अब कुनै पनि क्षेत्रमा कमजोर छैनन् है भनेर पनि उम्मेदवारी दिएकी हुँ।’ त्यस्तै, आफू तल्लो स्तरबाट संघर्ष गर्दै आएको बताउँदै उनले ग्रामीण भेगको सामाजिक, सांस्कृतिक, धार्मिक तथा विकाससम्बन्धी सबै समस्यालाई नजिकबाट बुझेकाले केही गर्न सक्छु भन्ने आँट र विश्वासका साथ उम्मेदवारी दिएको बताइन्। गौरीगंगा नपाको उपमेयरको उम्मेदवार कौशिला चौधरीले आफु मुक्तकमैया, कमलरी, हलियालगायत सिमान्तकृत वर्गको हक अधिकार र दीगो विकासको लागि १९ वर्ष काम गरेको सुनाइन्। तर चाहेअनुसार काम गर्न नसकेको उल्लेख गरिन्। जसको मुल कारण आफू राजनीतिक तथा नियमनकारी निकायको निर्णायक तहमा नहुनु खुलासा गरिन्। राजनीतिक तवरबाट मात्रै सम्भव देखेपछि उम्मेवारी दिएको उनको भनाई छ। ‘मेरो अनुभवमा सीमान्तकृत समुदायको दीगो विकासको उनीहरुलाई बंगुरको पाठा वितरण गरेर हुँदैन अब, त्यसको लागि नेतृत्व तहमा पुगेर नीतिगत सुधार गरेर मात्रै सम्भव देख्छु,’ कौशिलाले अगाडी भनिन्, ‘नयाँ शक्ति नेपालको सिद्धान्त र मेरो विचारधारा मेल खाएपछि उम्मेदवारी दिएकी हुँ।’ ‘पक्कै पनि स्थानीय जनताहरुले माया गरेर भोट दिनेमा विश्वस्त छु, यदि उपमेयरमा आएको खण्डमा काम गरेर देखाउने छु’, उत्साहित हुँदै भनिन् ।

Leave a Reply

Your email address will not be published.