दिल बहादुर चौधरी
मेरो घर जग्गा बचाउन पहल गरिदिनु पर्यो सर, सर मेरो घर जग्गा लिलाम भयो भने मेरो परिवार (श्रीमती) चिन्ताले मर्छिन् सर।’ कारागारमा भेट्न जाँदा अनुनय बिनय गर्छन् उनी। आँखामा आँशु छचल्किएको कुरा आवाजबाट थाहा हुन्छ, मेरो आँखा पनि रसाउँ। ‘थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग मनको कुरा राखुँ भन्छु, उहाँहरु फोन उठाउनु हुन्न, म कोसँग मनको कुरा साटुँ सर, तपाईं आउनुहुन्छ मन अलि हल्का हुन्छ, राहत मिल्छ, मेरो कुरा साथीहरुलाई सुनाइदिनु पर्यो सर, माधवलाईजीलाई भनिदिनुपर्यो, मेरो घर जग्गा बचाइदिन पहल गरिदिनु पर्यो सर।’ कुरा हो थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको। बि.स. २०७२ सालमा ‘थरुहट आन्दोलन’ चरम चुलीमा पुगेको थियो। थारु कल्याणकारिणी सभाका सभापति भएका कारण सदरमुकाम धनगढीको आन्दोलन उनकै नेतृत्वमा भइरहेको थियो। टीकापुर क्षेत्रका नेतृत्व रेशम चौधरीले सम्हालेका थिए। सरकारको बर्बर दमनका कारण ०७२ भाद्र ४ गते दुर्गौली गाविसको तोरैयापुरमा प्रहरी, अखण्डे, थारुहरु बिचमा घण्टौ झडप भएको थियो, भाग्यवश त्यो दिन मान्छे मरेन, नभए साह्रै अनर्थ हुनसक्थ्यो। फेरि पनि राज्यकै बलमिच्याई र दमनले भदौ ७ गते ‘टीकापुरमा अप्रत्याशित, अकल्पनीय थारु विद्रोह’ भएरै छाड्यो। विद्रोहमा ८ प्रहरीको ज्यान गयो। हत्या आरोपमा प्रहरीले आन्दोलनमा गएका र नगएका २५ थारुहरुलाई पक्राउ गरी कारागारमा राख्यो। तिनै २५ जनामा परे लाहुराम चौधरी (२ जना बालक अहिले त्यहाँ छैनन्)। जिल्लाको पूर्वी छेउमा रहेको टीकापुरमा घटना घट्यो, जिल्लाको सबभन्दा पश्चिम छेउमा रहेको धनगढीमा शान्तिपूर्ण आन्दोलन गरिरहेका थाकस कैलालीका सभापति लाहुराम चौधरी समातिए, जेल चलान गरिए।
यतिबेला उनको नाममा जमिन छैन। श्रीमति सोन कुमारी देवी चौधरीको नाममा धनगढी ३ बरहरा गाउँमा १ कट्ठा जग्गा र सोही जग्गामा पक्की घर छ। सोही घर उनले एनआइसी एशिया बैंक धनगढीमा धितो राखी १५ लाख ऋण लिई श्रीमतिकै नाउँमा ‘अजगर काष्ठ हस्तकला उद्योग’ सञ्चालन गरेका थिए। जेल चलान पछि उनको ब्यबसाय चौपट हुन पुग्यो। फर्निचर राखिएको घरको भाडा तिर्न नसक्दा उनको फर्निचर त्यसैमा गयो। यताउताबाट सरसहयोग लिएर ३ लाख तिरिसकिएको र ब्याजसहित १२ लाख तिर्न बाँकी छ। १२ लाखको नियमित ब्याज तिर्न नसकेका कारण बैंकले उनको धनगढी उपमहानगरपालिकामा रहेको १ कट्ठासहितको घर जग्गा लिलाम गर्न लागेको छ। घर जग्गा लिलाम हुन थालेपछि उनी चिन्तित छन्। अधिकारको लागि जेल गएकोमा उनी एकातिर गर्व महसुस गर्छन् भने श्रीमती र छोरा घरबारविहीन हुन लाग्दा छटपटीमा छन्।
लिलामको सूचना प्रकाशन भएपछि उनले थरुहट संयुक्त संघर्ष समितिका साथीहरुसँग फोन सम्पर्क गर्न प्रयास गरे, तर सम्पर्क गर्न सकेनन्। थरुहट संयुक्त संघर्ष समितिका प्रबक्ता माधव थारुलाई फोन गरेको तर नउठाएको उनले मसँग दुःखेसो पोखे। फोन किन उठेन थाहा भएन, तर माधव तपाईंको विषयमा धेरै चिन्तित छन्, बिहान धेरै साथीहरुसँग तपाईंको बारेमा कुरा गरेको देखें भनेपछि उनी राहत महसुस गरे।
उनको यो समस्या कहिले समाधान हुन्छ, थाहा छैन, किन कि राज्य, सरकार, थारुहरुलाई दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने गर्छ। थारु, मधेसी, जनजातिसँग गर्ने उसको ब्यवहार फरक छ। ऊ चाहन्छ कुनै माईका लालले निरङ्कुशताको विरुद्धमा लड्ने, आवाज उठाउने साहस नगरुन् र सत्ताको आयु लम्बिदै जाओस्। यही कपटी सोंच र षड्यन्त्रका कारण हक अधिकारका लागि आवाज उठाएबापत कांग्रेस र एमालेको तत्कालीन सरकारले थारुहरुलाई जेल कोच्यो र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सरकारले त्यसलाई निरन्तरता दिइरहेको छ। निरङ्कुश राज्यमा यस्तो हुन्छ। राणाकालमा पनि अधिकारको लागि आवाज उठाउनेको हविगत यही हुन्थ्यो।
निरङ्कुश शासकको त स्वाभाविक गुण यही हुन्छ। सकेसम्म उसले जनतालाई अधिकार दिन चाहँदैन। राजबन्दीहरुलाई छोडियो, मुद्दा फिर्ता लिइयो भने उनीहरु फेरि अधिकारको लागि आवाज उठाउँछन् र आफूले खाइपाई आएको बढी अधिकार संकटमा पर्छ भन्ने कुरा उनीहरुलाई थाहा छ। त्यसैले अधिकारको लागि उठिरहेको आवाजलाई दमन गर्नु, ऊ आफ्नो दायित्व सम्झन्छ। त्यही दायित्व उसले निर्वाह गरिरहेको छ र थारुहरुको आँखामा धुलो झोंकिरहेको छ। तर आन्दोलन हाँकिरहेका दलहरु पनि यतिबेला गम्भीर नदेखिएका कारण समस्या सतहमा आएको छ। समस्याले कैलालीलाई बढी पिरोलेको छ।
कैलालीलाई पिरोल्नुको मूलकारण घटना कैलालीमा घट्नुले हो। जहाँ घटना घट्दछ, बढी पीडित हुने त्यहींकै मान्छे हो। कैलालीमा घटना घटदा कैलालीकै मान्छे समातिए, कैलालीकै मान्छे निर्वासित भए। कैलालीकै अगुवा र जनता यसबाट बढी प्रभावित भए। जुन स्वाभाविक हो। तर लाहुरामको उद्धारका लागि, कैलाली मात्रै अगाडि सरेर सम्भव छैन, न्यायसंगत पनि हुँदैन, किन कि लाहुराम, कैलाली जिल्लाका थाकस सभापति हुन्। उनी थाकस केन्द्र र थरुहट संयुक्त संघर्ष समितिको आह्वानमा आन्दोलनमा होमिएका हुन्। आन्दोलनकै कारण उनको यो अवस्था आएको छ। मतिको नाममा रहेको १ कट्ठा जमिनले उनलाई सुकुम्बासीको दर्जामा जानबाट रोकिरहेको छ। त्यो घरजमिन नै लिलाम भयो भने उनी सुकुम्बासीमा रुपान्तरण हुन्छन्। आन्दोलनका अगुवाई गरिरहेका ब्यक्ति नै सुकुम्बासी बन्न पुग्छन् भने दुनियाले के भन्ला? यसबारे थाकस केन्द्र गम्भीर हुन आवश्यक छ। थारु सांसदहरु, पहिचान पक्षधर दलहरु यसबारे गम्भीर हुन जरुरी छ। यत्रो संख्यामा रहेका थारु सांसदहरु, २२ जिल्लामा रहेका थारु र थाकसले चाह्यो भने १२ लाख रुपिया ठूलो रकम होइन।
त्यसैले अन्तिममा के भनौं भने थारुहरु विगत एक दशकदेखि आन्तरिक औपनिवेशिक शासनविरुद्धमा लडिरहेका छन्। अधिकारको आन्दोलन अहिले पनि सकिएको छैन। अधिकारको लागि आवाज उठाउनु लाहुले गरेको अपराध हो। त्यही अपराधका कारण उनी जेल परेका हुन्। जेल परेकै कारण उनको घर जग्गा लिलाम हुन गइरहेको छ। थरुहट आन्दोलनका एक योद्धाको घर जग्गा लिलाम भयो भने थाकस, थारु अगुवाहरु, सांसदहरु समुदायमा जान सक्ने अबस्था रहने छैन। त्यसैले उनको उद्धार गर्नु सबैको कर्तब्य बन्नुपर्छ र घर जग्गा लिलाम हुनबाट रोकिनुपर्छ। उनको यो अवस्थाले तपाईं हामीलाई मात्रै प्रभावित पारेको छैन, न्यायप्रेमी धेरैलाई दुःखित तुल्याएको छ। सहयोगका लागि तपाईं हाम्रो हात अगाडि बढ्ने वित्तिकै धेरै सहयोगी हातहरु अगाडि बढ्नेछन्। त्यसैले ढिला नगरौं, उद्धारको लागि अगाडि बढौं। धन्यवाद!