मधेसी मोर्चा चुनावमा जान तयार

मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र मोर्चाबीच भएको वार्तामा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो। संविधान संशोधनको नयाँ प्रस्तावमा केही कुरामा परिमार्जन गर्ने र चुनाबमा सबैले भाग लिने विषयमा मोर्चासँग सहमतिमा आएको हो।

बैठकमा सहभागी कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले परिमार्जनसहित संविधान संशोधन गर्ने र मोर्चा चुनाबमा सहभागी हुने सहमति भएको जानकारी दिए। ‘संसदमा दर्ता भएको नयाँ संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने र सबै पक्ष निर्वाचनमा सहभागी हुने सहमति भएको छ’, पौडेलले मिडियाकर्मीसँग भने, ‘भाषा र सिमांकनका विषय थप गरेर संविधान पारित गर्ने सहमति बनेको हो।’

उनले दुई चरणमा चुनाब हुने संकेत गरे। ‘व्यवहारिकता मिलाउनुपर्छ। त्यसको लागि भोलि कुरा हुनेछ।’ संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मधेसी मोर्चा र संघीय गठबन्धन चुनाबमा सहभागी हुने जानकारी दिए। ‘परिमार्जनसहित संशोधन हुनुपर्‍यो। मोर्चा पनि चुनाबमा आउँछ, पार्टी पनि आउँछन्’, उनले भने।

निर्वाचन नै जनताको सर्वोच्चता जाँच गर्ने प्रक्रिया भएको भन्दै उनले संशोधनप्रस्ताव परिमार्जनसहित पारित भए चुनाबमा सहभागी हुने उल्लेख गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले आजै शुक्रबार बिहान मोर्चा नेतासँग छलफल गरेका थिए। सो बैठकमा मोर्चा नेताहरुले निर्वाचनका लागि संविधान संशोधनको सर्त राखेका थिए।

मोर्चा नेताहरुको नयाँ प्रस्तावका विषयमा प्रधानमन्त्री दाहालले अपरान्ह कांग्रेस एवं राप्रपा नेताहरुसँग छलफल गरेका थिए।
सत्ता साझेदार दलहरुको राय बुझेका प्रधानमन्त्रीले साँझ फेरि मोर्चा नेताहरुसँग बैठक डाकेका थिए।

Leave a Reply

Your email address will not be published.