थारु फिल्म ‘हटाइ कुहिरा’की हिरोइन दीपाश्री, भन्छिन्- ‘थरुनी पात्रको रुपमा खेल्न मजा आयो’

कृष्णराज सर्वहारी
सुन साइली गीत अहिले चर्चामा छ । र, चर्चामा छिन् छक्का पञ्जाकी निर्देशक अर्की साइली दीपाश्री निरौला । चार दिदी बहिनीमध्ये साइली उनी सानैदेखि नाच्ने शौखिन थिइन् । उनको नाच्ने शोखले परिवारले विराटनगरको बालमन्दिरको नृत्य कक्षामा भर्ना पनि गरिदिएको थियो ।

विराटनगर गहेली टोलकी दीपालाई अझै पनि सम्झना छ आमाको कुटाइ । भन्छिन्, ‘पढ्ने समयमा पनि तँलाई नाचेरै दिन बिताउनुपर्ने ? भनेर आमाले सुम्लो उठ्ने गरी कुट्थिन् तर मैले नाच्न छाडिन ।’ भाग्यमा पनि विश्वास गर्ने दीपालाई आफनो जन्मथाले विराटनगर बसेको भए चर्चा हुने थिएन भन्ने लाग्छ । भन्छिन्, ‘चर्चा कमाउन ठाउँ पनि चाहिने रहेछ । राजधानी काठमाडौंभन्दा उपयुक्त ठाउँ कुन पो होला र ?’

बैदेशिक रोजगारीमा जानेको पीडालाई सम्बोधन गरिएको भदौमा रिलिज भएको छक्का पञ्जाले नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइको रेकर्ड राख्यो । उत्साहित टीमले सिक्वेलको रुपमा छक्का पञ्जा–२ बनाउँदै छ । १ करोड लगानी गरेको छक्का पञ्जाले १६ करोड आम्दानी गरेको थियो । तर दीपालाई वितरण प्रणाली मन परेको छैन । शुरुको हप्ता हलवाला र निर्माताले फिप्टि फिप्टि पाउँछन्, दोस्रो हप्ताबाट ६०-४० तथा तेस्रो हप्ताबाट जम्मा ७०-३० प्रतिशत पाउँछन् । दीपा दिक्क मान्दै भन्छिन्, ‘चलचित्र जति धेरै दिन चल्यो, हलवालाको कमाइ ह्वात्तै बढ्ने तर निर्माताको आम्दानी खासै नहुने रहेछ ।’ उनका अनुसार १६ करोड आम्दानी भए पनि खर्च कटाइ निर्माण पक्षलाई साढे ४ करोड जति मात्रै हात परेको छ ।

छक्का पञ्जा–२ को स्क्रीप्टमा अहिले मारामार काम भइरहेको छ । स्क्रीप्टको छलफलबाट समय निकालेर अन्नपूर्ण टुडेसँग कुराकानी गर्न गर्दै दीपाले उत्साहपूर्ण खबर सुनाउन भ्याइन् कि शुटिङ शुरु नुहुँदै छक्का पञ्जाको सिक्वेल १ करोडमा वितरकले किनिसकेका छन् । त्यसैले अहिले निर्माण पक्षलाई पैसाको कुनै चिन्ता छैन ।

नेपाल चार वर्ष छत्तीस जातको फूलबारी, दीपालाई सबै भाषाभाषीप्रति उत्तिकै स्नेह छ । पहिले टेलिसिरियल अग्नीपथमा अभिनय गर्दा उनले मैथिली सिकिन् । कैलालीबाट निर्माण भएको हटाइ कुहिरा चलचित्रमा खेल्दा थारु भाषा सिकिन् । त्यसका निर्देशक रन्जित रानाले शुरुमा थारु चलचित्र खेल्न अफर गर्दा छक्कै परेकी थिइन् । कथा मन परेर खेलेको उनको भनाइ छ । हटाइ कुहिरा चलचित्रका थारु कलाकारहरुलाई अझै पनि सम्झिन्छिन् उनी । भन्छिन्, ‘साथीहरुले पछि क्यासेट पनि पठाइ दिएका थिए । थरुनी पात्रको रुपमा खेल्न मजा आयो ।’

उनले एक दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । तर दीपकराज गिरीको निर्देशनमा बनेको १२ वर्षको यात्रामा ६ सय भागको तीतो सत्यको उत्कर्ष अरु कसैले भेट्न सक्दैन जस्तो लाग्छ उनलाई । ती सबै अंकमा उनले सहायक निर्देशकको काम गरिन् । त्यही अनुभवले छक्का पञ्जा चलचित्र निर्देशन गर्न हौस्यायो । यसको सफलताले उनलाई अन्य चलचित्र निर्देशनको लागि पनि अफर आएको छ । भन्छिन्, ‘तर आफ्नै हाउसको छक्का पञ्जा–२ को व्यस्ताले अरु काम गर्न सक्ने समय छैन । पछि समय भए अरुका चलचित्र निर्देशन गर्ने आँट पलाएको छ ।’

दीपाको जन्म भदौ महिनामा भएकाले छक्का पञ्जा भदौमै रिलिज गरिएको थियो । छक्का पञ्जा–२ पनि भदौमै रिलिज गर्ने उनको योजना थियो तर ज्योतिषीले साइत जुराइदिएका छन् ११ असोज २०७४ मा ।

उनको बुझाइमा नेपाली दर्शक अहिले धेरै चलाख भइसकेका छन् । कपी पेस्ट चलचित्र दर्शकले तुरुन्तै ठमाउँछन् । त्यसैले, उनको सिफारिश अग्र्यानिक चलचित्रमा छ । २५ वर्ष कला क्षेत्रमा बिताएको उनको अनुभवको सार छ, ‘जुनसुकै क्षेत्रममा टीम वर्क जरुरी छ । आफूले जानेको क्षेत्रमा सामुहिकताको विकास गरेर गए अवश्य सफलता हात पर्छ ।’

पुराना दिन सम्झिदा मन अमिलो हुन्छ उनको । कुनैबेला टीका थाप्न बस भाडा नहुँदा घर जान नपाएको पीडा सुल झै बिझ्छ । उनले आइएसम्म सकाइन् । बीए पढ्दा पैसा पनि भएन रे । तर समयले कोल्टे फेरेको छ । उनी अब कार फेरी फेरी चढ्ने हैसियत राख्छिन् । बानेश्वरमा १ करोडको त घरै किनेकी छन् ।

आफ्नो टीमले नेपाली चलचित्रमा गीतको ट्रेन्डलाई चेन्ज गरेको उनको भनाइ छ । भन्छिन् ‘चलचित्रमा गीत नराख्ने ट्रेन्ड आउन थालेको थियो । तर सुर्केथैली खै, पूर्व पश्चिम रेल गीतले जादु गर्यो । युटुबमा करोड दर्शक कटाएर रेकर्ड कायम गर्यो ।’ लोकलयको गीत दर्शकको पहिलो रोजाइमा पर्ने गरेको उनको बुझाइ छ ।

कलाकारितामा मह जोडीलाई आदर्श जोडी ठान्ने उनी दीपकराज गिरी सँगको जोडी पनि भगवानले जुराइदिएको ठान्छिन् । पर्दाको जोडी त जुर्यो तर अर्को जीवन भरिको साथी खै त ? वास्तविक जोडी खै त ? भन्ने प्रश्नमा उनको लामो हाँसो छुट्छ । हाँसोमा ब्रेक लगाउँदै भन्छिन् ‘चालीस कटेसी रमाउँला भन्छन् । चालीस नि कटियो । खै यो साइँलीलाई साँइला कहिले पो जुर्ने हो ।’ यो केटीले धेरैभन्दा धेरै काम गरोस् भनेर पनि भगवानले जोडी नजुराइदिएका हुन् कि जस्तो लाग्छ उनलाई ।

महिलालाई अझै पनि पुरुषले हेर्ने घटिया दृष्टिकोण मन पर्दैन उनलाई । लोग्ने कामबाट जति राती आए पनि फरक नपर्ने तर महिला दिन डुव्नु हुन्न, को सिँग थिइस्, किन ढिला ? प्रश्नको बौछार किन बर्सिन्छ ? आफूलाई कामको पूजारी ठान्ने उनी सानैमा हिरोनी हुन्छुँ भन्थिन् रे सोचेको सपना पूरा हुँदा दंग छिन् ।

दीपा खाली समयमा ध्यान गर्न रुचाउँछिन्, सकारात्मक सोँच राख्छिन् । भन्छिन्, ‘वर्तमानमा राम्ररी बाँच्न मन छ । म भोलिको चिन्ता गर्दिन ।’
अन्नपूर्ण टुडेबाट

Leave a Reply

Your email address will not be published.