१२ वर्षीया रोदन चौधरीको ‘पहिल कदम’ विमोचन

अविनाश चौधरी।
बाह्र वर्षीया बालिका रोदनसिंह चौधरीद्वारा लिखित ‘पहिल कदम’ कविता सङ्ग्रहको यहाँ विमोचन गरिएको छ । वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले एक समारोहकाबीच उक्त कविता सङ्ग्रहको विमोचन गरे । कैलारी गाउँपालिका स्थित बसन्ताकी रोदन धनगढीमा बस्दै कक्षा पाँचदेखि कविता लेख्न सुरु गरेकी थिइन् ।

हाल कक्षा ६ को परीक्षा दिएर नतिजाको पर्खाईमा रहेकी उनले एक वर्षको मिहिनेतपछि कविता सङ्ग्रह निकाल्न सफल भएकी हुन । उनको पहिल कदमभित्र थारु र नेपाली दुवै भाषामा कविताहरु सङ्ग्रहित छन् ।

पढाईमा अब्बल रोदनको कविता लेखनमा पनि निकै रुची रहेको उनका बुवा चन्द्रसिंह चौधरीले बताए । गतविगतवर्षमा धनगढीमा भएको विभिन्न आन्दोलनलाई देखेर छोरी रोदनले आफ्ना मनमा उब्जेका भावनालाई कवितामार्फत व्यक्त गर्दै साहित्यमा कदम अगाडि बढाएको उनले उल्लेख गरे ।

‘यति सानो उमेरमा छोरीले कविता सृजना गर्ला भनेर हामीले सोचेका पनि थिएनौं’, चौधरीले भने–‘उसले चुपगुपमा कृतिकै लागि कविता तयार गरेको सुनाएपछि त्यसलाई प्रकाशन गरि दियौं ।’

कोमल बालापनभित्र गुनिलो प्रतिभा रहेकी रोदन गोदावरी नगरपालिकाको तेघरी स्थित सैनिक आवाशीय महाविद्यालयमा अध्ययनरत छिन् । उनी आफ्नो कक्षामा सधैं प्रथम स्थान ओगट्ने विद्यार्थी हुन । एउटा कृति प्रकाशित भएपछि छोरी रोदनले अर्को कृतिका लागि फेरी तयारी थालेको चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.