सुनसरीको ‘दुहबी र रामधुनी’ नगरमा थारु आकांक्षीहरु

१९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा सुनसरीका चार नगरपालिकाबाट उम्मेदवार बन्नका लागि दलभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत दलबाट मेयर र उपमेयरमा उम्मेदवार हुने आकांक्षीको सूची लामै भएपछि तीव्र प्रतिस्पर्धा सुरु भएको हो।

दुहबी नगरपालिका
दलबीचमै उम्मेदवार छान्न सकस परेका बेला दुहवी नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार हुन हाजी अब्दुल मियाँ, गुलाबी मियाँ, गौरीशंकर रौनियार र शंकर थापाले रुचि राखेका छन्। उपमेयरमा अहिलेसम्म कांग्रेसबाट कसैको चर्चा छैन। पार्टीले मेयरको उम्मेदवारका आधारमा तय गर्ने जनाएको छ।

दुहबीमा एमालेबाट विनय पोखरेल र रामबाबु निरौला मेयरमा आकांक्षी देखिएका छन्। एमालेबाटै खडगनारायण उरावको नाम राख्नुपर्ने भन्दै कार्यकर्ताबाट दबाब आएको छ। उपमेयरका लागि एमालेबाट मीना राई र चन्द्रकला चौधरीको चर्चा छ। दुहबीमा माओवादी केन्द्रबाट अर्थलाल चौधरीको मेयर र रेखा पाण्डेको उपमेयरमा सम्भावना बढी छ।

माओवादी केन्द्रबाटै मेयरमा जीवन थापाको पनि नाम स्थानीय स्तरबाट सिफारिस भएको जिल्ला समितिले जनाएको छ।
यसैगरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरका लागि प्रदीप चौधरी, कुमार थापा, टेकचन्द्र विश्वास र वेद गच्छदारमध्येबाट उम्मेदवार बन्ने चर्चा छ। फोरम लोकतान्त्रिकका तर्फबाट दुहबीमा उपमेयरमा अहिलेसम्म कसैले रुचि नदेखाएकाले पार्टीको निर्णय नै अन्तिम हुने जिल्ला अध्यक्ष प्रदीप चौधरीले बताए। राप्रपाबाट मेयरमा रामबहादुर राउत र उपमेयरमा सुमित्रा विश्वासको पक्कापक्कीजस्तै छ।

रामधुनी भासी नगरपालिका
रामधुनी भासीमा कांग्रेसबाट ६ नम्बरका सभापति उपेन्द्र कटवाल र सुदीप अधिकारीको बढी चर्चा छ। मेयरकै लागि पृतनारायण चौधरी र जयप्रकाश चौधरीले पनि आकांक्षा राखेका छन्। यीमध्ये कटवालको सम्भावना बलियो छ। उपमेयरमा विजय कटवाल र सियावती चौधरीले रुचि राखेका छन्।

रामधुनीमा मेयरका लागि एमालेबाट जिल्ला सचिव नन्दकुमार बस्नेतसँगै श्यामनारायण राजधामी, शंकर चौधरी र रुद्र बस्नेतले रुचि राखेका छन्। जिल्ला सचिव भएकाले नन्दकुमारको बढी सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ। उपमेयरमा एमालेबाट राधा कटवाल र दुर्गा नेपालको चर्चा छ।

माओवादी केन्द्रबाट मेयरमा चन्द्रकुमार चौधरीको सम्भावना बढी छ। मेयरकै लागि दिनेश चौधरी र बलराम आचार्यले पनि रुचि राखेका छन्। उपमेयरमा भगवती चौधरीको पक्कापक्कीजस्तै छ।

रामधुनीमा राप्रपाबाट मेयरका लागि दीपनारायण चौधरी र उपमेयरमा मीना कार्कीको पक्काजत्तिकै छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरमा केसीलाल चौधरी र मनोज चौधरीले रुचि राखेका छन्। उपमेयरमा अहिलेसम्म विष्णु चौधरीले आकांक्षा राखेकी छन्। सुनसरीमा संघीय समाजवादी फोरम नेपालसँगै अन्य केही मधेसी दलका नेताकार्यकर्ता पार्टी केन्द्रको निर्णय पर्खेर बसेकाले गर्दा आकांक्षी खुलिसकेका छैनन्।

Leave a Reply

Your email address will not be published.