कृष्णराज सर्वहारी।
थारू भाषा नेपालको चौथो ठूलो भाषा हो। गएको वैशाख ३ र ४ मा दाङको घोराहीमा थारू साहित्यिक मेलाको पहिलो भाग सम्पन्न भएको थियो। यसपाली मेलाको दोश्रो भाग कैलालीको पटेला (धनगढीबाट ५ किमी पूर्व) मा आगामी चैत १९ र २० गते हुँदैछ। यसबारे थारूवान डटकममा सामचार आएपछि थरुहट तराई पार्टी नेपालका केन्द्रिय अध्यक्ष भानुराम थारूको फेसबुकमा प्रतिक्रिया आयो– आफ्नो पुस्तक (ऐना कथा संग्रह) मा थारू चेलीको गर्नुसम्म बेइज्जत गर्ने रामलाल जोशीलाई थारू साहित्यकारहरुले आफ्नो कार्यक्रमको प्रमुख वक्ता बनाएको देख्दा हाम्रा साहित्यकाहरु पनि दासत्व मानसिकताबाट पार पाएका छैनन् भन्ने बुझिन्छ।
लगत्तै सोम डेमनडौराले प्रत्युत्तरमा लेखे– शिक्षा शत्रुबाट पनि लिन सक्नु पर्छ भन्छन्। हामीले प्रश्न गर्नका लागि पनि मञ्चमा उभ्याउन जारुरी छ। सधैँ नकारात्मक विचारधाराले पनि हुँदो रहेछ। सोमले इंगित गरेझैँ हामी साहित्य मार्फतु समाज जोड्न चाहन्छौँ। २०७२ भदौ ७ र ८ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनको क्रममा सुरक्षाकर्मी मारिएपछि, थारूका घर छानी छानी जलाइएपछि त्यस क्षेत्रको सद्भाव अझै पनि संग्लिएको छैन। त्यसै पृष्ठभूमिमा कथा लेखिसकेका रामलाल जोशी थारू साहित्यको मेलाको प्रमुख आकर्षण हुनेछन् भन्ने उद्धेश्यले नै उनलाई मञ्चमा उभ्याउन लगिएको हो। हामीले अरु समुदायलाई छि छि र दुर दुर गरेर आफ्नो पहिचान जोगाउन सक्तैनौँ। टीकापुर घटनाका कारण जसरी थारूहरु बदनाम भइरहेका छन्, त्यसलाई चिर्न पनि यस किसिमको साहित्यिक माहोल सोही जिल्लामा हुनु प्रासंगिक छ। तर यस मिलनविन्दुलाई नेताहरुले शुरुमै नकारात्मक टिप्पणी गर्न थालेको देख्दा कार्यक्रम संयोजन गरिरहेको थारू लेखक संघको अध्यक्षको नाताले उदेक लागेको छ ।
गएको वर्ष थारू साहित्यिक मेलामा थारू कविता, आख्यानदेखि दाङ र कैलालीको थारू साहित्यको अवस्थाबारे पनि कार्यपत्र प्रस्तुत गरिएको थियो। त्यस्तै लावा डग्गर थारू साहित्यिक पत्रिकाको यात्रा र जंग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान, थारू भाषामा मानकताको प्रश्न गरी ६ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए। यसपाली हामीले कार्यपत्र प्रस्तुतिको फर्मेट हटाएर अन्तरसंवाद कार्यक्रमलाई जोड दिएका छौँ । बोझिलो कार्यपत्रभन्दा अन्तरसंवाद कार्यक्रमले सहभागीलाई बढी जाँगरिलो बनाउने छ भन्ने हाम्रो ठहर छ।
१० वर्षे जनयुद्धमा सबैभन्दा बढी थारू समुदायका व्यक्ति मारिए। तर युद्ध साहित्यले थारू साहित्यमा प्रवेश पाएकै छैन भन्दा हुन्छ। समयको वेगलाई पक्रिन नसक्ने हो भने त्यो साहित्य मक्किन्छ, कोरा कल्पनामा बग्छ। त्यसैले किन जन्मिएन त युद्ध साहित्य थारू भाषामा? यसबारे जनयुद्धमा होमिएका नेताहरुलाई नै अन्तरसंवादमा उभ्याउँदैछौँ।
थारू भाषामा अहिले दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक पत्रिका प्रकाशन भइरहेको छ। यिनको निरन्तरता र लेखनमा मानकताको सवालमा जति बहस हुनुपर्ने हो, जुन हुन सकेको छैन। नेपाली भाषाको मानकताको सवालमा नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश नै बदल्नुपर्ने गम्भीर अवस्था आइपरेको छ। लेखनमा भर्खर पाइला चालेको थारू भाषामा मानकताको प्रश्न पनि सान्दर्भिक छ। थारूमा लेखन अभ्यास थोरै भएकाले मानकताको प्रश्न नेपालीझै त्यति बल्भि्कएला भन्ने लाग्दैन। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले डंगौरा थारू भाषाको मानकताको प्रश्नबारे २०७३ साउमा घोराहीमा गोष्ठी गराइसकेको छ। सोही गोष्ठीमा सहजकर्ता रहेका भाषाविद पदम राइ थारू भाषाको मानकताबारे गोष्ठी प्रस्तुतीको सार राख्दैछन् साहित्यिक मेलामा। उनले दिएमा सुझाव मान्नै पर्छ भन्ने छैन, तर लेखनमा यसले एक प्रकारको तरंग पैदा जरुर गर्नेछ।
गएको वर्षको साहित्यिक मेलामा करीब एक दर्जनले एक वर्षभित्र पुस्तक निकाल्ने वाचा गरेका थिए। ती पुस्तकको संयुक्त विमोचन यसपालीको प्रमुख आकर्षंणको अर्को केन्द्र विन्दु हो। साहित्यिक मेलामा कविता वाचन र वाचित कविता उपर समिक्षाले पनि विशेष स्थान पाउँदैछ। गजल लेखनमा बाढी आएको छ, थारू साहित्यमा। दशक अघि गजल संग्रह प्रकाशन गरेका रामलाल जोशीले दशकपछि कसरी आख्यानमा पाइला टेकेर मदन पुरस्कारको यात्रा तय गरे? यी कुरा उनको मुखबाट सुन्न पनि गजलमा मात्रै सीमित थारू साहित्यकारहरु जरुर व्यग्र प्रतिक्षामा छन् भन्ने मलाई लाग्छ।
सोम डेमनडौरा भाइले नै थारू साहित्यिक मेलामा गएर के फाइदा हुन्छ भन्ने प्रश्न फेसबुकमा छाडेका छन्। यसमा करीब २ दर्जनको प्रतिक्रिया छ। धेरैको उत्साह जगाउने प्रतिक्रिया छ। मित्र शत्रुघन चौधरीले फाइदा हुने १० बुँदा औंल्याएका छन्। जसमा थारू भाषा साहित्यक विकासमे टेवा, थारू भाषा साहित्यकेा विविध आयाममा बौद्धिक बहसमा योगदान, साहित्यकार बीच नेटवर्कके विकास, थारू भाषामा लेखन हौसला, थारू भाषामा लेखिएका पुस्तकवारे जानकारी, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा थारू भाषा साहित्य प्रचार प्रसार, राज्यलाई मातृभाषा विकासको लागि दवाव दिने तथा थारूहरुको छुट्टै पहिचान स्थापित गर्ने काममा योगदान दिने रहेका छन्। तर केही प्रतिक्रिया उदेक लाग्दा छन्। सामाजिक संजालमा यति सस्तो प्रतिक्रिया दिदा सोच्नुपर्छ कि? जस्तो एकजनाले साहित्यिक मेलामा गएर मासु, भात र रक्सी पिउन पाइन्छ भन्ने लेखेका छन्। यस्तो रमझम मात्र गर्ने मनसुवा अरु कोहीले पनि बनाएका छन् भने कार्यक्रममा नआएकै वेश। स्थानीय आयोजकले कार्यक्रममा मदिरा प्रतिवन्धको खबर पनि पठाएको छ। संजय थारूले पूर्वदेखि पश्चिम सबै थारू भाषाको साहित्यकार नसमेटिएसम्म के को आधारमा राष्ट्रिय मेला भन्ने? प्रश्न गरेका छन्। हामी पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका सबै साहित्यकारहरुलाई सहभागिताको आमन्त्रण गर्छौ। पूर्वमा थारू भाषा साहित्यको लेखन ओझेलमा पर्दै गएको तीतो यथार्थ हो। त्यसैले आफ्नो क्षेत्रमा यस्तो कार्यक्रम गर्न, उत्साहित हुन पनि ती क्षेत्रका साहित्यकार आउनु जरुरी छ।
अन्तमा, थारू पुस्तक, पत्रिका प्रवर्द्धनको पाटो यो मेलाको सबैभन्दा ठूलो इभेन्ट हो। हालसम्म प्रकाशित थारू प्रकाशनको वृहत स्टल लगाइँदैछ। स्टेशनरी पसलमा कहिल्यै नझुन्डिने थारू पुस्तक पत्रिका कैलालीको पटेलाको स्टलमा झुन्डिँदैछ। थारू साहित्यको कुम्भ मेलामा गैरथारू साहित्यकारहरुलाई पनि चुले निम्तो छ।