थरुहट जिल्लामा बाबुरामले भने- ‘भृकुटी, सीता र जनकलाई विभुति भन्ने अनि थारुलाई विदेशी ?’

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले केही व्यक्तिहरुले देशका विभिन्न समुदायहरुकाबीच फाटो ल्याएर विखण्डनको बिउँ रोप्ने कोशिस भइरहेको बताएका छन् । उनले भने, ‘जातीय विभेद, विद्वेष, घृणा र विखण्डनको बिउँ रोप्नेहरुका विरुद्ध प्रतिक्रिया स्वरुप एउटा पंक्ति मधेशलाई खुलेआम टुक्र्याएर छुट्टै देश बनाउनुुपर्छ भन्दै मधेशमा विखण्डनको विउ रोपिरहेएको छ ।’

देशलाई भावनात्मक एकताको कसीमा बाँध्नको लागि हिमाल-पहाड-तराई-मधेश अभियानमा जुटेको उनले स्पष्ट पारे । उनले एउटा समुदायलाई खुसी पारी उनीहरुलाई भोट बैंक बनाएर चुनाव जित्ने, सत्तामा जाने र भ्रष्टाचार गर्ने प्रथाको अन्त्य हुनुपर्ने बताए ।

संयोजक डा. भट्टराईले नेपाललाई समृद्ध बनाउने लक्ष्य नयाँ शक्तिको भएको बताए । आइतबार नयाँ शक्तिद्धारा धनगढीमा आयोजित आमसभामा संयोजक डा. भट्टराईले संविधान बनेपछि मुलुकमा शान्ति छाउने र देश समृद्धिको यात्रामा अघि बढ्ने भन्ने नेपालीको सपना अझै साकार हुन नसकेको बताए ।

संयोजक भट्टराईले जनतालाई सत्य इतिहासको जानकारी दिएर भावनात्मक एकतामा जोड दिनुपर्ने पनि बताए । ‘भृकुटी, सीता र जनकलाई विभुति भन्ने तर, त्यही भूमिमा बस्ने मधेशी थारुहरुलाई विदेशी भन्न मिल्छ ?’ उनले प्रश्न गर्दै भने, ‘हामी चाँहे खस—आर्य, आदिवासी—जनजाति, मधेशी—थारु जे भएपनि सबै नेपाली हौं । जो बढी घुमन्ते हुन्छ, ऊ टाठोबाठो हुन्छ । भावनामा बग्न हुँदैन । विज्ञान र तथ्यमा आधारित भएर निष्कर्ष निकाल्नुपर्छ । यसर्थ, हामी सबै बराबरी हौं । ’

संयोजक डा. भट्टराईले भने, ‘केही भुईफुट्टा मानिसलाई जसले महाकाली जस्तो राष्ट्रघाटी सन्धि गरे तिनलाई प्रश्न गर्न चाहन्छु, देशलाई एकतावद्ध गर्नेहरुको विरुद्ध बिष बमन गरेर युवाहरुमा भ्रम छरेर अराजकता सिर्जना किन गर्नु ?’

उनले संघीयता भनेको अलग घर बनाउने नभई एउटै घरमा अलग कोठा बनाउने मात्रै भएको जिकिर गरे । अखण्ड र सार्वभौम नेपालभित्र ऐतिहासिक थातथलोलाई सीमांकन गरी बनाइने संरचना नै संघीयता भएको बताए । उनले प्रश्न गर्दै भने,‘जातीय क्लास्टर अनुसार ऐतिहासिक थातथलो नबिग्रने गरी संघीयता बनाउँदा के बिग्रिन्छ ? संघीय राज्य बनेपछि एउटै जाति बसोबास गर्ने भन्ने होइन, किन आतंक मच्चाइन्छ ?’

Leave a Reply

Your email address will not be published.