मुना चौधरी।
संसारमा जन्मिनु दु:ख हो । यो संसार नै एउटा दु:खको सागर हो । संसारमा भएका दु:खहरू तिमीलाई कम लाग्यो र! तिमीले अर्को दु:ख प्रेममा डुबुल्कि मार्न खोज्यौ ? प्रेम शरीरबाट होस् कि आत्माबाट प्रेम जहाँ जुन रूपले भए पनि आत्मा दुख्नुका साथै हाम्रा इन्द्रीयहरूले दु:ख पाउँछन् ।
सबैलाई सितलता दिने चन्द्रमालाई पनि सबैले आरोप लगााएर छोडे । चन्द्रमामा दाग छ भने । तिमी पनि किन चन्द्रमा बन्न खोजेकी छ्यौ ? तिमी निश्चल र सुरम्य ताल हौ, जसको सुन्दरतामा व्यक्ति मुग्ध हुन्छ । मुग्ध भएर तिमीलाई पनि लान्छना लगाउन पछि नपर्ला । यस्तो लान्छनाबाट बच । म तिमीलाई पूजा गर्न सक्छु तर प्रेम गर्न सक्दिनँ । तिमी राजकुमारी हौ तिम्रो जात उच्च छ । म निम्न वर्गमा पर्छु । तिम्रो र मेरो प्रेम कहिल्यै सम्भव छैन ।
चन्द्रा, तिमी त धरतीबिच उदाउने चन्द्रमा हौ । म धरती हुँ । धरती र चन्द्रमाको मिलन कहिले भएको देखेकी छ्यौ तिमीले ? हामी मानवको केही भर हुँदैन । हामी एक दिन खरानी भएर उही शून्य आकाशमा विलिन हुन्छौँ तर अजम्वरी प्रेम रहिरहन्छ ।
अनन्त: सागर अटुट अविरल बहन्छ । यो भौगोलिक धरातल उड्न सके उडोस् तर तिमी कहिल्यै नउड्नू । प्रेममा भ्रम र शंका हुन्छ । प्रेमले मानवलाई भावुक बनाउँछ । भावुकतामा डुबेर गरेको प्रेमले सधैँ दु:खलाई निम्त्याउँछ । आँसु झार्न बाध्य बनाउँछ । जीवन र प्रेम बुझ्नै नसकिने अनौठो जंघार रहेछ । प्रेममा पर्दा तड्पिनु शिवाय अरु कुनै उपाय नै बाँकी रहँदैन । तिम्रो प्रेममा तड्पिनको लागि मसँग प्रशस्त समय छैन, राजकुमारी ।
प्रेममा शोक उत्पन्न हुन्छ । केही बिर्सिए जस्तो केही हराए जस्तो, कता-कता, के-के नपुगे जस्तो जीवन बाँच्नु पर्छ प्रेममा । जन्म लिएपछि मर्नै पर्छ तर त्यस्तो दु:खको जिम्मा लगाउने साधनबाट सधैँ नजिकिएर अात्माले सन्तुष्टि पाए पनि शरीरले दु:खको अनुभव गर्छ । प्रेममा सम्झनाको डोब लिएर बाँच्नु पर्छ । अनि शोकाकूल भावनालाई समयको मोडाइसँग तिनलाई मन मन्दिरमा स्थापित गर्न मन लाग्छ ।
यसप्रकार भावना लहरी बग्दै सहज परिस्थितिलाई निमोठ्न मनले जस्तोसुकै प्रयत्न गर्दा सकिँदैन अनि शोक प्रलापहरु प्रकट गर्न बाध्य बन्नु पर्छ । ती बाध्यताहरूको पछि किन लाग्न खोज्छ्यौ तिमी ? तिमी संसारलाई राम्ररी चिन । संसारमा दु:ख बाहेक केही छैन । प्रेम त झन दु:खको सागर हो, चन्द्रा ।
चौधरीको विमोचन हुन लागेको पुस्तक ‘सलहेश’बाट साभार