कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको खतिवडाले बताए । आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।

आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमूलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

अनलाइन फारम भर्न https://eoers.epsnepal.gov.np/ मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

Leave a Reply

Your email address will not be published.