पत्रकार महासंघ बारा शाखामा ‘काठ’ राजनीति, अध्यक्षले भने, ‘श्रमजीवी पत्रकारको मर्यादामाथि कुठाराघात’

नागेन्द्र चौधरी/बारा।

नेपाल पत्रकार महासंघ बारा शाखाले आफूहरुविरुद्ध भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ। शाखाका अध्यक्ष कमलकुमार उपाध्यायद्वारा मंगलबार जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउनेगरी संस्थाकै सदस्यहरुबाट समाचार लेख्ने र प्रकाशित गर्ने कार्यले पत्रकारहरुको व्यवसायिक मर्यादामाथि ठूलो धावा बोल्ने कार्य भएको महासंघ बारा शाखाको ठहर छ।’

महासंघलाई जबरजस्ती काठ तस्करीको बिल्ला भिराएर कस्तो समाजको कल्पना गर्दैछौं भन्दै शाखाले चिन्ता ब्यक्त गरेको छ। ‘निर्वाचनमा पराजय हुने कुन्ठाका आधारमा निर्माणधीन भवनको आवश्यक फर्निचरका लागि ल्याउँदै गरिएको काठलाई अनावश्यक कारण देखाई महासंघको नाम जोडेर काठको तस्करी गर्न खोजियो भनिनु बराका सबै व्यवसायिक र श्रमजीवी पत्रकारहरुको मर्यादामाथि कुठाराघात गर्न खोजिएको छ,’ विज्ञप्तीमा भनिएको छ।

शाखाले २०७२ कात्तिक १६ गते बसेको कार्यसमिति बैठकले फर्निचरका लागि जिल्ला आपूर्ति समितिसँग काठ माग गर्ने निर्णय पुस्तिका सुरक्षित रहेको जनाएको छ। सो बैठकमा उपाध्यक्ष राकेश पाण्डेय र सचिव जयनारायण यादव पनि उपस्थित भएको विज्ञप्तीमा भनिएको छ। तर उनीहरुले नै महासंघको निर्णयविपरीत गएर आफैंलाई ठूलो अध्याय गरेको विज्ञप्तीमा उल्लेख छ।

जिल्ला वन कार्यालयले साता दिनभित्र काठ नउठाए जफत हुने भनेपछि काठ उठाउन बाध्य भएको विज्ञप्तीमा उल्लेख छ। जुन काठ अहिले पत्रकार महासंघको कलैयास्थित भवनमा सुरक्षित रहेको विज्ञप्तीमा भनिएको छ।

पत्रकारिताको नाममा आफ्नो खट्टामा आफैं बन्चरो नहान्न आग्रह गर्दै अध्यक्ष उपाध्यायले भनेका छन्, ‘जिल्लाका सबै पत्रकारहरुलाई संयमित भइ मूल्यनिष्ठ पत्रकारितामा जोड दिन आग्रह गर्दछु।’

यता बाराका पत्रकारहरुले चैत १९ गते हुन गइरहेको छैठौं अधिवेशनको मिति तय भएपछि युनियनले तालाबन्दीलगायतका हर्कत गर्न थालेको आरोप लगाएका छन्। महासंघलाई बदनाम गराउन उनीहरुलै नै भ्रामक समाचार प्रकाशित गराइरहेको उनीहरुको दाबी छ।

प्रेस युनियनले महासंघमा तालाबन्दी गर्नुको मुख्य उद्देश्य सदस्यता बाँडफाँड रहेका पत्रकारहरुको भनाई छ। जबकि युनियनको भागमा महासंघसँग सहमति भए १४ वटा सदस्यता थपिएका छन्। अध्यक्ष कमल कुमार उपाध्यायले १४ जनाको सिफारिस पत्र तथा नियुक्ति पत्र मागेपछि शाखामा विरोध चर्किएको बताइएको छ।

उनीहरुले जिल्ला वन पैदावार आपुर्ति समितिले महासंघको नाममा छुट पुर्जी दिएको काठ कलैया लैजाँदै गरेको अवस्थामा प्रेस युनियनका केही पत्रकारले थाहा पाएपछि प्रहरीलाई अवैध काठ भनी गलत सूचना दिएको दाबीसमेत गरेको छ।

जिल्ला वन कार्यालय बाराका वन अधिकृत भैरव प्रसाद घिमिरेले महासंघलाई दिएको काठ अवैध नरहेका प्रष्ट पारे। कसैले सूचना दिएकै अधारमा प्रहरीले उक्त काठ नियन्त्रणमा नलिनुपर्ने अधिकृत अर्यालले जानकारी दिए। प्रहरीले नियन्त्रणमा लिनु अगाडि काठका सम्पूर्ण कागजातहरू सही नभएको अाधारमा मात्र पक्राउ गर्नुपर्ने उनले थारुवानलाई बताए।

Leave a Reply

Your email address will not be published.