फागुन २३ ले दिएको नभुलिने चोट

कारी महतो/चितवन।
फागुन २३ गतेको दिन कसैले भुल्न नहुने र मैले भुल्न नसकेको दिन हो। साँच्चै यो कस्तो दिन होला? मैले किन भुल्न नसकेको हो? तपाईँहरुलाई खुल्दुली लाग्न सक्छ। यो खुल्दुली मेटाउनको लागि यहाँ केही लेख्न खोज्दैछु। 

थारुहरुले २०६५ सालमा पहिचानका लागि आन्दोलन गर्दा कमल चौधरी र विपिन खड्का, दाङका प्रकाश चौधरी र रामप्रसाद चौधरी गरी ४ जनाले शहादत्त प्राप्त गरे। त्यो दिन फागुन २३ गतेकै दिन थियो, जुन दिन चितवनमा कमल चौधरी र विपिन खड्का शहिद भए। थारुहरुलाई मधेसीमा सूचिकृत गरिएको विरोधमा सुरु गरिएको आन्दोलन जातीय पहिचानको आन्दोलन थियो। मधेसीहरुको समग्र मधेस एक प्रदेशको नाराको आधारमा तत्कालीन सरकारले थारुलगायत तराईका ९२ जातजातिलाई मधेसीको सूचिमा सूचिकृत गरेको थियो। त्यसको विरोध स्वरुप तराईका विभिन्न जिल्लामा आन्दोलन सुरु गरिएको थियो। अन्य जिल्लामा आन्दोलन सुरु भएको दुई दिनपछि चितवनका थारु विद्यार्थीहरुले स्वतः स्फूर्तरुपमा सडकमा निस्केर विरोधका कार्यक्रमलाई अगाडि बढाए। विद्यार्थीहरुको विरोध कार्यक्रमलाई समर्थन गर्दै चितवनका थारु समुदायले साथ दिएका थिए। आन्दोलन चर्किदै जाने क्रममा चितवनको सौराहा चोकलाई केन्द्र बनाएर आन्दोलनकारीले अनिश्चितकालीन सडक जाम गरेका थिए। सडक खुलाउने क्रममा फागुन २३ गते राति प्रहरीको गोली लागेर घाइते भएका कमल चौधरी र विपिन खड्काको असामयिक निधन भयो। त्यस समयमा म स्वयं थारु विद्यार्थी समाज चितवनको जिल्ला अध्यक्ष थिएँ। त्यसैले फागुन २३ गते मैले भुल्न नसकिने दिन रहन गयो।

आठ वर्षपछि २०७३ सालको त्यही दिन अर्थात् फागुन २३ गतेकै दिन सप्तरीमा मधेसीहरुले एमालेको मेची-महाकाली अभियानलाई अवरोध गर्ने क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको ज्यान गयो। थारु र मधेसी समुदाय नेपालको एउटै धरातलमा बसोबास गर्ने समुदाय हो। ती दुवै समुदायमाथि एकै दिन ज्यादती हुनु कस्तो संयोग हो। अर्को संयोग के हो भने २०६५ सालमा थारु मारिदा पनि प्रचण्ड नै प्रधानमन्त्री थिए भने आठ वर्षपछिको फागुन २३ गते मधेसी मारिदा पनि प्रचण्ड नै प्रधानमन्त्री छन्। यो कस्तो संयोग हो?

एमालेको शान्तिपूर्ण मेची-महाकाली अभियानलाई अवरोध पुग्नेगरी मधेसी मोर्चाको आन्दोलन जायज हो या नाजायज भन्ने कुरामा यहाँ बहस गर्न खोजिएको होइन। यहाँ यतिमात्र स्मरण गराउन खोजिएको हो कि २०६५ फागुन २३ गतेका दिन शहादत्त प्राप्त गरेका थरुहट शहिदलाई थारु विद्यार्थी समाज, थारु कल्याणकारिणी सभा (थाकस), थरुहट थारुवान संयुक्त संघर्ष समितिलगायत थारु नेताहरुले थरुहट आन्दोलनका शहिदलाई किन बिर्सेका हुन्। सम्झाउनु पर्ने हो र ? २०६५ सालको २३ गतेकै दिन प्रहरीको गोली लागेर अपाङ्ग भएका घाइते सन्जित चौधरी अहिले पनि खुट्टा चलाउन नसकेको अवस्था छ। घाइते भएको आठ वर्ष बितिसक्दा घाइते सन्जित चौधरी कसरी बाँचेको छ? गरिब सन्जितको परिवार कसरी पालिएको छ? कसले हेरिदिने? अनि उनीजस्ता जिउँदा शहिदको आँशु कसले पुछिदिने?

थारु विद्यार्थी सभाले २०७३ फागुन २३ गतेको सप्तरी घटनालाई सम्झेर काठमाडौंमा विरोध प्रदर्शन गरेको सुनियो। सामाजिक सञ्जालमा फोटो पनि देखियो। थारु विद्यार्थी समाज, थाकस, संघर्ष समितिले त्यति पनि गर्न सकेन। २०६५ फागुन २३ गतेको भुल्न नसकेको दिन अरु कसैले सम्झिन्छ कि सम्झिदैन? हेर्न, सुन्न र पढ्न चाहेको थिएँ। तर त्यो दिनको घटना कसैले पनि सम्झेको पाइएन। ठीक छ शहिद भएको दिन नसम्झे नसम्झिनु तर कष्टकर र दुखपूर्ण जीवन बाँचिरेहेका घाइते सन्जितलाई सहयोग गर्ने काममा सबैले सम्झौं। सबै मिली सहयोगको हात बढाऔं। सन्जितको जिउँदो आत्मा रोइरहेको छ, सबै मिली आँशु पुछिदिएर उनको मुहारमा मुस्कान ल्याउने कोशिस त गरौं।

Leave a Reply

Your email address will not be published.