थरुहट तराई पार्टीका दुई केन्द्रीय सदस्य पनि नयाँ शक्तिमा

थरुहट तराई पार्टी नेपालका थप दुई केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेका छन्। कैलालीका सुरज कठरिया र सन्तोष कठरियाले संयुक्तरुपमा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीलाई राजीनामा पत्र बुझाएका छन्। उनीहरुले थारुवानसँग कुरा गर्दै आफूहरुले राजीनामा बुझाएको स्वीकारेका छन्।

उनीहरुले आफूहरु कठरिया समाजबाट थरुहट तराई पार्टी प्रवेश गरेको र आफ्नो मुद्दा स्थापित गर्न नयाँ शक्ति विकल्प देखेको भन्दै राजीनामा दिएको बताए। ‘हामी दुवैले राजीनामा पत्र बुझाएका हौं,’ सन्तोष कठरियाले थारुवानसँग भने, ‘राजीनामा बुझाएसँगै हामी नयाँ शक्तिमा आबद्ध भएका छौं।’

तर थरुहट तराई पार्टी नेपालले यसबारे आफूहरुलाई केही खबर नभएको बताएको छ। पार्टीका अध्यक्ष भानुराम थारुले उनीहरुको राजीनामा पत्र आफूहरुकहाँ आइनसकेको जानकारी दिए। ‘त्यसबारे केही जानकारी आएको छैन। न उनीहरुको राजीनामा पत्र हामीले प्राप्त गरेका छौं,’ अध्यक्ष थारुले भने।

थरुहटका केन्द्रीय उपाध्यक्ष नन्दकुमार चौधरी, महासचिव शम्भु चौधरी, उपत्यका अध्यक्ष रामस्वागत चौधरीलाई भने यसअघि नै पार्टीले कारबाही गरेर निकालिसकेको सचिव मीनराज चौधरीले जानकारी दिए।

थरुहट तराई पार्टी फुटाएर थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिक गठन गरेकी सांसद गंगा चौधरीले गत सोमबार नयाँ शक्तिसँग पार्टी एकीकरण गरेकी थिइन्। सोही दिन उपाध्यक्ष र महासचिव पनि नयाँ शक्ति प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published.