सरकारले बलपूर्वक लाठी र बन्दुक चलाएर चुनाव गरे अवस्था जटिल हुन्छ : ठाकुर

मधेसी मोर्चाका नेता महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि चुनाव नहुने दाबी गरेका छन् । उनले आफू चुनाव विरोधी नभएको स्पष्ट पनि पारे । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले कांग्रेस-माओवादी गठबन्धन सरकारले संशोधन प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे । उनले संशोधन प्रस्ताव पारित नगरी चुनाव गराउन खोजे त्यो दिवा सपनामात्र हुने धारणा समेत राखे ।

उनले भने, ‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित भए पनि नभएपनि चुनावमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो ।’

साक्षात्कारमा ठाकुरले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुलेजस्तै आफूहरु पनि सँगै लड्दै आएको उल्लेख गर्दै भने, ‘हामी चुनावको विरोधी होइनौं, तर समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास दिँदैन, त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ ।’

तमलोपाका अध्यक्ष समेत रहेका नेता ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै भने, ‘यदि यो सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ ।’

उनले भने, ‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्नुपर्छ, संवैधानिक समस्याको समाधान पनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या पनि राजनीतिक हो, त्यसैले यसको समाधान राजनैतिक रुपमै हुनुपर्छ ।’

हालै सरकारले सिके राउतलाई गरेको गिरफ्तारीको बारेमा तपाईको भनाई के छ भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने, ‘गिरफ्तारी र हत्या गरेर समस्या समाधान हुँदैन ।’

Leave a Reply

Your email address will not be published.