अविनाश चौधरी/कैलाली।
गतवर्ष भारतले लगाएको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षको पर्यटन व्यवसाय यसवर्ष सिजनमा पनि खासै चल्न सकेको छैन । विश्वकै सबैभन्दा ठूलो बाह्रासिङ्गाको झुन्ड रहेको कञ्चनपुर स्थित शुक्लफाँटामा सिजनको बेला पनि पर्यटक आगमन निकै कम रहेको छ ।
सुदूरपश्चिमको प्रमुख सहर धनगढी र महेन्द्रनगरबाट नजिक रहेको यो आरक्षमा स्वदेशी अवलोकनकर्ताको समेत उल्लेख्य उपस्थिति हुन सकेको छैन । नेपालमा विनाशकारी भूकम्प गएको डेढ वर्षपछि मुलुकको विभिन्न क्षेत्रमा पुनः उल्लेख्य रुपमा पर्यटक बढे पनि भूकम्पले प्रभावित नभएको सुदूरपश्चिम सुनसान छ ।
गतवर्ष भारतीय पक्षको नाकाबन्दीका कारण थला परेको पर्यटन व्यवसाय यसवर्ष पनि सन्तोषजनक हुन नसकेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । काठमाण्डौंबाट प्याकेजमा पर्यटक नआउनु तथा वनबासा पुलमा सीमित अवधिमात्रै आवत जावत हुनुले पर्यटन फष्टाउन नसकेको उनको भनाइ छ ।
‘शुक्लाफाँटासम्म पर्यटक ल्याउनका लागि वास्तवमा टुर अपरेटर तथा टुर ट्राभल्सले पनि असहयोग गरेका छन्’, उनी भन्छन्–‘काठमाण्डौंबाट प्याकेजमा आउने पर्यटक चितवन, बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन् । तर, शुक्लाफाँटासम्म आउँदैनन् ।’
तेस्रो मुलुकका पर्यटक खासै नआउने भएपछि शुक्लाफाँटा वन्यजन्तु आरक्षले भारतीय पर्यटकलाई प्रमुखता दिएको छ । तर, पश्चिमी नाकाबाट आउने भारतीय पर्यटक पनि वनबासा पुलमै अलमलिने गरेका छन् । वनबासा पुलमा सीमित घण्टा मात्रै आवत जावत गर्न दिइने कारणले भारतीय पर्यटक आउन पनि अप्ठ्यारो रहेको ढकालको भनाइ छ ।
एसियाकै ठूलो घाँसे मैदानमा विश्वकै सबैभन्दा ठूलो बाह्रासिङ्गाको झुन्ड र लोपोन्मुख पाटेबाघ अवलोकनका लागि शुक्लाफाँटा प्रख्यात छ । शुक्लाफाँटाको लागि खास गरेर माघदेखि जेठसम्म पर्यटक बढी आउने सिजन मानिएकाले अब पर्यटक बढ्न सक्ने अपेक्षा गरिएको सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले बताए ।
माघदेखि जेठ महिनासम्म बाह्रासिङ्गाको झुन्ड बढीजसो घाँसे मैदानमा देखिने भएकाले यही बेला अवलोकन गर्ने पर्यटक बढ्ने गरेको उनले भनाइ छ । ‘शुक्लाफाँटाको लागि खास सिजन भख्खर सुरु भएको छ, घिमिरेले भने–‘अब पर्यटक बढ्ने अपेक्षा गरेका छौं ।’
गत आर्थिक वर्ष शुक्लाफाँटामा १७५ जना तेस्रो मुलुक र सार्क राष्ट्रका ९५ गरी एक हजार ९२० जना स्वदेशी तथा विदेशी पर्यटक आएका थिए । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ८८९ जना पर्यटकले अवलोकन, भ्रमण गरेको आरक्ष कार्यालयले जानकारी दिएको छ । यस वर्ष ७८५ नेपाली, ६० जना सार्क राष्ट्र र ४४ जना तेस्रो मुलुकका पर्यटक शुक्लाफाँटामा आएको घिमिरेले बताए ।
३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा दुर्लभ प्रजातिका विभिन्न वन्यजन्तु तथा पंक्षी पाइने गरेको सो कार्यालयले जानकारी दिएको छ । सन २०१४ को गणनानुसार १७ वटा वयस्क बाघ, १८ देखि ३० वटा हात्ती र ८ वटा गैडा रहेका छन् । त्यस्तै, एउटै झुन्डमा बस्ने दुई हजार ३०१ बाह«ासिङ्गा रहेका छन् ।
शुक्लाफाँटालाई यसैवर्षबाट राष्ट्रिय निकुञ्ज बनाइएको छ । नीतिगत रुपमा निकुञ्ज बने पनि केहि काम अझै बाँकी रहेकाले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।