अवसरको खोजीमा सुरिलो स्वरकी अन्नु चौधरी

अविनाश चौधरी/धनगढी।

नेपाली र हिन्दी ‘कभर गीत’ गाएर पछिल्लो समय धेरैको मन जित्न सफल सुरिलो स्वरकी अन्नु चौधरी अवसरको खोजीमा छिन्। कैलालीका एक मध्यम वर्गीय किसानको चेली अन्नु आफ्नो प्रतिभा उजागर गर्ने आशाका साथ यतिखेर राजधानी पसेकी छन्। थारु गायिकाको रुपमा आफूलाई चिनाएको १९ वर्षीय अन्नुले आफूमा प्रतिभा रहे पनि अवसर भने नपाएको सुनाइन्।

‘मेरो स्वर सुन्ने सबै फ्यान भएका छन् र प्रशंसा पनि गरिरहेका छन्,’ उनले थपे, ‘तर, मैले अहिलेसम्म राम्रो अवसर पाएको छैन।’ प्रतापपुर–४ धनचैयाकी अन्नुभित्र सानैदेखि गायन कला रहे पनि सजिलै बाहिर ल्याउन सकेकी थिएनन्। गाउँघरमा लुकेको प्रतिभाका रुपमा रहेकी अन्नुले गतवर्ष एसएलसी दिइसकेपछि मात्रै आफ्नो स्वर बाहिर ल्याएकी हुन्।

कैलालीको विभिन्न ठाउँमा स्टेज कार्यक्रममा गाएको थारु गीतले एकातिर ‘फ्यान’ बढे। संगसंगै चर्चा पनि चुलिँदै गयो। पछिल्लो आधावर्षको अवधिमा आफूले केही एल्बममा थारु गीतसहित हिन्दी, नेपाली कभर गीत गाएपछि भने स्वर मन पराउनेहरु एकाएक बढेको उनले बताइन्।

अन्नुको पारिवारिक अवस्था मध्यम रहेकै कारण उनीभित्रको प्रतिभालाई अभिभावकले बाहिर ल्याउन सकेका थिएनन्। गायन क्षेत्रमा बाआमाको पूर्ण समर्थन रहेपनि गतवर्षमात्रै स्टेज कार्यक्रमसम्म पुग्न सकेको उनको भनाइ छ।

‘थारु भाषाको गीत गाउनको लागि आमा बुवाले नै मलाई कार्यक्रममा लग्नुभयो,’ अन्नु भन्छिन्, ‘गायन क्षेत्रमा लाग्नलाई उहाँहरुको पूर्ण सहयोग र समर्थन छ। राम्रो अवसर मात्रै पाएकी छैन।’

कैलालीमा पछिल्लो पुस्तामा उदीमान थारु गायिकाको रुपमा परिचय बनाउन थालेकी अन्नुले ‘भुलेर तिम्रो मायालाई, जिउन सक्दिन’, ‘चाहा है तुझ्को, चाहुङ्गा हरदम्’, ‘तुझ्से नाराज नही जिन्दी’ बोलको नेपाली र हिन्दी कभर गीत गाएकी छन्। यस्तै, थारु भाषाको पाँच वटा गीत गाएको उनले सुनाइन्।

भारतीय चर्चित गायिका अल्का याग्नीकको स्वरबाट आफू प्रभावित रहेको उनी बताउँछिन्। अन्नुको स्वर पनि केही हद्सम्म अल्काकै स्वरसँग मिल्ने गरेको फ्यानले प्रतिक्रिया दिने गरेका छन्।

काठमाडौंमा अन्नुको स्वर सुनेर प्रभावित संगीतकार विकास चौधरीले निःशुल्क सङ्गीत कक्षाको व्यवस्था गरिदिएका छन्। उनी लैनचौरमा रहेको शान्ति विद्यालयमा कक्षा ११ मा अध्ययनसंगै सङ्गीत पनि सिकीरहेकी छन्। ‘विकास सरले मेरो स्वर मन पराएर निःशुल्क सङ्गीत कक्षाको व्यवस्था गरिदिनुभएको छ,’ अन्नुले थपिन्, ‘त्यसले मलाई अवसर मिल्नेमा म विश्वस्त छु।’

Leave a Reply

Your email address will not be published.