टीकापुर घटनाका आरोपित बन्दीका छोराछोरीको शिक्षाको लागि रकम संकलन

टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजनितिक बन्दी जीवन विताइरहेका छोराछोरीहरुको शिक्षाको लागि थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति काठमाडौं र नवज्योति नेपालको संयूक्त आयोजनामा रकम संकलन अभियान सञ्चालन गरिएको छ।

थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गतेका दिन कैलालीको टिकापुरमा भएको हिंसात्मक झडपमा परि एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । त्यही घटनाको आरोपमा २५ जना थारु कैलाली कारागारमा राजबन्दी जीवन विताइरहेका छन् ।

कारागारमा राजबन्दी जीवन बिताइरहेका मध्ये १० जनाको परिवारमा आर्थिक अवस्था एकदमै न्यून रहेकोले उनीहरुको बालबालिका स्कुल जानबाट वञ्चित भएको राजबन्दी लक्ष्मण थारुले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट वञ्चित बनेका बालबालिकाहरुलाई शिक्षको लागि भनेर माघी महोत्सवको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति काठमाडौं र नवज्योति नेपालले सो अभियान सञ्चालन गरेको थारु अगुवा स्माइल चौधरीले बताए ।
‘महोत्सवको अवधिमा कति रकम संकलन भयो त्यो एकिन छैन संकलन बक्स खोलेका छैनौं । यो एउटा अभियानको शुरुवात हो,’ उनले भने ।  उनले राजनितिक बन्दी परिवारका बालबालिकाहरुको शिक्षाकोलागि संकलन गरिएको रकम छिट्टै हस्तारतण गर्ने जानकारी दिए । नवज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्ठले महोत्सवबाहेक अन्य तरीकाबाट पनि सहयोग संकलन भइरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published.