‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’ [अन्तर्वार्ता]

‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनक चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् । फोरम लोकतान्त्रिकका महासचिव चौधरीले अनलाइनखबरसँग भने, ‘अब माघ मसान्तपछि सत्ता समिकरण फेरिन सक्छ । राष्ट्रिय सहमतिको सरकारको हावा चल्न थालिसकेको छ, यस्तोमा भूतले खाजा खाने बेला बिजय दाइ सरकारमा जाने कुरा हल्लामात्र हो ।’

एमाले देशको दोस्रो ठूलो र जनमतको हिसाबले बलियो पार्टी भएको भन्दै चौधरीले एमालेको असहमति बीच संविधान संसोधन पास भए पनि त्यो लागु नहुने बताए ।

त्यसो भए अबको निकास चाहिँ के त ?

अबको निकास भनेको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने । त्यहि सरकारले चुनाव गराउँछ । संविधान संशोधनमा पनि त्यहि सरकारले राष्ट्रिय सहमति जुटाउछ । अहिले म धेरै भन्न चाहान्न, तर अब सत्ता समिकरण फेरिने संकेत देखिँदैछ । माघ मसान्तपछि नयाँ ढंगले राजनीति अघि बढ्छ ।

तपाईले भन्न खोजेको अब शेरवहादुर देउवाको नेतृत्वमा सरकार बन्छ भन्ने हो ?

होइन, प्रचण्ड नै निरन्तर रहने गरी नयाँ गठबन्धन बन्न सक्छ । कांग्रेस फेरि बाहिर रहन पनि सक्छ । विस्तारै धु्रविकरण नयाँ ढंगले हुँदैछ । अहिले नै मलाई धेरै कुरा बोल्न नलाउनुस्, तर हामीले माघ अन्तिमपछि नयाँ धु्रविकरण हुने संकेत देखिरहेका छौं ।

संविधान संसोधनको पक्षमा दुई तिहाई पुर्‍याउन तपाईहरुलाई समेत सकारमामा लैजाने भनिरहेका बेला, तपाई चाहिँ नयाँ समिकरणको कुरा गर्दै हुनुहुन्छ नि ?

दुई तिहाई त हामीहरु सरकारमा गएपछि पुग्ला । तर, एमाले बिनाको दुई तिहाईको के अर्थ ? एमाले जस्तो त्यत्रो ठूलो पार्टीलाई बाहिर राखेर तपाईले दुई तिहाई जुटाए पनि संविधान कार्यन्वयन हुदैन ।

हामीले स्वीकार गरे पनि नगरे पनि एमाले १८४ सिट सहितको दोस्रो ठूलो दल हो । त्यसैले एमालेलाई स्पेश दिएर अघि बढ्ने गरी राजनीतिक समिकरण बन्छ अब ।

एमालेलाई स्पेश दिने भनेको के त ?

हामीले बुझे अनुसार अब राष्ट्रिय सहमतिको सरकार बन्नेछ । त्यो सरकारको नेतृत्व कांग्रेस वा एमाले जसले गरे पनि हुन्छ । तर, कांग्रेस एमालेसहित सबै दलहरु मिलेरमात्र संविधान कार्यान्वयन सम्भव छ । संविधान संशोधनमा पनि यी ठूला दलहरु एक ठाउँमा नभएसम्म गणितीय रुपमा दुई तिहाई बहुमत पुर्‍याउनुको अर्थ छैन । राष्ट्रिय सहमतिको सरकारले संविधान संशोधनमा पनि सबैलाई मान्य राष्ट्रिय सहमति जुटाउने र चुनाव गराउने कुरा नै सबैभन्दा उपयुक्त हो । तर, केही व्यक्तिहरु एमालेल मुक्त नेपाल बनाउने भनेर राजनीतिलाई ध्रुविकरण गर्दैछन् । यो भनेको आत्मरति मात्र हो ।

एमाले एकातिर, अरु शक्ति एकातिर अर्थात एमाले मुक्त नेपालका लागि १० वर्ष कांग्रेस माओवादी र मधेशी मोर्चा मिल्ने कुरा आएको छ, यसमा तपाईहरु पर्नुहुन्छ कि पर्नुहुन्न ?

हामी त्यो एमाले बिरोधी गठबन्धनमा छैनौं । कसैले एमाले मुक्त नेपाल वा एमाले मुक्त मधेसको कल्पना गरेको छ भने त्यो भ्रम हो । चुनावबाट जनताले अभिमत दिन्छन्, त्यसको सामना गर्न तयार हुनुपर्छ । तर, अनावश्यक रुपमा दलहरुबीच ध्रुविकरण गराएर उत्तेजना फैलाउने कुरामा हामी विश्वास गर्दैनौं ।

त्यति ठूलो पार्टीलाई बाइपास गरेर संविधान संशोधन गर्छौं, संविधान कार्यन्वयन गर्छौं भन्नु पनि गलत हो ।

यही बीचमा तपाईहरु २ मन्त्रालय सहित सरकारमा जाने कुरा आयो नि ?
उहाँहरुले हामीलाई भनिरहनु भएको छ । अस्ति राष्ट्रपति भवनमा शेरवहादुर दाइले (देउवा) पनि तपाइहरु सरकारमा आउनुपर्छ भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले पनि विजय दाइ (गच्छदार)लाई सरकारमा आउनुस् भनिरहनु भएको छ । तर, हामीले हाम्रो मुद्दा संविधान संशोधनमा सम्बोधन नभएसम्म सरकारमा नजाने भनिसकेका छौं । बिजय दाइलाई पनि यहि कुरा भनेर पठाएका छौं ।

कमाउ मन्त्रालय नपाएर नगएको कि मुद्दा सम्बोधन नभएर ?

कमाउ मन्त्रालयको कुरा अहिले आएको छैन, पहिले भएको हो । अहिले त मुख्य कुरा मद्दा नै हो । कुन मन्त्रालय मालदार हुन् र कुन हामीले पाउने भन्ने तहमा कुरै भएको छैन । हामीलाई शेरबहादुर दाइले भनिरहनु भएको छ दुई मन्त्रालय सहित आऊ भनेर । प्रचण्डले पनि भनिरहनु भएको छ ।

तपाईहरुको मुद्दा चाहिँ के हो ?

हाम्रो मुद्दाबारे मान्छेहरुले भ्रम सिर्जना गरिरहेका छन् । म तपाई मार्फत क्लियर गर्न चाहान्छु, हाम्रो मुद्दा भनेको ५ नम्बर प्रदेशमा कैलाली र कन्चनपुरलाई ठ्याक्कै थप्नुपर्‍यो । कैलाली, कञ्चनपुरलाई अलग राखेर संविधान संशोधन पारित गर्न खोजियो भने हामी सहमत हुँदैनौं । नवलपरासीदेखि कञ्चनपुरसम्मको भागलाई ५ नम्बर प्रदेश बनाउनुपर्छ ।

यो कुरा त शेरवहादुर देउवा सुन्नै चाहदैनन्

उहाँले सुन्न चाहानु हुन्न भने हामी पनि उहाँहरुको कुरा सुन्दैनौं । सरकारमा जाने कुरा त परै रहृयो, हामी यो सरकार ढाल्न अर्को गठबन्धन बनाउछौं । शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्छ । तर, उहाँहरुले हाम्रो मुद्दा सम्बोधन गर्नु हुन्न भने प्रचण्ड नै प्रधानमन्त्री कायम हुने तर कांग्रेस चाहिँ सरकारमा नरहने समिकरण पनि बन्न सक्छ ।

अहिले तपाईहरु सत्तापक्षनै होइन र ?

हामीले सरकारलाई समर्थन गरेका छौं । सरकारले संविधान संशोधन बिधेयक ल्याउँदा हामीसँग सल्लाह गरेन । हामीले परिमार्जन हुनुपर्छ भनेका छौं । कैलाली कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राखेर अहिलेको सविधान संशोधन व्धिेयक पारित गराउन हामी चाहान्छौं । तर, उहाँहरुले मान्नु भएन भने हामी विपक्षमा मत हाल्छौं । हामी एमालेसँगको गठबन्धनम जान्छौं ।

तर विजय गच्छदार सरकारमा जान चाहेको, तपाइहरुले रोकेको भन्ने कुरा पनि आयो नि ?

त्यो गलत कुरा हो । बिजय दाइलाई हामीले रोक्ने कुरा छैन । तर, उहाँले नै हाम्रो मुद्दामा उहाँहरुलाई सहमत गराउन खोज्नु भएको छ । एमालेलाई पनि सँगै लिएर जानुपर्छ भन्ने उहाँको धारणा हो । एमाले बिना संविधान संश्ोधन गरेर त्यो कार्यन्वयन हुदैन भन्ने उहाँको कुरा हो । उहाँ राष्ट्रिय सहमतिको सरकार, राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन र राष्ट्रिय सरकारबाट निर्वाचन गराउने लाइनमा हुनुहुन्छ । दुई तिहाईको चक्करमा एमालेलाई बाइपास गरियो भने देश झन् ठूलो दुर्भाग्यपूर्ण अवस्थामा पुग्छ ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.