टुडिखेलबाट नेताहरुले भने- थारुको थातथलो टुक्र्याउन पाइँदैन

सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताएकी छन्।
थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको शनिबार टुँडिखेलमा उद्घाटन गर्दै उनले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता भएको मुलुकका हिसाबले नेपाली विश्वमै नमुना रहेको छ, सम्पूर्ण नेपालले राष्ट्रिय पर्वका रुपमा माघे सङ्क्रान्ति मनाउनुले पनि यो कुरालाई पुष्टि गरेको छ ।’ सभामुख घर्तीले देशमा न्याय, सुशासन र समृद्धिको वातावरण बनाउन यो सांस्कृतिक पर्वले सबैमा योगदान पुर्‍याओस् भनी शुभकामना पनि व्यक्त गरिन्।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सबैभन्दा पुरानो आदिवासी र उत्पीडनमा रहेको जातिका रुपमा थारु समुदाय रहेको बताए । उनले भने– ’एउटा जाति, भाषा, संस्कार र संस्कृतिलाई मात्र राष्ट्रियताको मान्यता दिने युगको अन्त्य भइसकेको छ, थारु जातिको बसोबास र थातथलो नटुक्र्याउने गरी प्रदेशको सीमाङ्कन हुनुपर्दछ, सङ्घीयता उत्पीडनमा परेका लागि हो भन्ने बुझ्न जरुरी छ ।’

आयोजक संस्थाका अध्यक्ष चन्द्रप्रसाद चौधरीले थारु समुदाय शोषित पीडित अवस्थामा रहेर पनि अधिकार स्थापित गर्ने आन्दोलनमा एकताबद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गरे । नेपालको तराई–मधेसका प्रायः सबै जिल्लामा छरिएर रहेका थारु समुदायका खासगरी पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बाक्लो बसोबास छ । समारोहमा थारु समुदायको हकहित र अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो।

महोत्सवका क्रममा थारु समुदायको वेषभूषा, रहनसहन झल्कने झाँकी र नृत्य प्रस्तुत गरिनुका साथै मौलिक खानपानका कक्षसमेत राखिएको थियो । थारु समुदायले सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रुपमा माघीलाई लिने गर्छन्।

यता टुडिखेलमै थारु कल्याणकारिणी सभा उपत्यका समितिद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा अघि सारिएको संविधान संशोधनबारे प्रतिपक्ष दललाई धेरै जिद्दी नगर्न आग्रह गरे। महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री निधिले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहे देखिएका कमीकमजोरीलाई सच्चाएर सबै जातजाति, भाषाभाषी र समुदायका हक अधिकार सुनिश्चित गरिने बताए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएका सहमति पनि पूरा हुने र सबै राजनीतिक दल, समुदायसँगको सरसल्लाहमा सरकार अघि बढ्न चाहेको उनको भनाइ थियो। आयोजक संस्था थारु कल्याणकारिणी काठमाडौं उपत्यका समितिका संयोजक सत्यनारायण चौधरीले माघेसङ्क्रान्ति र थारु समुदायबीचको अन्तरसम्बन्धका बारेमा जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published.