लक्ष्मण थारु।
बनावटी झुठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ। दैनिक दर्जनभन्दा बढी भेट्न आउँछन्। दर्जनौँ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौं। अचेल सबैले सोध्ने गरेका छन्।
किन राजीनामा दिनुभो?
अब कुन पार्टीमा प्रवेश गर्ने?
गच्छदारसँग के मिलेन?
के सोचेर राजीनामा गर्नु ?
कहिले छुट्ने हो?
भित्रको खाना, सुत्ने, लत्ताकपडा, खर्च कसरी चल्दैछ? पुलिस प्रशासनको व्यवहार कस्तो छ ? यस्तै यस्तै, देशैभरिका साथी, नेताहरुको सन्देशसँगै जिल्ला जिल्लाको हालत सुनाउँछन्। निश्चितै हो दशौ हजार मेरा साथीहरुको यस्तै यस्तै जिज्ञासासँगै रिहाईको पर्खाइमा अवश्य छन् होला।
अझ बढी चिन्ता गर्ने गर्ने साथीहरुले अपेक्षा गरेको विषय लक्ष्मण थारु परिपक्व, स्थिर, सहनशिल, धैर्यतावान, गम्भिर, बनोस्, देखियोस् भन्ने आशा अवश्य पूरा गर्नेछु। हजारौंपटक सोचेर मात्रै अबको निर्णय लिनु छ। विश्वास गर्नुस्, थरुहट आन्दोलन संघीयता प्राप्तिको आन्दोलनमात्रै होइन। यो त हामीमाथिको लामो समयको दासत्वको अन्त्य गर्ने शसक्त शान्तिपूर्ण बुलन्द एकताको आन्दोलन हो। जेल, नेल, यातना, झुठा, मुद्दा, अपमान, हाम्रो थारु समाजमा अझै बढी हुनेछ किनकि शासकहरु भ्रष्ट, लोभीपापी, षड्यन्त्रकारी, क्रुर छन्। जसले देशको जल, जंगल, जमिन, बेचिखाएका छन्।
आजीवन जेल बस्न तयार छु तर थारुमाथिको दासत्वका विरुद्ध अन्तिमसम्म लडी राख्नेछु। जनता कही कतै हारेका छैनन्। हामी थारुहरु देशको साधनस्रोत माथि कहिल्यै लुट गरैनौं, जातीय सद्भाव बिगार्ने दंगा कहिल्यै गरेनम, किर्ते गरी अरुका सम्पत्ति कहिल्यै खाएनम्, जे गरेम, जे खाएम, आफ्नै पौरखमा बाँचेका छौं।
फोकटमा बनावटी झुठा मुद्दामा लामो समय जेल बस्नुको पीडा छँदैछ। ५० हजारभन्दा बढी जनताको सहभागिता रहेको त्यो दिनको जनताको आन्दोलनमा के कसरी त्यो हिंसात्मक घटना घट्यो। दुःखद र दर्दनाक छँदैछ, त्यसैको मौका छोपी बन्दुक र सत्ताको पावरमा थारुहरुलाई जेल, नेल यातना दिनु दुुर्भाग्य हो। आशा छ सम्मानित अदालतले निर्दोषलाई न्याय, दोषीलाई सजाय दिनेछ।
नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको कडा करफ्युका बीच दर्जनौ थारुहरुको घर पसलमा छानी छानी आगजनी, लुटपाट, चोरी, दिउँसै कसरी भयो? गुण्डाहरुलाई त्यो अधिकार कसले दियो? भविष्यमा यसको सत्यता निश्चितरुपमा सबैसामु आउनेछ।
आदरणिय मित्रहरु,
कुनै पार्टीमा प्रवेश गर्ने सोँच बनाएको छैन। तर राजनीतिबाट भाग्ने छैन। जेल बसाई व्यक्तिगत स्वतन्त्रताका लागि राजीनामा गरेको छु। हो हाम्रो नेपाली समाज जातीय, वर्गीय, क्षेत्रीय, धार्मिक, अन्तरविरोधले छट्पटिँदैछ। विजय गच्छदारसँग व्यक्तिगतरुपमा राम्रै छ। परिवारके भाइ समान सम्मानित व्यवहार र सहयोग गर्छ तर राजनीति भावनात्मकमात्रै हुँदैन। गच्छदार स्थापित र नेपालकै लागि सोच्ने राजनीतिक एक हस्ती हुन्। थारु समाजबाट यो स्तरको राजनीतिक नेतृत्व जन्माउने कैयौँ वर्ष पर्खिनुपर्ला, फेरि पनि उनी एउटा संकुचित घेरामा कैद हुँदै गएकोमा दुःख लागेको छ।
थरुहट आन्दोलनको बलिदानबाट आफैले जन्माएको पार्टी छोडी गच्छदारलाई आत्मैदेखि सहयोग गर्ने र पार्टी प्रवेश गरेका हौं तर एउटा शर्त थियो। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको नाम परिवर्तन गरी कुनै जात, समुदाय, क्षेत्रको गन्ध नआउने राष्ट्रिय पार्टी महाधिवेशनबाट बनाउने।
दोस्रो संविधान सभा निर्वाचनको प्रचार प्रसार सुरु भैसकेकाले त्यतिबेला पार्टी नाम परिवर्तन सम्भव भएन। चुनावमा धेरै हार्यौं, थोरै जिते। २०७३ वैशाख २३ गते महाधिवेशन प्रतिनिधिहरु ८० प्रतिशतले पार्टीको नाम मधेसी हटाएर ‘लोकतान्त्रिक फोरम’ बनाउने मतदान गरे। तर दुर्भाग्य पार्टीको नाम हाल सम्मै परिवर्तन भएन।
एक जना मधेसी नेताको धम्कीले पार्टीको नाम परिवर्तन स्थगित छ रे। सुन्दैछु स्थानीय चुनाव पछि मात्रै नाम परिवर्तन गर्ने रे। वास्तविकता के हो ? गच्छदारलाई नै थाहा होला।
दोस्रो संविधान सभा निर्वाचनमा लाज मानिमानी मधेसी पार्टीबाट भोट माग्यौ तर अब फेरि मधेसी पार्टीकै नाममा भोट माग्न सकिँदैन। सबैको पहिचान छ। मधेसी पहिचान हामी हाम्रो होइन तर मधेसी बलिदान हामी सम्मान गर्छौं। थरुहटले गरेको बलिदानीको सम्मान खै? लिम्बुवान, तामाङसालिङ, मगरात, नेवा, दलित, मुश्लिम, पहाडे बाहुन, क्षेत्रीको बलिदानीको सम्मान खै ? सबैको बलिदान, पहिचान, भावना कसैको कमी छैन। सबैको सम्मान गर्न सक्नै पर्छ। दम्भ, घमण्ड, संकीर्णताले नेता भइँदैन। सम्मान पाउन अरुको पनि सम्मान गर्न सिकौ।
गच्छदारले दिल खोल्न सक्नुपर्छ। संकीर्ण घेराको कैद तोडेर सबैको नेता बन्ने हिम्मत गर्नैपर्छ। यदि त्यही मधेसी पार्टीकै नामले राजनीति गर्ने सोच हो भने धेरै ठूलो हारको सामना स्वीकार्नुको विकल्प छैन। मैले यस विषयमा विगत तीन वर्षदेखि लगातार छलफल गरेको छु। कैलाली जेलमा भेटन आउँदासमेत गच्छदारलाई भनेको छु। पार्टीको नाम परिवर्तन कहिले गर्ने?
कति कति बेला गच्छदार मनोगत हुँदा दुःख लाग्छ। उनलाई घेरा बन्दी गरी खतम गर्न ठूलो शक्ति पार्टी बाहिर र भित्र लागैकै छ। जुन हामी चाहँदैनौं। गच्छदार हिम्मत गर, पार्टीको नाम परिवर्तन गर । थरुहट, लिम्बुवान, तामाङसालिङ, नेता, दलित, मुश्लिम पहाडे बाहुन, क्षेत्रीको भावना, बलिदान सम्मान गर। सुखद समाचारको पर्खाइमा छौं। बिलम्ब कति दिन टिक्ला? आन्दोलनको विकल्प छैन यदि मुक्ति पाउने हो भने।
कैलाली कारागारबाट