माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, ९-० गोलले विजयी

सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा सावित्रा एक्लैले पाँच गोल गरेकी थिइन् भने मञ्जलीकुमारी योन्जन, सपना लामा, हीराकुमारी भुजेल र निर्मला विकले एक÷एक गोल गरेका थिए । योन्जनले ५२ औँ, लामाले ६५ औँ, भुजेलले ७४ औँ र विकले ९१ औँ मिनेटमा एक÷एक गोल गरे । नेपालका लागि सावित्राले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् ।

नेपालका लागि सावित्राले १२ औँ, २८ आँै र ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । अट्ठाइसौँ मिनेटमा उनले दीपा राईको पासमा गोल गरेकी थिइन् । त्यसैगरी ३१ औँ मिनेटमा अनिता बस्नेतको प्रहार गोलकिपरको हातमा लागेर फुत्किएपछि सावित्राले त्यसलाई गोलमा परिणत गरेकी थिइन् । त्यसैगरी, सावित्राले नै ५० औँ मिनेटमा चौथो गोल गरेकी थिइन् भने ६३ औँ मिनेटमा पाँचौ गोल गरिन् ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो । उक्त प्रतिस्पर्धामा सवित्राले दोहोरो ह्याट्रिक गरेकी थिइन् ।खेलको पहिलो हाफमा ३–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा ६ गोल गरेको थियो । पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिकसहित पाँच गोल गरिन् ।

आजको जीतसँगै समूह ए मा रहेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेपालसँग पराजित माल्दिभ्स ३ अङ्कसहित दोस्रो स्थानमा छ । अब नेपालले शुक्रबार श्रीलङ्कासँग लिगको अन्तिम खेल खेल्नेछ । लगातार दोस्रो जित निकालेको नेपाली टोलीले सेमिफाइन यात्रासमेत पक्का गरेको छ ।

नेपाल र माल्दिभ्सको महिला राष्ट्रिय टिम चौथोपल्ट आपसमा प्रतिस्पर्धामा ओर्लिएका हुन् । यसअघि भएका तीनै खेल नेपालले सजिलै जितेको थियो । सन् २०१० मा कक्सबजारमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा नेपालले ६–०, कोलम्बोमा २०१२ मा भएको तेस्रो साफमा ५–० र सिलोङमा २०१६ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले २–० को जित हात पारेको थियो । रासस

Leave a Reply

Your email address will not be published.