सांसद गंगा चौधरीलाई खुल्ला पत्र

माननीय गंगा चौधरी (सत्गौंवा) ज्यू
अभिवादन जय थरुहट

आत्मसम्मान, पहिचना, न्याय र अधिकारका लागि करिव डेढ वर्षदेखि निरन्तर भईरहेको थरुहट आन्दोलन लगायत आदिवासी जनजाति, मधेसी मुस्लिम, उत्पीडित जाति, वर्ग, लिंग क्षेत्रको सशक्त संघर्ष चलिरहेकै बेला तपाईले नयाँ दल खोल्ने र थरुहट तराई पार्टी नेपालबाट निश्कासन गरिएको विषयले पुषको मनै कठ्याङ्ग्रिने जाडोमा पनि नेपालको राष्ट्रिय राजनीतिक माहोल निकै ततायो । थरुहट तराईमा झनै चलिरहेको शितलहरबाट बच्न आगोको धुनी ताप्दै गरेका बृद्ध बृद्धा, यूवा युवती देखि कौरामा मकैको लावा खाइरहेका बालबालिकाहरु सहित आमनेपाली जनसमुदायको मुखबाट निकै सम्भावना बोकेको थरुहट तराई पार्टी नेपाललाई फोडेर नयाँ दल खोल्ने हर्कत कीन गरिन भन्दै व्यापक चिन्ता, चासो र कौतुहलताको बिषय बनेको छ । यस गम्भिर सवालमा हरेकले आ–आफ्नै हिसाबले व्याख्या विश्लेषण गरिरहेता पनि यसो हुुनुको मुल कारण तपाई की त थरुहट तराई पार्टी नेपालका पदाधिकारीहरुलाई मात्रै थाह होला । आशा गरौं इतिहासको गर्भमा नहराई जनताहरुको बीचमा एकदिन सत्य तथ्य पक्कै आउने छ भन्ने विश्वास लिएकी छु ।

सांसद ज्यूलाई खुल्ला पत्रबाट सबाल गर्न मेरो हैसियत छ वा छैन नापजाँच गर्नमा म जान्दिन । तर सदियौंदेखि शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार र विभेद्का शिकार भएका यहाँका आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, महिला, अल्पख्यक, जाति, वर्ग, क्षेत्र, समुदायलाई संवैधानिकरुपमा अधिकार सम्पन्न बनाई राज्यको मूलप्रवाहमा लैजानु पर्छ भन्ने मान्यता राख्ने र आँट बोकेकी एक सचेत थारुको भएको हुनाले जब तपाईको लिखित पत्र सार्वजनिक सञ्जालमा देखेपछि मनै नमानी खुल्ला पत्र लेख्ने जमर्को गरे । यसबाट अन्यथा भए मलाई क्षमा गर्नु हुनेछ भन्ने पूर्णआशा लिएकी छु ।

सर्वप्रथम यो मुलुकका ब्राह्मणवादी सोंच, चिन्तन प्रवृति बोकेका पहिचान विरोधी शासकहरुसंग थरुहटको आत्मसम्मान, पहिचान र अधिकारलाई संविधानमा सुनिश्चित्तता गराउन थरुहट संघर्ष चलिरहेकै बेला पार्टी फोड्ने हर्कत गरेको देख्दा तपाईको नियत प्रति शंका लाग्यो । पत्रको शिरानीमा भाव विह्वल भई लेखिएको नोट सहित तपाईको दुई पृष्ठको लिखित पत्रको व्यहोरा पढदा आफ्नै सवाल जवाफ एकआपसमा खण्डन गरिएका छन् । एक अर्कामै बाझिएको देख्दा बरा बिचित्र लाग्यो । पत्रको छपन्नौं हरफममा “म न कसैको उक्साहट न कुनै चिजको प्रलोभनमा परी त्यही सिर्फ सांसद पदको मोह त्याग्न नसकी अलग दल दर्ता गरे” लेख्नु भएको छ । तपाईलाई सांसद पदको कती मोह रैछ आफनै हस्ताक्षरबाट लेखिएको पत्रबाट स्पष्ट पार्नु भएको छ ।

शहीद परिवार जन्माएको भन्ने तर थरुहट शहीदका रगतलाई अपमान गर्दै थरुहट जनताको चाहना, भावना, मूल मर्म विपरित र सिंगो पार्टीले अवलम्बन गरेका माग मुद्दा, सवालहरु एवम् निर्णय भन्दा व्यक्तिगत स्वार्थ कुनैपनि हालतमा ठूलो हुँन सक्दिैन । यो कुरा राजनीति गर्ने तपाइलाई हेक्का हुनु पर्ने हो । र अर्को कुरा जनता र पार्टीले लिएका माग मुद्दा कहुँ कतै जाओस वा भाँडभैलो जाओेस के मतलव तपाइलाई ? व्यक्तिगत स्वार्थको लागि राजनीति गर्ने तपाईलाई सांसद पदको मोह त्याग्न नसक्नु स्वभाविकै हो । किनकि नाम र दाम दुबै कमाउन पाइने । त्यसमा पनि भर्खरै सेवा सुविधा बधेकै छ क्यारे । अझै एक वर्ष पदावधी बाँकी छदै छ, चुनाव कहिले हो कहिले कुनै ठेगानै छैन । ऐतिहासिक थरुहट आन्दोलनको जग र जनादेशबाट थरुहट तराई पार्टी नेपाल स्थापना गर्दा २०६८ साल साउन २७ गते नेपालगंजमा हजारौं हजार जनताहरुलाई साक्षी राखी छातीमा हात राख्दै व्यक्तिगत स्वार्थ भन्दा माथी उठी सदैव जनता र पार्टीको माग मुद्दा सवाललाई पुरा गराउन प्रतिवद्ध रहने छु भनि खाएका कसम आज नौंटकीमा बोलिएका संवाद जस्तै पत्रको व्यहोराले गिज्याई रहेको आभाष भइरहेको छ । सांसद ज्यूलाई म स्मरण गराउन चाहन्छु केही वर्ष पहिले लक्ष्मण थारुले पार्टी अध्यक्षबाट बहिरगमन भएको प्रसंगमा धेरै स्थानमा ठूलठूला स्वरमा “अब उप्रान्त जसले पार्टीलाई धोका दिन्छ त्यसका हात खुट्टा भाँचरे राजनीति गर्न नसक्ने गरी बेकम्मा बनाउनु पर्छ” भन्दै यो भन्दा अझै अप्रिय शब्दको प्रहार गर्ने तपाई आज आफै गल्ति गर्दै थरुहट बासीलाई ठूलै धोका दिनु भएको छ । तपाईको भनाई तपाईमा लागु भयो भने के हुन्छ ? तर नडराउनु होला लोकतन्त्रमा व्यैक्तिक स्वतन्त्रा छ । भौतिक कारवाहीले राजनीतिक तथा कुनै पनि समस्याको समाधान गर्न सक्दैन भन्ने मेरो मान्यता रहेको छ । यसको गतिलो जवाफ त आम नेपाली जनसमुदायले आगामी चुनावमा दिने नै छन् ।

आधा भन्दा धेरै आकाश ढाकेका सिंगो महिला त्यसमा पनि थारु समुदायबाट प्रतिनिधित्व गर्दै व्यवस्थापिका संसदमा माननीय सांसद बनि प्रतिनिधित्व गर्दा हाम्रो शीर गर्वले ठाडो भएको थियो । हाम्रो समाजले धेरै आशा र विश्वास लिएको थियो तपाईँबाट । तर विडम्बना थरुहट एकता जोड्ने अति आवश्यकता भएको बेला पार्टी फुटाएर साहसी महिलाको रुपमा अझै गर्वले भनिरहनु भएको छ । “हंगामा चलायो तिमीले हलचल मचायो तिमीले फुलबुट्टे चोलीले” गीत गाउने संगीतकार तथा गायक प्रमोद खरेलको दीलमा फुलबुट्टे बेनामी दिदीले के कस्तो प्रभाव पारिन वा पारिनन् त्यो त उनैलाई थाह होला तर माननीय गंगा ज्यूले चलाएको राजनीतिक हंगामाले करौंती बनी थरुहटको जनजनको दीलमा पीडा र चिन्ताको आभाष भइरहेको छ । तपाईको यो हकर्तले हामीलाई अत्यन्तै दुःखी बनाएको छ । यो कुरालाई ह्दयदेखि मनन् गर्न अनुरोध गर्न चाहन्छु ।

सांसद जस्तो गरिमामय पदमा रहनु भएका तपाईँले यति केटौले कुरा गर्दै व्यक्तिगत आरोप प्रत्यारोप गर्दै पत्र लेख्नु भएको देख्दा बिचित्र लाग्यो । सांसद डा. गोपाल दहितको हेपाहा प्रवृति, पार्टीले न्याय गरेन भन्ने जुन कारण उल्लेख गर्नु भएको छ । तीसबै कारणका बारेमा बैठकमा पटक-पटक समीक्षा सहित सम्बन्धित सबैले आत्मआलोचना गरिसकेको कुरा पार्टीले सार्वजनिक गरेको हुनाले तपाईको कारणप्रति कुनै सत्यता एवं तूक देखिदैन । यदि साच्चिकै तपाईँलाई पार्टीको केन्द्रीय तथा सचिवालय बैठकले न्याय नगरेकै हो भने तपाईले निर्णप्रति फरक मत लिखितरुपमा दर्ज गर्न सक्नु हुन्थ्यो तर तपाई आफै राजी खुशीका साथ बैठकको निर्णयमा हस्ताक्षर गर्नु भएको छ रे । छलफलको लागि कार्यालयमा बोलाउदा बैठक, अस्पताल जानु छ भन्दै बहानाबाजी गरी मोबाईल अफ गरेर बस्नु भयो रे । यदी साच्चिकै दलले तपाईलाई न्याय नगरेको भए हिम्मतका साथ चुनौती दिदै विकल्प खोज्ने कुरा भन्न सक्नु पर्दथ्यो । पर्दा पछि त कायरले पनि छुरी चलाउन सक्छ नी कि कसो सांसद ज्यू ?

जहाँसम्म आजित भई नयाँ दल दर्ताको सम्बन्धमा एक दुई दिनको तयारीमा बाध्यतात्मक अवस्थामा विवश भई गरे भन्ने सवालमा विश्वास लाग्ने कुनै आधार देखिँदैन । किनकी विधान, घोषणापत्र, नियमावली, झण्डा, छाप, निर्वाचन आयोगको तयारी एक दुई दिनमा गर्न सकिने कुरै होइन । यसका लागि धेरै समय अगाडि देखि निरन्तर योजनावद्ध तयारीमा जुटेको ठोकुवाका साथ भन्न सकिन्छ । तपाईले पत्र मार्फत उल्लेख गर्नु भएका कारण त सतही हुन जुन आफुलाई चोखो बनाउन पानी माथिको ओवानो बन्नु जस्तै मात्र हो । मलाई लाग्छ थरुहट शक्तिलाई टुटफुट गराई कमजोर बनाउन हिडन कज अर्कै छ । किनकी अहिले थरुहट शक्ति एकदमै बलियो भएर अगाडि बढिरहेको अवस्थामा पहिचान तथा थरुहट बिरोधीहरु डराएर अत्तालिदै साम, दाम, दण्ड, भेद लगाएर षड्यन्त्रका तानाबुना लगाई फुटाउनमा तल्लिन रहेका छन् । उनीहरुकै जालरुपी चंगुलमा फसेर लोभलालचको स्वादमा पर्दै तपाईले लिएको मुख्र्याइपूर्ण कठोर निर्णयले थरुहट तराई पार्टी नेपाल फुट्नु पनि एक दुःखद घटना हो ।

अन्त्यमा सांसदज्यू, पहिचान बिरोधीहरुको सुनियोजित षड्यन्त्रमा फसेर व्यक्तिगत नीहित स्वार्थका लागि गरेको तपाइको निर्णले थारु महिलाहरुलाई अत्यन्तै लज्जाबोध गराएको छ । थरुहट शक्तिलाई कमजोर बनाउदै पहिचान बिरोधीहरुलाई पृष्ठपोषण गरेको छ । हाम्रो पहिचानमुखी संघर्षको यात्रामा केही हदसम्म तगारो बन्ने छ । दल नयाँ खोल्नु कुनै ठूलो कुरा होइन, जनताको बीचमा स्थापित गराउनु ठूलो कुरा हो । विगतको संविधानसभालाई हेर्नुस तपाईको पछाडी कति जनताहरु छन् २०७० सालको संविधानसभाको निर्वाचनमा तपाईको चुनावी क्षेत्र दाङ देउखुरीबाट आएको मत परिणामलाई सिंहालोकन गर्नुस ? अहिलेको चुनैतिपूर्ण राजनीतिक यात्रामा तपाईले स्थापना गर्नु भएको नयाँ पार्टीको यात्रा सहज छ र ? आवेशमा लिएको निर्णयले गल्ति हुन्छ र गल्तिले हरेक चेतनशील मानवलाई पाठ सिकाउछ । नेपाली काँग्रेस, एमाले, माओवादी, राप्रपा लगायत नेपालका अंधिकांश दल फुट्ने जुट्ने घटनाक्रम नेपालीका लागि नौलो होइन । त्यसैले पनि थरुहट सहित पहिचानवादी फुटेर होइन जुटेर गएको हेर्न चाहन्छन् । अझै पनि समय छ एकता मै जोड दिन आग्रह गर्न चाहन्छु । समय, परिस्थिति र नेपालको राजनीतिक अवस्थालाई गम्भिररुपमा विश्लेषण नगरी अगाडि बढ्ने कुचेष्टा नगर्न विनम्र आग्रह गर्न चाहन्छु । यदि नजर अन्दाज गर्दै बढ्नु भयो भने त्यसको परिणाम त भोग्नु नै हुने छ । त्यो समय र परिस्थितिले बताउने नै छ । त्यसैले मिलेर अगाडि बढनुस् यसैमा हामी सबैको भलो हुने छ ।

एन्जिला चौधरी
काठमाडौं

Leave a Reply

Your email address will not be published.