तातिए नवलपरासीका थारु, ४ नम्बरमा राखेको भन्दै चक्का जाम

थारु बाहुल्यता भएको क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखिएको भन्दै नवलपरासीको डण्डामा थारु कल्याणकारिणी सभाले शनिबार बिरोध प्रदर्शन गरेको छ । नवलपरासी जिल्लाको परासी क्षेत्र र नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

नवलपुर क्षेत्र थारु बाहुल्य भएको क्षेत्र भन्दै आफूहरुको पहिचानका लागि ५ नम्बर प्रदेशमा समाहित गर्नुपर्ने भन्दै थारु समुदायले नाराबाजीसहित पूर्व–पश्चिम राजमार्ग १ घण्टा अवरुद्ध पारेका हुन्। उनीहरुले ‘थारू मास्न पाइँदैन, प्रदेश नं. ४ गाभ्न पाइँदैन’ लगायत नारा लगाएका थिए । तराईका भूमिपुत्रको मागबारे सरकार मौन बसेको भन्दै सशक्त आन्दोलनमा जाने समेत चेतावनी दिइएको छ ।

विरोध सभामा थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेश महतोले आदिमकालदेखि भूमिको रक्षा गर्दै आएका थारु समुदायको पहिचान मेटिनेगरी गरिएको सिमाङ्कन आफूहरुलाई मान्य नभएको भन्दै तत्काल संविधान संशोधनमार्फत् नवलपुरलाई समेत ५ नम्बर प्रदेशमा राख्नुपर्ने बताए । थारु समुदायले नाराबाजी गर्दै दिउँसो २ देखि ३ बजेसम्म पूर्व–पश्चिम राजमार्गको डण्डामा सवारी आवागमन ठप्प पारेका थिए ।

Leave a Reply

Your email address will not be published.