किसानको आयस्तर नबढेकोमा कृषिमन्त्री चिन्तित

कृषि मन्त्री गौरीशंकर चौधरीले कृषिको विकास र प्रवद्र्धनका लागि कृषकहरुसँग सहकार्य र समन्वय गरेर कार्यक्रमहरु अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छ्न्। उनले दुःख गर्ने कृषकको आयस्तर बढ्न नसकेकोमा चिन्तासमेत व्यक्त गरे।
शनिबार विराटनगरमा आयोजित पूर्वाञ्चल क्षेत्रीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै कृषि मन्त्री चौधरीले कृषकहरुको जीवन उत्थान हुन सक्ने र कृषिलाई व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम ल्याउन आग्रह गरे। उनले कागजी रुपमा कृषिका कार्यक्रम प्रगति देखिने तर कृषकहरुको आयस्तर नबढेकोमा चिन्ता व्यक्त गर्दै कृषिको उत्पादन बढाउन कृषिको यान्त्रिकीकरण गर्नुपर्ने धारणा व्यक्त गरे।

 उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु गरेको जानकारी दिदै यसलाई सफल बनाउन निष्ठापूर्वक काम गर्न निर्देशन दिए। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले आयोजना गरेको प्रथम चौमासिक समीक्षा गोष्ठीमा पूर्वाञ्चलका १६ जिल्लाका जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसंधान केन्द्र र कृषि सामग्री संस्थान लगायतका कार्यालयहरुले आगामी कार्यक्रमका साथै समस्या र चुनौतीहरु बारे जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published.