कृष्णराज सर्वहारी।
थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा बढ्वा थारुको ‘बढक्क जोर्नी’ पुस्तक प्रकाशित भएको देखिन्छ। त्यस्तै, ०११ सालमा जीवराज आचार्र्यको ‘हम्र ओ हमार बन्वा’ पुस्तक प्रकाशित पाइन्छ। यो पुस्तक वनसम्बन्धी महत्वबारे कविता हो भने बढक्क जोर्नी गीतसंग्रह हो।
यसपछि चौधरी रूपलाल महतो र बद्रीनाथ योगीको संकलन ०१६ सालमा प्रकाशित दंगीशरण कथा, वर्कीमार, गुरुबाबक् जल्मौटीले थारु लोकसाहित्यको संकलनको दैलो उघार्यो। चितवनबाट जित बहान कथा २०१६ सालमै तथा रामप्रसाद रायको थरुहट के बउवा और बहुरिया गीति नाटक ०१९ सालमा प्रकाशित भयो। थारु कल्याणकारिणी सभाले सखिया– ०२४, प्रफुल्लकुमार सिंह मौनले थारु लोकगीतको संकलन– ०२५ प्रकाशन गरे। यसरी गोचाली पत्रिका प्रकाशन हुनुअघि लोकगीत, लोककाव्य, नाटकको संकलन प्रकाशित भएको देखिन्छ। यस आलेखमा थारु साहित्यको लेखनको अवस्था के–कस्तो छ? आख्यान, कविता, नाटक आदि विधामा के–कस्तो फड्को मार्दै छ? यसको गतिबारे चर्चा हुनु आवश्यक छ।
उपन्यास
आख्यानको महत्वपूर्ण विधा उपन्यासमा पनि थारु समुदाय बामे सर्दैछ। ०७० सम्म थारुभाषाका १४ उपन्यास प्रकाशित छन्। खागरी कैलालीका स्रष्टा उपन्यास लेखनमा अगाडि देखिन्छन्। तेजनारायण पञ्जियारले ०४९ मा बुद्धको जीवनी ‘शाक्य बुद्ध’ लेखे। थारुभाषाको पहिलो मौलिक उपन्यास भने कृष्णराज सर्वहारीको फुटल करम (०५५) हो। मनिराम चौधरीको बिधवा (०५७) थारुभाषाको दोस्रो उपन्यास हो। त्यस्तै, छविलाल कोपिलाको मुक्तिक खोज )(०५९) थारुभाषाको तेस्रो उपन्यास हो। लामो कथाजस्तै लाग्ने २०–२२ पृष्ठको यस उपन्यासमा उपन्यासकारले पस्किन सक्ने धेरै कुरा छुटेका छन्। उपन्यासमा पाइने तत्व पनि थोरै छ।
०६२ मा थारुभाषाका दुई उपन्यास प्रकाशित भए— हरि आसमा महतोको ‘आत्मा भितरक गाथा भेलई जिन्गिक काथा’ र आदर्श बान्धबको चमेलिया। महतोले आफ्नो लघु उपन्यासमा गजलसमेत समावेश गरेर पुस्तकलाई खिचडी बनाएका छन्। कैलालीकै भोजराज चौधरीको उपन्यास तिरिया जलम प्रकाशित छ, ०६३ मा। यसमा पात्रमार्फत् थारु समुदायका सबै चाडपर्वबारे चर्चा गर्ने प्रयास गरिएको छ। कैलालीकै शर्मिला चौधरी ‘सृष्टि’को उपन्यास ‘दुःखके हल्कोरा’ ०६४ मा प्रकाशित छ। थारु महिलाले लेखेको यो पहिलो उपन्यास हो।
कृष्णराज सर्वहारीले नेपाली भाषामा लेखिएको बसाइँ उपन्यासलाई थारुभाषामा अनुवाद गरे, छारा शीर्षक दिएर। उपन्यासमार्फत् लेखकले आफ्नो समुदायको सकारात्मक, नकारात्मक सांगो–पांगो बखान गर्न सक्छन् तर उपन्यासकारको संख्या पर्याप्त रूपमा थपिन सकेको छैन। समसामयिक कथावस्तु आख्यानमा पनि आउन सकेको छैन।
कथा
थारुभाषामा लेखिएका कथाको इतिहास त्यति पुरानो छैन। चितवनबाट ०१६ मा धार्मिक पुस्तक ‘जित वाहन कथा’ प्रकाशित रहेको भेटिन्छ। यसरी धार्मिक कथाबाट थारुभाषाको लेखन परम्पराको सुरुवात भएको देखिन्छ। गोचाली र ०३३ मा थारु संस्कृतिका पत्रिका प्रकाशन हुन थालेपछि त्यसमा कथा छापिने क्रम सुरु भएको देखिन्छ। यद्यपि, ०४६ सालबाट प्रकाशित ‘बिहान’ पत्रिकामा श्रीपति चौधरीका केही कथा छापिएका छन्, जुन कथा ०२२ देखि ०२५ सम्ममा रचना गरिएको भनिएको छ।
त्यसो त ०३२ सालमा बाराका हृदयनारायण चौधरीको ‘कहली, सुनली, बुझली’ थारुभाषामा कथासंग्रह प्रकाशित छ। यो नै थारुभाषाको पहिलो कथासंग्रह हो। यसरी आधुनिक थारुभाषा कथाका जनक बाराका हृदयनारायण चौधरी मानिन्छन्। ‘कहली, सुनली, बुझली’ कथासंग्रहका पाँच कथाको बीचबीचमा कविताका पंक्ति पनि छन्। जसले कथाकारको कवि व्यक्तित्व झल्काएको छ। प्रस्तुत कथासंग्रहमा व्यंग्य कविता पनि समावेश छ। यी कथाले तत्कालीन थारु समाजको अवस्था खोतल्छन्। कथा र त्यसभित्रका कवितांशले थारु साहित्य आधुनिकतातिर लम्किएको देखिन्छ। दोस्रो कथासंग्रह प्रकाशित हुन २३ वर्ष कुर्नुपर्यो। थारुभाषाको दोस्रो कथासंग्रह हो— लक्ष्मण किशोर जोगेठ्वा ‘परदेशी’को इज्जतके दाम– ०५५)। ०५५ फागुन २८ देखि ३० सम्म उदयपुरको हडियामा थाकसको स्वर्ण जयन्तीको अवसरमा धेरै पुस्तक प्रकाशित भए। यसै क्रममा छातापिपरा–४ बाराका मधुसुदन चौधरीले आफ्नै नामको शीर्षक राखेर मधु कथासंग्रह (२०५५) प्रकाशन गरे। १० कथा संकलित मधु कथासंग्रहका केही कथामा कविताले पनि स्थान पाएका छन्।
बाराका परशुराम चौधरीको कथासंग्रह प्रकाशित छ, चमत्कार– ०५६ । जसमा मध्यमखालका कथा छन्। कैलालीका मनिराम चौधरी पनि दुई कथासंग्रह लिएर देखापरेका छन्। उनका कथासंग्रह हुन्— रसाइल करम–०५९ र दुखियारी बयिया–०६१। कथाको सामान्य मान्यतालाई त्यागेर दुखियारी बगियामा ४६ पृष्ठको एउटा कथा समावेश छ।
थारुभाषाका अर्का सशक्त हस्ताक्षर हुन्— बर्दियाका सन्तराम धारकटुवा थारु। उनको हमार जुनी– ०६१ प्रकाशित छ। जसमा ६ कथा संग्रहित छन्। यसमा प्रयुक्त विम्बले थारु साहित्यमा उत्तरआधुनिकताको छनक दिन्छन्। यसबाहेक फुटकर रूपमा उनका प्रशस्त कथा छरिएर रहेका छन्। उनका कथा अनुवाद गरेर नेपाली भाषामा प्रकाशन गर्न सके उनी राष्ट्रिय रूपमा चर्चित हुन सक्ने कथाकार हुन्।
कैलाली थारु साहित्यका लागि उर्वर क्षेत्र हो। यहाँका हीरालाल चौधरीले दुःखके भौंरी–०६३ तथा एम टेर्रा वास्तविकले लालमुरै–०६४ कथासंग्रह दिएका छन्। चौधरीभन्दा टेर्राका कथा खँदिला छन्। कञ्चनपुरकी कल्पना चौधरीको उजरल घर दुवार– ०६२ कथासंग्रह प्रकाशित छ। केही पत्रपत्रिकाले कथा विशेषांक प्रकाशित गरे पनि विभिन्न कथाकारको कथा संगालोको रूपमा एक मात्र संग्रह थारु भाषक् प्रतिनिधि कथा–१ (०६८) प्रकाशित छ, जसको सम्पादन शत्रुघन चौधरीले गरेका छन्।
पेसाले शिक्षक रहेका उत्तरगंगा–७ सुर्खेतका मानबहादुर ‘पन्ना’को ककनडरान छोटकी– ०७० कथासंग्रह प्रकाशित छ। हालसम्म थारु कथासंग्रहको एक दर्जन पुस्तक आएको छ। साहित्यको विकासमा मातृभाषाका रचनाको अनुवाद प्रकाशनको उत्तिकै महत्व रहेको हुन्छ। बिहान पत्रिकाले ०६० मा बटकुही लोककथा विशेषांक प्रकाशन गरेको छ। थारु समुदायको लोककथातर्फ संग्रहको रूपमा कृष्णराज सर्वहारीको संकलनमा मामा–भान्जा–०६० तथा थारु लोककथा–१ (०६७) पुस्तक प्रकाशनमा आएको छ। थारु लोककथा– १ ले साझा प्रकाशनबाट ०६७ को लोकसाहित्य पुरस्कार समेत पाएको छ। यद्यपि, पुस्तक नेपाली भाषामा छ। त्यसैगरी थारु लोककथा संग्रहमा सहयोग समाज नेपाल दाङले थारु मातृभाषामा बटकोही लोककथासंग्रह –०६४ प्रकाशन गरेको छ।
कृष्णराज सर्वहारीको बालकथासंग्रह सुुख्ली–०६२ थारुभाषाको एक मात्र बालकथासंग्रह हो। थारुभाषाका अन्य कथाकारमा मंगल थारु, श्रीपती चौधरी, सोम डेमनडौरा, देवराज अमित, धर्मराज चौधरी, ओमप्रकाश गोइंजिहार, नरेश लालकुसम्या, प्रसादु थारु आदि हुन्। तीसको दशकमा लेखिएका कथा र हाल सत्तरीको दशकमा आइपुग्दा सम्म पनि थारु साहित्यको कथा लेखनको शैलीमा खासै भिन्नता आउन सकेको छैन। लावा डग्गर त्रैमासिक (२०६९, पूर्णांक १३) तथा बिहान वार्षिक (२०७०, पूर्णांक १८)मा क्रमशः १६ तथा ८ जना कथाकारका एक एक थान कथा समावेश गरी कथा विशेषांक प्रकाशन गरिएको छ। तर, दुवै विशेषांकमा कथाबारे समालोचना छैन। यस्ता विशेषांक नियमित प्रकाशन हुनु जरुरी छ।
कविता
थारुभाषाको पहिलो कवितासंग्रहको पनि यकिन हुन सकेको छैन। तर, २०४५ सालमा प्रकाशित हृदयनारायण चौधरीको ‘मेहमान’ थारुभाषाको पहिलो कवितासंग्रह मान्छि। कवि हृदयनारायणका मेहमान बाहेक ‘चतुरंगी फूल’ (२०५६) कविता संग्रह र ‘प्रभात रोशनी’ (२०५९) लघु खण्डकाव्य प्रकाशित छ। चतुरंगी फूल कविता पश्चिमी, मध्य, पूर्वी र मध्य पश्चिमी भाषामा प्रकाशित कवितासंग्रह हो। सियाराम चौधरीको ‘पोह फाइट गैले’ (२०४७) र ‘हमर गाम हमर बस्ती’ (२०५०) कवितासंग्रह प्रकाशित छ। संख्यात्मक रूपले थोरै क्रमश १९ र १८ वटा कविता समाविष्ट सियारामका कविता लेखनशैली तथा भावपक्ष हेर्दा अब्बल दर्जाका छन्। यसैगरी कैलालीका रेशमलाल चौधरीले आफ्नो पहिलो पुस्तकाकार कृति ‘एकथो बिरहीन कथा’ (२०५३) कवितासंग्रह प्रकाशन भयो। मधुसुदन चौधरीको ‘मधु’ (२०५५) कवितासंग्रहमा केही बाल कविता पनि भेटिन्छ।
कवयित्री शान्ति चौधरी थारुको बेटी (२०५४), ‘गाँवके पहिचान’ (२०५५) लगायत कवितासंग्रह प्रकाशित छन्। तर, प्रायः संग्रहमा ८/ १० वटा कवितासँगै लेख निबन्ध, पुस्तक पत्रिकाका समाचार समावेश गरिएकोले विशुद्ध थारु कवितासंग्रह मान्न सकिँदैन। कविताका अन्य कृतिमा कविराम थारुको सैहदान (२०५२) मानबहादुर चौधरी पन्नाको ढुकढुकी (२०५७), बालगोबिन्द चौधरी र सुमन चौधरीको बैँशालु जोवन (२०५७) हो। ढुकढुकी र बैँशालु जोवनमा मुक्तक पनि समावेश गरिएका छन्।
त्यस्तै अन्य कविता कृतिमा मनिराम चौधरीको ‘हिमालके मुस्कान’ (२०५८) प्रेमराज चौधरीको ‘कहतुँ मैं’ (२०६०), सुरेश चौधरीको ‘तुहिन’ (२०६१), जीतबहादुर चौधरी ‘ट्रासन’को यी जीतके हटल कविता (कविता संग्रह २०६१), अर्जुन दहितको ‘परिचय’ (२०६२), प्रेमलाल दहितको ‘टुटल झोप्री’ (२०६२), रामबहादुर बखरियाको ‘मुटुक धड्कन’ (२०६२) हो। यी सबै कविता संग्रहमा प्रेम प्रणयका बखान गरिएको छन्। यी कविताहरू संरचना तथा भाव गाम्भीर्यताको हिसावमा कमजोर देखिन्छन्। सन्तराम धारकटुवा थारुको ‘छिटकल भावना’ (२०६२) कवितासंग्रह भने हालसम्म प्रकाशित अब्बल दर्जाको कविता कृति हो। उनका कविता विषयवस्तु, भाव, शैली र कलाकौशलता ध्यान पुगेको देखिन्छ। त्यसैगरी, प्रेमलाल दहितको टुटल झोपडी (कवितासंग्रह २०६१), बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (कवितासंग्रह २०६२), प्रकाशित छ। एम टेंर्राको फूला (२०६३) कवितासंग्रह थारु, राना थारु र नेपाली तीन वटा भाषामा प्रकाशित छ। श्रीराम चौधरीको चिट्किन (२०६४), कैलालीका रामलखन चौधरीको छलमल्की (२०६५), रामलखन चौधरी, मनबहादुर चौधरीको विश्व शान्ति (२०६७), लक्की चौधरीको नेन्धर (२०७१), सुशील चौधरीको नेपाली र थारुभाषामा बिरहुल बसिया (२०७२) प्रकाशित छ। शान्ति चौधरीका कृतिलाई अपवाद मान्दा हालसम्म अढाइ दर्जनजति कवितासंग्रह प्रकाशित देखिन्छ।
खण्डकाव्य, महाकाव्य
रुपन्देहीका बमबहादुर थारुको ‘ई जिन्गी’ (२०५५) खण्डकाव्य थारुभाषाको पहिलो खण्डकाव्य हो। यस खण्डकाव्यमा थारु मौलिक शब्दको भण्डार छ। यस कृतिमा थारुभाषाका अत्यन्त प्राचीन र ठेट शब्दहरूको प्रयोग भएको छ। २०६१ मा मानबहादुर चौधरी पन्नाको ‘किसानके जिन्दगी ‘ खण्डकाव्य प्रकाशित छ। कैलालीकी शर्मिला चौधरी ‘सृष्टि’ले मनके फूला (२०६२) खण्डकाव्यमार्फत् नारी मनका संवेदना पस्केकी छिन्। उनको पहिलो गहकिलो वजनदार कृतिले हुने विरूवाको चिल्लो पातको उदाहरण दिएको छ।
पचासको दशकमा जोखन रत्गैयाले ‘भुत्वा’ महाकाव्य लेखेको बताइन्छ। हृदयनारायण चौधरीले बुद्धको जीवनीमा आधारित ‘ललित बिस्तर’ (२०६८) महाकाव्यको थारुमा अनुवाद गरेका छन्। हृदयनारायण चौधरीको अर्को महाकाव्य बन्हन पनि प्रकाशित छ।
मुक्तक, हाइकु तथा तान्का
पहिलो मुक्तक संग्रह कृष्णराज सर्वहारीको ‘दोसर घर जाईबेर’ (२०५६) हो। कैलालीका स्रष्टाहरू टिकाराम चौधरीको आग्रह (२०६३) तथा सागर कुश्मी संगतको आँशके सागर (२०६९), सुन्दर चौधरीको प्रकृतिके अनुराग (मुक्तकसंग्रह–२०७०), दाङ देउखुरीका छविलाल कोपिला, गुरुप्रसाद कुमाल ‘बुलबुल’ र रामप्रकाश चौधरी ‘अन्धकार’ को नेपाली र थारुभाषामा संयुक्त मुक्तक संग्रह ‘समयका डोबहरू’ (२०७१) प्रकाशित छ। हिरालाल सत्गौवाँको पैनस्टोपी (मुक्तकसंग्रह २०७१), विभिन्न कवि गोष्ठी, रेडियो कार्यक्रम अथवा छापा सञ्चार माध्यमहरूमा ६०–७० दशकलाई ‘मुक्तक–गजल’ दशक भन्न सकिने अवस्था भएपनि संग्रहको रूपमा भने कमै प्रकाशित देखिन्छ। फुटकर रुपमा भने यसैको वर्चस्व रहेको छ।
थारु साहित्यमा हाइकु तथा तान्का विधाले खासै प्रभाव जमाउन सकेन। आंशिक रूपमा केही पत्रपत्रिकाबाहेक साहित्यिक कार्यक्रममा समेत वाचन गरिएकोे देखिँदैन। सर्वहारीले २०५९ सालमा थारु र नेपाली दुवै भाषामा ‘समयका उच्छ्वासहरू’ हाइकुसंग्रह प्रकाशित गरे। त्यसैगरी, तुलाराम चौधरी ‘सनम’को ‘तुहिन उपहार’ (२०६१) र छपिलाल चौधरीको ओजरिया रातम (२०६३) हवाई हाइकुसंग्रह प्रकाशित छ। त्यसपछि अहिलेसम्म कुनै हाइकु संग्रहित रूपमा आउन सकेका छैनन्। दिप लाइफ कियरले गोजी आकारमा ‘तुँहार लग फूला’ (२०६३) नामक थारुमा नौलो बिधा तान्का निकालेका छन््।
गजल
थारु साहित्यमा गजल विधा संख्यात्मक हिसाबले सबैभन्दा धेरै पाइन्छ। थारुभाषाको पहिलो गजलसंग्रह जोखन रत्गैंयाको ‘चोराइल मन’ (२०५७) हो। त्यस्तै, अन्य गजल संग्रहमा भुवन चौधरीको ‘आछत’ (२०६१), लक्की चौधरीको ‘सहीदान’ (२०६१), छविलाल कोपिलाको ‘भौगर’ (२०६१) हुन्। भौगर नेपाली र थारुभाषा दुवै भाषामा छ। कोपिलाको थारु बाल गजलसंग्रह कहिले फूल्छ ऊ (२०६३) पनि नेपाली र थारुभाषा दुवै भाषामा छ। लक्कीको अन्तर्भाव (गजलसंग्रह २०६३) अन्तर्भाव पनि नेपाली र थारुभाषा दुवैमा प्रकाशित छ। गुर्वावा प्रकाशन प्रालिको अग्रासन मासिकले (२०६२ पूर्णांक ७) लाई गजल विशेषांकको रूपमा ‘कैहदेऊ गुर्वावा संग्रह’ भनी प्रकाशित गरेको छ। थारुभाषा तथा साहित्य उत्थान समूहको लावा लौझी त्रैमासिक (२०६५ अंक–४) गजल विशेषांकमा २९ जना गजलकारका गजलहरू समेटिएका छन्। लाहुराम चौधरी ‘जहर’को फुलरिया (गजलसंग्रह २०६६), हस्ताक्षर (२०६८), फुटल पोक्री (२०६८), खुशीराम उमंग चौधरीको विक्षिप्त मुटु (२०६९) को ५२ थान गजलमा १२ वटा मात्र थारुभाषामा छन्। मोतीराम चौधरी ‘रत्न’ को मनके बोझा (२०७०), रामचरण चौधरी ‘एकल यात्री’को मोर टुटल झोपरी (२०७०), चन्द्रप्रसाद चौधरीको गजल माला (२०७०), कञ्चनपुरका अशोक चौधरीको मनके आवाज (२०७०) जिल्लागत दृष्टिकोणले सम्भवतः उनको यो संग्रह नै कञ्चनपुरबाट प्रकाशित हुने थारुभाषाको कृतिमध्ये पहिलो हो, रविना चौधरी रब्बुको ओंरी (२०७१)लाई थारु महिला गजलकारद्वारा लिखित पहिलो प्रकाशित कृति मानिएको छ। जंग्रार साहित्यिक बखेरी नेपालगञ्जको प्रकाशन रहेको डिउली (२०७१), जंग्रारकै मुम्बई शाखाको जेउनास (२०७१), ठुम्रार साहित्यिक शृंखला काठमाडौँको पहिलो प्रकाशन परगा (२०७२) मा पनि विभिन्न शंृखलामा वाचन गरिएका गजलहरू संयुक्तरूपमा प्रकाशित भएको छ। २०७२ सालमा पस्नक पन्ह्वा संयुक्त गजल, सीता थारु निश्चलको परगोह्नी, पुनाराम चौधरी (कर्याबरिक्का) को अँख्वा गजलसंग्रह प्रकाशन भए। २०७३ मा दाङका बुद्धिराम चौधरीको चिन्हारी तथा महेश चौधरी एमके कुशुम्याको मैंयक बौछार गजलसंग्रह प्रकाशन भएको छ। थारुभाषामा भित्रिएको गजलमा रदिफ र काफियामा नेपाली भाषाको प्रभाव मनग्गे भेटिन्छ। फुटकर रूपमा कविता, गजल लेख्नेहरूको तालिका लामो छ।
थारु साहित्यमा गीत लेखनको अवस्था कमजोर छ। बिहान, दिउँसो, राति छुट्टाछुट्टै गीत गाइए पनि लोकगीतको संकलन समेत निकै कम भएका छन्। जस बर्दियाको ‘लौव चलन– भाग १ (२०५७) तथा भाग २ (२०६०) मा लोकगीत शैलीमा आधुनिक गीतको प्रस्तुति छ। छविलाल कोपिलाको सम्पादनमा थारु लोकगीत (२०७२) प्रकाशित छ। गीतको पुस्तक संकलनसँगै ४ दर्जनभन्दा बढी थारु गीति क्यासेटको संकलन बजारमा आएको देखिन्छ। थारुभाषामा ८५ वटा चलचित्र निर्माण गरिएको भनिएकोमा लोकगीत भने अत्यन्त न्यून समेटिएको छ।
नाटक
थारु साहित्यमा नाटक प्रकाशन र मञ्चनको दृष्टिले कमजोर दखिन्छ। रामप्रसाद रायले २००७ सालमा थारु कल्याणकारिणी सभाको जनचेतना अभियानअन्तर्गत खासगरी पूर्वी थरुहटमा नाटक मञ्चन गरेका थिए। उनको थरुहटके बउआ और बुहरिया (२०१९) पुस्तकलाई गीति नाटक भनिएको छ।
बसाइसराइको विषयवस्तु समेटिएको महेश चौधरीको छारा (२०२८) नाटक प्रकाशित भए पनि यो हाल अप्राप्य छ। पुनर्प्रकाशन गर्नलाई एक प्रति पनि नपाइएको स्वयं नाटककार बताउँछन्। छारा दाङका विभिन्न विद्यालयमा मञ्चन गरिएको थियो। राजधानीमा थारु समुदायका मुद्दा केन्द्रित नाटक पनि फाट्टफुट्ट मात्रै मञ्चन भएका छन्।
राजधानीमा स्वान संस्थाको पहलमा कमलरी (२०६१) नाटक गुरुकुल बानेश्वरमा करिब २ हप्ता मञ्चन भएको थियो। त्यस्तै शिल्पी काठमाडौँ, शान्तिको लागि युवा सञ्जाल बर्दिया तथा कपिलवस्तु नाट्य समूह, तौलिहवाको संयुक्त आयोजनामा २०७० बैशाख ८ गते त्रिवि कीर्तिपुरमा ‘दहितान ढेंकी’ नाटक मञ्चन गरिएको थियो। दुवै नाटकमा भाषा पनि थारु नै थियो।
निबन्ध
थारु साहित्यमा कुनै कृतिमा एकदुइटा निबन्ध परेका छन्, तर निबन्धको कुनै सिँगो कृति प्रकाशित भएको देखिन्न। लक्की चौधरीले ‘तिहुवार’ (२०६१), मोर पहुरा (२०७०), मनिराम चौधरीले ‘हरबड्डा’ (२०६२) तथा भुलाई चौधरीको ‘थारु सस्ंंकृति’ (२०६१) ले निबन्धको झल्को दिन्छन्। यद्यपि, भुलाईको संग्रहमा नेपाली लेखसमेत समाविष्ट छ। तिहुवारमा थारु चाडपर्वबारे जानकारी दिइएको छ भने मोर पहुरामा नेपाली पत्रपत्रिकामा प्रकाशित लेखलाई थारुमा अनुवाद गरिएको छ। यसरी विशुद्ध साहित्यिक निबन्धसंग्रह अझै पनि थारु सहित्यमा प्रकाशन हुन सकेको छैन।
बिसौनी
थारु साहित्यमा कथा र उपन्यास विधामा अझै पनि दर्जनकै हाराहारीमा मात्रै कृति देखिएका छन्। तर, आख्यानमा समयअनुसारको चिन्तनको अभाव देखिन्छ। कमैया मुक्तिको घोषणा भएको डेढ दशक नाघिसक्यो, तर आख्यानमा कमैया पात्रले जमिनदारबाट दुःख पाएको पुरानै प्रसंग भेटिन्छ। एक दशकको जनयुद्धमा हजाराँै थारुले बलिदानी दिए पनि त्यस विषय केन्द्रित आख्यानको अभाव छ। साहित्यकार सुशील चौधरीको प्रश्न छ– थारु स्रष्टाहरूले अव युगको माग अनुसार कलम चलाउन सुरु गर्नु पर्दैन त? सम्मानपूर्ण जीवनका लागि, मानव अधिकारका लागि किन साहित्यिक आन्दोलन नछेड्ने?
थारु साहित्यमा सबाल्टर्न पात्रहरू प्रशस्त छन्, तर तिनीहरू विद्रोही हुन सकिरहेका छैनन्। जबकि यथार्थ के हो भने माओवादीको १० वर्षे युद्धमा हताहत हुने सबैभन्दा बढी थारु समुदायकै थिए।
थारु साहित्यको स्रोत नेपालमात्र हो। छिमेकी मुलुक भारतमा लाखौँको संख्यामा थारु बसोबास रहे पनि त्यहाँ थारुभाषा बोलिँदैन। सबैभन्दा सघन बस्ती रहेको भारतको पश्चिम चम्पारनका थारुहरूले भोजपुरी भाषा बोल्छन्। कामको सिलसिलामा विभिन्न देशमा बसोबास गर्ने थारुहरू त्यहाँबाट गजल, मुक्तकलगायत साहित्य सिर्जना गरिरहेका छन्।
अनलाइनमा थारु साहित्यिका समाचार, कथा, कविताले थोरै ठाउँ पाएको छ। थारु साहित्य पनि अब डिजिटल दुनियाँमा अघि बढ्न थालेको छ।
थारु साहित्यको सिर्जनामा सामूहिक प्रयासको अभाव छ। २०७३ बैशाख ३ र ४ गते दाङमा थारु थारु साहित्यिक मेला भएजस्तो राष्ट्रिय स्तरको थारु साहित्यिक कार्यक्रम नियमित भएको छैन। राजधानीमा २०६९ माघदेखि नियमित थारु साहित्य केन्द्रित कार्यक्रम भए पनि गुणस्तरीय काम हुन सकेको छैन। राष्ट्रिय रूपमा थारु साहित्यकारहरूको जमघट नहुँदा, साहित्यमा लागिपरेकाहरूलाई प्रोत्साहन नहुँदा यसले गति पक्रन सकेको छैन। तर, थारु साहित्यमा निराशाको बादल भने विस्तारै फाट्दै गएको छ, विविध विधामा इन्द्रधनुषी सप्तरंगले स्थान बनाउन थालेको छ। थारुहरूको चाहना साहित्यमा मुखरित हुन थालेको छ। देश संघीयतामा गएपछि थारु साहित्यको विकास, विस्तारमा अझ फड्को मार्ने देखिन्छ। विद्यालय तहमा मातृभाषामा पठनपाठनको अभियानलाई तीव्र पार्न सके थारुलगायत अन्य भाषाको पनि विकास हुनेछ।