लक्ष्मण वियोगी।
विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई।
चुन्कीका बदामी ओँठ खुले– दसैँ माने आइलो मलिक्वा?
चुन्कीले मालिक भनेर बोलाइ। ऊ अँधेरो भयो। खासमा विनय चुन्कीको मालिकै हो। तर, गाउँकाले भने पनि चुन्कीले नामै काढेर बोलाओस् भन्ने चाहन्थ्यो ऊ। किनकि, ऊ विनयको ढुकढुकीमा बसेकी थिई।
विनय झोक्कियो– कत्रा कहनु महिन् मलिक्वा नै कहिस कैके। तोर कन्पट्टिम् नाइ घुसठ?
विनयको बोली नखस्दै चुन्कीले उत्तर फकाई– का कहूँ तो मोर थारु (लोग्ने)? ऊ हाँस्दै जंगलतिर भागी।
विनय पछ्याउँदै गयो। ऊ छक्याउँदै झाडीमा लुक्न खोजी। तर, विनयले आफ्नो बलिया पञ्जाले च्याप्पै समात्यो। ‘अब् मै तुहिन नाइछोडम, छिल्लाइल बठनिया (मात्तेकी तरुनी)।’ चुन्कीका गाला राता न राता भए, रगत बग्लान्जस्तै। उसले माथि हेर्न सकिन, आँखा बन्द गरी र थुचुक्क भुइँमा बसी।
विनयले केर्न छोडेन– तँलाई काली। अब् तो तुहिन बिन जन्नी (श्रीमती) बनाके छोड्बे नाइकरम्।
चुन्कीले बिन्ती गरी– नाई बाबा अब् नाई कहम जाट्टिसे। माफी मागटूँ प्लिज।
विनयले उसका पाखुराबाट आफ्ना बाघे पञ्जा हटायो। उसले लामो सास फेरी।
चुन्कीले एकोहोरो विनयको गँठिलो शरीर नियालिरही– कहिले हिँड्नु भो त काठमान्डुबाट?
विनय जिस्क्यो– पोहोर साल।
ऊ खिन्न भई।
धमिलो अनुहार देखेर विनय बोल्यो– ए नरिसा न हिजो नाइटमा हिँडेको के!
उसले घुर्क्याइ– आफू भने मजा गर्नुहुन्छ। मैले बोल्यो भने….
‘काली नरिसा न। सरी ल!
ऊ अनारदाना दाँत देखाएर खितिति हाँसी।
विनयले भन्यो– म साँझ जाँड खान आउँछु। मीठो बनाएर राख है काली।
‘पिबो आप्ने जाँर? काठमान्डु बैठलेक मनै जाँर पिठइँ?’ चुन्कीले यति नभन्दै ऊ चार घर पर पुगेको थियो।
…
यसपालि गाउँको रौनक फेरिएछ। गमक्का गाउँको वनको किनार सुकुम्बासी बस्तीले भरिएछ। त्यहाँ झन्डै सय घर मुक्तकमैयाका झुप्रा थिए। कुनै ठूला त कुनै साना, तर समग्रमा हरेकका झुप्राबाट अभाव र गरिबीको धुवाँ उडिरहेको थियो।
गाउँमा कमैया राखेर कजाउने धङधङी हटेको छैन। कजाउने र कजिने चर्खे पिङको अवशेष केही ठाउँमा अझै देख्न सकिन्छ।
सुकुम्बासी टोल दसैँ भिœयाउन एकजुट थियो। कोही घरको भित्ता पोतिरहेका त कोही खाल्डोमा माटो मुछिरहेका थिए। पर खुला चौरमा केटाकेटी हल्ला गर्दै थिए।
केटाकेटीको हूल चिच्यायो– ऊ हेरो छोट्का मालिक आइगिनै।
हूलले विनयलाई घेर्यो। उसले झोलाबाट चक्लेटको प्याकेट निकाल्यो र बाँडिदियो। केटाकेटी खुसीले उप्रिँ्कदै फेरि चिच्याए– छोट्का मालिक आइगिनै। यी हेरो हाम्रे तो चक्लेट पाइली।
ऊ हरेक वर्ष गाउँ आउँदा छुट्टै रौनक छाउँछ। आज पनि उसको आगमन र दसैँ उस्तै लागेको छ, यो बस्तीलाई। खुसीको तोरन टाँगिएको छ, फूलको डोली लिएर दुइटा चाड एकैचोटि भित्रिएझैँ।
जमिनदारको छोरो भए पनि विनयले कसैसँग झर्केर बोलेका छैन आजसम्म, र त गाउँमा उसको आगमन कुनै चाडभन्दा कम हुन्न। साँच्चै ऊ गाउँका लागि माया गर्ने मन हो।
…
बडाहाकिम राघवध्वज राणाले बोलीमा आगो ओकल्थे। यसैको रापमा कति थारु रैती जलेर खरानी पनि हुन्थे। राघवध्वजको यहाँ दुई सय साठी बिघा जग्गा छ। पचास घर कमैया छन्। उनीहरू बाह्रै महिना खेतमा जोतिन्छन्। वर्षान्तमा दुई/चार क्विन्टल धान थापेर जीवन गुजार्छन्। पञ्चायतको बीउ मासिएपछि उनका खुर भाच्चिएझैँ भएका छन्। तैपनि, पुरानै रापको धुवाँ फ्याँक्न भने छोडेका छैनन्।
राघवध्वजको एक्लो छोरो विनयलाई बाबुको सान र सम्पत्तिको मतलब थिएन। ऊ थारुका आँगनमा गुच्चा र गुलीडन्डा खेलेर हुर्केको थियो। लट्टु नचाउन ऊ गाउँकै एक नम्बर थियो। फूलरामको घरभित्र छिरेर ऊ मुसाको मासु र घोगी खान्थ्यो।
ऊ बाबुको आँखा छलेर गाउँका केटाकेटीसँगै कुलामा माछा मार्न बल्छी हान्थ्यो। जाल थाप्थ्यो र खेतका बडेबडे आली भत्काएर मुसा मारेको खुब रहर मानेर हेर्थ्यो। कहिलेकाहीँ ऊ चुन्की, भुनियाँ, कालुराम, धनिराम, हरिप्रसादसँग भैँसी चराउन जंगल जान्थ्यो। जंगलमा उनीहरू वनमौरी काढ्न जोँझा बनाउँथे।
सबै मिलेर मह काढ्थे। चुन्की र भुनियाँले सालको पातका टपरी गाँस्थे। धनिराम बाल्टीबाट सबैका अघि राखिएको टपरीमा मह खन्याउँथ्यो। अनि गहुँको रोटीको पोको फुकाएर महसँग उनीहरू मि‰नी (अर्नी) खान्थे।
मिझ्नी खाँदै धनिराम भुनियाँलाई जिस्क्याउँथ्यो–
जंगल जानी साली अर्नी लानी खाजा
गटियाले मुख छुपी किन मान्छ्यौ लाज….
…
चुन्की विनयको घरमा कम्लहरी थिई। कम्लहरी भए पनि राघवध्वजले उसलाई स्कुल पढाएका थिए। विनय १० कक्षा पढ्दा ऊ ८ मा थिई। विनय चुन्कीलाई माया गरेर चिनियाँ भन्थ्यो। ऊ मुस्कुराउँथी। विनयले राखेको नाम उसलाई सारै मन परेको थियो। ८ कक्षाको रजिस्ट्रेसन फाराम भर्दा चुन्की हटाएर उसले ‘चिनियाँ चौधरी’ लेखाएकी थिई।
विनय एसएलसी पासपछि पढन् काठमान्डु जाने भयो। त्यतिबेला ती दुवै एक्लाएक्लै खुब रोएका थिए।
विनय फस्ट डिभिजनमा पास भएको थियो। त्यो दिन घरमा उसको अबिरजात्रा चल्यो। राघवध्वजले तीन वटा खसी काटेर भोज ख्वाए। देशी–विदेशी रक्सीको चुस्कीले राघवध्वजको घरमा उत्सव भिœयाएको थियो। विस्तारै साँझ ओर्लिंदै थियो। पश्चिमतिर सालका रुखमाथि घामको पहेँलो रेखी बाँकी थियो। एक चरन सुइइ ˜˜ य हावा चल्यो अनि आँगनमा साँझ खस्यो।
अचानक विनयलाई जोरो आयो। ऊ कोठामा गएर पल्ट्यो।
चुन्की कसैले नदेख्ने गरी विनयको कोठामा छिरी। उसले सोधी– का हुइगिल बाबु?
‘केही भएको छैन। तँ जा। म एकछिन सुत्छु।’
चुन्कीले निधार छामी। निधार आगोको भुंग्रोजस्तै तातो थियो। ऊ आत्तिइ। तुरुन्तै जगमा पानी र सेतो रुमाल लिएर आई। उसले विनयको निधारमा पानीपट्टी गर्न थाली।
भोज पातलिँदै गयो। खाने–पिउनेको भीड निखि्रन थाल्यो। साढे ९ बज्दा घर सुनसान भइसकेको थियो। चुन्की विनयको कोठामै थिई।
विन्देश्वरी विनयको कोठामा छिरिन्। त्यहाँ चुन्की थिई। उनले भनिन्– तँ जा। म बस्छु। उसले आज्ञा शिरोपर गरी। विनय मुवाहजुरसँग बोलेन। घोप्टो परेर सुतिरह्यो। उनी पनि नबोली बाहिरिइन्। केहीबेरमा फेरि चुन्की कोठामा छिरी। छामी, निधार सेलाएको थिएन।
११ बजेसम्म पानीपट्टी गरिरही। सानैदेखि विनयलाई उसले यसरी नै स्याहारेकी हो। उमेरमा सानी भए पनि चुन्कीले जति विनयको हेरचाह अरूले गरेनन्। विनयको निधार केही सेलायो। ऊ चुन्कीतिर फर्क्यो।
चुन्कीको श्यामलो मुहार, कम्मरसम्म झरेको कपाल र खिरिलो कम्मर हेरेर ऊ कहिल्यै अघाउँदैनथ्यो। आज उसलाई चुन्कीको रूपले झन् लोभ्याएको छ।
विनयले सोध्यो– काली के भयो?
चुन्की सासले बोली– कुच्छु नाई।
विनयले उसको टाउको समातेर उठायो। उसका आँखा बढैया ताल भएका थिए। पोखिएर बग्ने ठाउँ थिएन।
विनयले कपाल मुसार्यो– काली मलाई केही हुन्न। सेवा गर्ने तँ छँदैछस् नि। तँ हुँदासम्म म मर्दिनँ। पिर नमान्। बल्ल चुन्कीले टाउको उठाइ।
विनय बोलिरह्यो– सुन्! म त पर्सी काठमान्डु गइहाल्छु। म गएपछि तँलाई गाली गर्ने कोही हुन्न। तेरो खुसी जहाँ जा, जे गर। तर, लेहँगा लगाएर हुक्कई–हुक्कई नाचेर मात्र हुन्न। ९ कक्षा पुगिस्। अर्को वर्ष एसएलसी दिनुपर्छ। राम्रोसँग पढ्।
चुन्कीका आँखाबाट बररर आँसु झरे, बढैया ताल फुटेर बगेजस्तै। वनसप्टीको भूतले अठ्याएझैँ घाँटी क्याक्क भयो। बोल्नै सकिन। धेरै बेरसम्म रोइरही।
भित्तेघडीको घन्टा सुई १२ मा पुगेको थियो। बाहिर टहटह जून लागेको थियो। ‰यालबाट जूनका छायाँ छिरेर चुन्कीको लामो कपालमा पिँ्कजारिएका थिए।
आँसु पुछ्दै चुन्की बोली– काठमान्डु जा के महिन् भुलाइबो का हूँ!
विनयले ढाडस दियो– म तँलाई बिर्सन सक्छु र! कहिल्यै बिर्सिन्नँ। बरु तँ राम्रो पढेस्। रातका दुई प्रहर उसले विनयका खुट्टा समातेरै कटाइ। मिर्मिरे उज्यालो हुन थाल्यो। अनि ऊ फुत्त निस्केर बिहानको काम गर्न थाली।
…
विनय साँझ सुकुम्बासी टोलतिर निस्क्यो। ऊ चुन्कीको घर पुग्यो। उसका बा–आमा सँगै थिए। विनयलाई देख्नेबित्तिकै भेगुवा जुरुक्क उठ्यो। र, खटियामा बस्न अनुरोध गर्यो– मालिक यहर बैठी।
विनय झर्क्यो– काकु! मलाई मालिक नभन्नु भनेर कति भनेँ। तपाईं मान्नु हुन्न?
भेगुवा उभिइरह्यो। चुन्कीले विनयका अघि करेलाको अचार, ढिक्री र एक बटुको जाँड राखिदिइ।
‘काली मैले जाँड खाएको कहिल्यै देखिस्?’
‘अघि मीठो जाँड बनाएर राख् भन्नु भएको होइन?’
ऊ हाँसिरह्यो मात्र।
विनयले करेलाको अचार र ढिक्री खायो। अनि बाहिर निस्क्यो। पचास मिटर दूरीको फरकमा चुन्की पनि पछि लागी। सुकुम्बासी बस्तीको छेउमा ठूलो सिसौको रुख छ। गाउँलेले यसलाई घेरेर चौतारो बनाएछन्।
बस्तीको दुःख बिसाउने साझा बिसाउनी बनेको रैछ, चौतारो। आज यो रित्तो थियो। छातिभरि जूनका छायाँ ओछ्याएर कसैलाई कुरिरहेझैँ लाग्थ्यो। सायद विनय र चुन्की आउने चाल पाएर आज गाउँका कोही आएनन्।
दुवै चुपचाप चौतारामा बसे। परै बसेकी चुन्कीलाई विनयले बोलायो– किन पर बसेकी? यता आइज न। ऊ लजाई। विनयले बोलाइरह्यो। ऊ आउँदै आइन।
विनयले उसको पाखुरा समातेर तान्यो– खुब भाउ खोज्ने भइछस् हैन। आइज यता। अब तँलाई एक्लै छोडेर म काठमान्डु जान्नँ, बुझिस्।
चुन्कीको अनुहार अँधेरो भयो। मुन्टो झुकाइ– मालिकको छोरा भएर मजस्तो कम्लहरीलाई नहेर्नु बाबु। हजुरको ठूलो इज्जत, मान, सम्मान छ। मलाई बिहे गरेर गाउँमा हजुरको बेइज्जत हुन्छ। मेरो बाबा–आमा कसरी मालिकको घरमा काम गर्न जानु होला?
विनय जंगियो– उसो भए तँ मसँग जान खुसी छैनस्। ठीक छ, तैँले अर्कै राजेकी छस् भने म तेरो बाटोमा काँडा बन्दिनँ। होइन भने यो विनयध्वज राणाले छोड्नेलावा छैन, बुझिस्?
चुन्की सुक्सुकाई– त्यस्तो केही होइन। हजुर काठमान्डु गएपछि मलाई ललनले निकै सतायो। स्कुल जाँदा–आउँदा, घाँस र झाला काट्न जाँदा सधैँ मेरो पिछा गर्थ्यो। तँ मसँग बिहे गर नत्र ठीक हुन्न भन्छ।
‘ऊ भन्छ– मालिकके सम्पत्तिम् तोर आँखा लागल बा। तैँ नाइ बु‰बे री, विनय तुहिन् बेच के खाई। बोर बात मान महिन् से भोज (बिहे) कर बरिया हुइजाई।’
विनय मुर्मुरियो– साला ललन! सालाको गर्दन छिनाइदिन्छु। के सोचेको छ, त्यसले यो विनयध्वजलाई।
चुन्कीले उसको पाखुरा बलियो गरी समाती– प्लिज, यसो नभन्नुस्। हजुर सहरमा राम्रो केटी खोजेर बिहे गर्नुस्।
विनय झन् रिसायो– यो बाबुसाबुको नाटक नगर् केटी। भन् तँ मसँग बिहे गर्छेस् कि गर्दिनस्। तँ मलाई माया गर्दिनस्? ऊ बोल्दै बोलिन।
काठमान्डु लगेर तँलाई धेरै पढाउने मेरो सपना थियो। त्यो व्यर्थ रैछ! ठीक छ, तँ जहाँ खुसी हुन सक्छेस् त्यहीँ बस्। म भोलि बिहानै काठमान्डु जान्छु।
ऊ विनयको खुट्टा समातेर रुन थाली– प्लिज बाबु त्यसो नभन्नुस्। म हजुरसँग जान तयार छु। मैले हजुरलाई दुःखी देख्न सक्दिनँ। तर, मलाई डर छ, गाउँको र मालिकको। मेरा बाबा–आमालाई केही भयो भने!
…
विनय काठमान्डु गएपछि चुन्की ललनबाट मात्र होइन सिंगो गाउँबाटै असुरक्षित भई। राघवध्वजले समेत उसको फत्रिँ्कदो बैँसमा आँखा गाडे। कोठामा बोलाएर यौवनको रस पिउन धेरै कोसिस गरे। चुन्कीको छातीमा हुर्किँदै गरेका फूल टिप्न दुषित नंग्रा नतन्काएका होइनन्। तर, अनेक बहाना बनाएर ऊ फुत्किन्थी। जसोतसो आजसम्म बचाएरै राखी, केवल विनयकै लागि।
विनयले दारा किट्यो– बुवाहजुर पनि यत्ति निकृष्ट होइबक्सिन्छ भन्ने थाहा थिएन। हेर्दै गइबक्स्योस्, हजुरको सान–सौकतको धुरी छिट्टै खरानी हुनेछ।
ऊ जोसियो– काली! भोलि टीकाको दिनमै हामीले बिहे गर्नुपर्छ। म बाइकमा आउँछु। तँ वनसप्टी रोडमा निस्की। नेपालगन्ज बागेश्वरी मन्दिर गएर बिहे गर्ने हो। त्यतैबाट हामी काठमान्डु जानुपर्छ। चुन्कीले टाउको हल्लाइ।
विनयले चुन्कीको शिर–पाउ हेर्यो– आज ऊ वसन्तको बगैँचा देखिएकी थिई। त्यहाँ ढकमक्क फूल फूलेर बैँसको बहार आएको थियो। जून पोखिएको छिप्पिँदो साँझमा ऊ धपक्क बलेकी थिई।
दुवैले राजदूत बाइकमा घुमेको विगत सम्झे– उनीहरू चिसापानी धेरै पटक पुगेका थिए। कर्णालीको चिसो पानीमा खुट्टा डुबाएर घन्टौँ बस्थे। प्रेमगीत गुन्गुनाउथे। गीतका फाँकी दुनियाँलाई सुनाउँदै पानीले दक्षिणतिर बगाउँथ्यो। प्रेमको पुष्पक विमानको उडान कहिले सुर्खेतको बुलबुले ताल र देउती बज्यै मन्दिरसम्म पुग्थ्यो। पोहोर माघीमा विनय काठमान्डुबाट सोझै ठाकुरद्वारा आएको थियो। ठाकुरबाबालाई साक्षी राखेर दुवैले मायाको डोरो कसिलो पारेका थिए।
…
साँच्चै भोलिदेखि ऊ विनयकी श्रीमती हुन्छे। चिनियाँ ‘चौधरी’ फेरिने छे। ऊ चिनियाँ राणा हुने छे। उसको गाउँ, सहर र सिंगो संसार अब विनय हुनेछ। विनयसँगको दाम्पत्य जीवन सम्झेर ऊ रातभरि निदाउन सकिन। ऊ झ्यालबाट छिरेका जूनका छायासँग खेलिरही। तिनै छायाँलाई विनय मानेर अँगालो हाली र धेरै पटक चुमी। यस्तो अचम्म र उच्चाटको बेचैनी उसले कहिल्यै भोगेकी थिइन।
आँखा झिमिक्क नगरी चुन्कीले सिंगो रात कटाइ। भाले बास्यो। ऊ उठेर कामधन्दामा लागी।
१० बज्यो। चुन्की चिच्याई– बाबा बेला हुइगिल। हाली करो।
पिँढीमा टीका र चमरा तयार पारी। सफा चट्टिया बिछ्याइ। आफ्ना दुई भाइ श्रीजन र रामदिनसँग सँगै बसी। भेगुवा र चुकनीले सुरुमा छोराहरूलाई टीका लगाइदिए। छिनमै उसको निधार पनि टीकाले भरियो।
जमरा लाइदिँदै बाले भने– छायी तुहिन् धेर पढाइना मन रहे। नाइसेक्नु। मलिक्वा से बात कैल्याटूँ। हुइल कि नाइ। हुइल से तो तोर जिन्दगी बढिया हुइन रहे।
चुन्कीका आँखा डब्डबाए।
टीका सकियो। एकछिन अलमल गर्दै चुन्कीले भनी– बाबा मै सघरियाक घर जाके आइम ना। साहेँ जुन हुइ जाई काहुँ।
‘हाली आइस्। धेर रात नैकरिस्।’
‘हाँ हाँ बाबा’ भन्दै ऊ घरबाट निक्ली। उसले फर्केर हेरी भाइ र आमा उसलाई हेर्दै थिए।
उसले सान्त्वना दिइ– डाइ, भैया मै हाली आइम ना।
मुखले त भनी तर ऊ अब यहाँ घर भनेर कहिल्यै फर्कने छैन। जन्मघर सदाका लागि छोडेर जाँदै थिई। बेलको रुखमुनि हिजो राति नै लुगा राखेको झोला लुकाएकी थिई। झोला समाती। दायाँबायाँ कसैले देख्ला कि भन्दै ऊ भिलोर रुखलाई दाहिने पारेर चोरबाटोतिर लागी। ऊ जंगलैजंगल वनसप्टी रोडतिर दौडी।
…
राघवध्वज र विन्देश्वरीले विनयलाई टीका लगाइदिए। टीका सकियो। विनयले हतारहतार बाइक निकाल्यो।
राघवध्वजले सोधे– खानै नखाइ कहाँ बाबु?
‘बुवाहजुर म नेपालगन्ज जाने जरुरी काम छ। बाटोमै खान्छु। पीर नलिइबक्स्योस्। साँझ फर्किन्न होला। मुवाहजुर बाटो नहेरिबक्सेला।’
साढे १२ बजिसकेको थियो। विनय आत्तियो– चुन्कीले कति पर्खी होली। ऊ समयको जहिले पनि ख्याल गर्छे। उसले दुईजोर कपडा राखेको ब्याग भिर्यो र बाइक स्टार्ट गरेर हुइँकियो।
ऊ वनसप्टी पुग्यो। वरिपरि हेर्यो, चुन्की थिइन। झाडीमा लुकी कि भन्दै चारैतिर च्यायो। सोच्यो– चुन्की कतै लुकेकी छे।
विस्तारै बोलायो– काली म आइसकेँ। लुक्नुपर्दैन छिटो आइज। मसिनो आवाज झाडीमै बिलायो।
ऊ अलि चर्को करायो– ए काली! कति दुःख दिन्छेस् छिटो आइज न। ढिला भइसक्यो। तँलाई कुराएँ सरी बाबा!
विनयको बोली अघिझैँ बडेबडे सालका रुखमा ठोक्किएर बिलायो। तर, चुन्कीको आवाज कतै सुनिएन। विनयले उसको मोबाइलमा फोन थिच्यो। फोन अनौठो बज्यो– माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।
विनय झसंग भयो। कतै चुन्कीलाई ललनले त भगाएन! आफू ढिलो आएकोमा पछुतायो। दर्जनौँ पटक फोन थिच्यो। तर, उही आवाज दोहोरिइरह्यो।
विनयलाई पक्का भयो। चुन्की ललनसँगै भागी। ऊ मुर्मुरियो– जाँठी तैँले मलाई घोका दिइस्। आखिर थारुको जात जनाइस् होइन? अनायासै उसका आँखामा आँसु भरिए।
उसले निकै अघि सडकमा मान्छेको भीड देख्यो। आँसु पुछेर त्यतै दौड्यो– चुन्की त्यहीँ पो छ कि! भाग्न लागेको देखेर गाउँलेले रोकेको हुनुपर्छ।
नजिकै पुगेर सोध्यो– के भयो? कोही बोलेन। भीड बीचबाट कसैको रुवाइको चित्कार बाहिर आएको थियो। विनय भीड पन्छाउँदै भित्र छिर्यो।
त्यहाँको दृश्य देखेर विनय छाँगाबाट खसेझैँ भयो। चुन्की लम्पसार सुतेकी थिई। कपालमा सिउरेको केही जमरा भुइँमा खसेका थिए। टीका जतनले निधारमै टाँसिएको थियो। आधा रेटिएको उसको घाँटीले मुश्किलले टाउको धानेको थियो। विनय त्यहीँ मुर्छा परेर ढल्यो।