डलर र भारुको भिडन्तमा थारू हारेको छ [कविता]

रेशम चौधरी।

अहिले डलरसँग भारु हारेको छ
डलर र भारुको भिडन्तमा,
थारू हारेको छ।
डलरहरु छाती ठोक्छन्, भारुहरु मुड्की बजार्छन,
भित्रभित्रै डलर, भारु मिलेकै छन्
डलर, भारुको बीचमा नेपाली रुपैयाँको अवमूल्यन
नेपाली भएर अवमूल्यित हुनुपनि त भुलैरहेछ,
नेपाली भएरै त आज थारु हारेको छ।।

पहिले मुग्लानमा भिड थियो, कमाउनेहरुको
अहिले युरोप, अमेरिकामा छ।
हिजो मुग्लानमै पनि तिम्रो वर्चस्व थियो
आज सात समुन्द्र पारी छ ।
हामी दुबैतिर कमजोर छौं,
कमजोर हुनुपनी त भुलैरहेछ,
कमजोर भएरै त आज थारु हारेको छ।।

थारु चुपचाप थियौं, सबै स्वीकारेकै थियौं
बस्तीमा आई तिमीले सिकायौ, चेतना दियौ,
अधिकारको परिभाषा बुझायौ
बदलाको आतिथ्यमा, दालभात दियौं
दारु पिलायौं, मासु खुवायौं,
क्रान्तिकारिलाई सबै स्वीकार छ भन्यौ,
थपीथपी खुवायौं, डकारी डकारी खायौं
जे माग्यो त्यही दियौं, विश्वास गर्यौं,
विश्वास गर्नुपनि त भुलैरहेछ,
विश्वास गरेरै त आज थारु हारेको छ।।

बल्ल बोलि फुट्दैथियो,
बोल्दैथियौं, आफ्ना पहिचानका लागि,
सुनेनौ हाम्रा आवाज तिमीले
नसुनिकनै गोली बर्सायो, तर्साउँदैछौं अहिलेसम्म!
गोली खाएर पनि चुप छौं।
चुपचाप सहनु पनि त भुलैरहेछ,
सहेरै त आज थारु हारेको छ।।

के बोकाएनौं हामीलाई
झोला बोकाएनौं कि बन्दुक
झोला बोक्यौं, बन्दुक बोकेर सहिद भयौं
तिमीले देश हाँक्यौं,
हामी चुपचाप घर फर्कियौं।
हाम्रो मौनता तिम्रो लागि विजय भयो
तिमी सिंहदरबार छिर्यौ
हामी झुपडीमा फर्क्यौं
झुपडीमा फर्किनु नै भुल भयो,
न्याय नपाइ फर्किएरै त आज थारु हारेको छ।।

१०० रुपैयाँको तमसुक लाख बनायौं,
मालपोत बुझाउने बहानामा सारा सम्पत्ति लुट्यौं,
अक्षर नजानेकै निहुँमा ल्याप्छे ठोकायौं
जग्गा जमीन सबै हडप्यौं
हामी कमैया बनेर दासता स्वीकारिरह्यौं,
स्वीकार्नु पनि त भुलैरहेछ,
दासता स्वीकारेरै त आज थारु हारेको छ।।

संविधान बन्नेबेला अधिकार माग्यौं
सबैले पाए,हामीले पाएनौं
तिमीले रोजी रोजी लियौं,
हामीले पनि माग्यौं तर दबाइयो
कुट्टियौं, त्यो पनि सह्यौं,
सहनुपनि त भुलैरहेछ,
कुटाइ, पिटाइ सब सहेरै त आज थारू हारेको छ।।

जलाउनेहरु, गोली ठोक्नेहरु,
हाम्री छोरी चेली बलात्कार गर्ने जल्लादहरु,
बस्ती जलाउनेहरु सबै पुजिएकै छन्।
तिन्लाई तिम्रो आशिर्वाद छ।
हामी अन्याय सहेर चुपचाप छौं
तिम्रो न्यायिक आसातित नजरलाई हेर्दै,
आशा गर्नुपनि भुलैरहेछ,
आशा गरेरै त आज थारु हारेको छ।।

माग त भौगोलिक साँस्कृतिक पहिचान प्रदेशको हो!
जातीय राज्यको झुठो आरोप लगाएर,
संसार झुक्याउँदै छौं र पनि हामी चुपचाप छौं
आरोपित भएर आरोप सहनुपनि भुलैरहेछ,
आरोप सहेरै त आज थारु हारेको छ।

हामी त तरकारी पनि बाँडेर खान्छौं,
अर्काको भाग खोसेर खाने चलनैछैन
तिमी, हाम्रो भाग जबर्जस्ति खोसेर,
कुपु कुपु खाँदैछौं, हामी टुलुटुलु हेर्दैछौं
र पनि चुपचाप छौं।
खोसुवाको अन्याय सहनुपनि भुलैरहेछ,
अन्याय सहेरै त आज, थारु हारेको छ।

तिमीले झुठो बोले साँचो हुन्छ,
हामीले साँचो बोले झुठ
झुठो बोलेरै सरकार चलाँउदैछौं
हामी तिम्रो झुठो आश्वासनमै मख्खै छौं
के गर्ने <तिम्रो विश्वासमा अझै अल्झिरहेका छौं,
विश्वास नै हाम्रो पहिचान हो!
विश्वास गर्नुपनि त भुलैरहेछ,
विश्वास गरेरै त आज थारु हारेको छ।

तिमीलाई थाहा छ, थारूले दारु खान्छ-२
दारु खाए नशा चढ्छ, नशा चढे उन्माद
उन्माद्ले उन्मुक्ति खोज्छ,
उन्मुक्तिको उत्तर क्या हुन्छ, थाहा छ<
त्यसपछि भन्ने मौका पनि मिल्नेछैन,
थारु हारेको छ! थारू हारेको छ!!
थारू हारेको छ!!!

Leave a Reply

Your email address will not be published.