मोदीको चासो- संविधानमा सबैलार्इ समेटेर लैजानु

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन् ।ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा पुगेका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा आपसी हितका विषयमा भेटवार्ता भएको थियो ।

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन लम्बिएका कारण निर्धारित समयभन्दा केही अबेर सुरु भएको भेटमा राजकीय भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र विगतमा भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले ‘एन्टी डम्पिङ डयूटी’का समस्यालाई हल गर्नुपर्नेमा जोड दिएको मन्त्री डा महतले बताए । त्यसैगरी, प्रधानमन्त्रीले संविधानमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने कार्यलाई आफूले अगाडि बढाएको पनि बताए ।

त्यसैगरी, प्रधानमन्त्री मोदीले विगतमा भएका द्विपक्षीय सम्झौतालाई अगाडि बढाउने र संविधानमा सबैलाई समेटेर लैजान नेपाल सफल हुने विश्वास व्यक्त गरेका थिए । भारतीय राष्ट्रपतिले गर्न लागेको आगामी नेपाल भ्रमणबारे पनि उनीहरुबीच छलफल भएको थियो ।

भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी थिए ।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रणजीत राय एवम् विदेश मन्त्रालयका उच्च अधिकारीको सहभागीता थियो । रासस

Leave a Reply

Your email address will not be published.