यसरी मनाउँछन् थारूले दसैं

दसैंलाई थारूहरूले कुलदेवतालाई नयाँ अन्न (धान) को ढिक्री तथा कुखुराको बलि चढाउने र पितृलाई सम्झने पर्वका रूपमा मनाउँदै आएका छन् । दहित, टेर्रालगायत थरका थारूमा दसैंको श्राद्ध गर्ने चलन छ । अरू थरका थारूले भने नवमीको बिहान पितृ सम्झने गर्छन् । दसैंको टीकाको दिन चामलको पिठोको टीका बनाएर सेताम्मै हुन्छन् । पछिल्लो समय अरू जातजातिको देखासिखीमा रातो टीका लगाउने चलन बढ्दै गएको छ ।

दसैं पर्वमा अरू समुदायको रीति संस्कृति मिसिँदै आएकाले सेतो टीकाको ठाउँमा रातो टीकाले ठाउँ लिँदै गएको टीकापुर नगरपालिका ९, वनगाउँका दिलबहादुर चौधरीले बताए । उनले भने, ‘आफ्नो चालचलन बिर्सेर अरूको चलन भित्रिँदै गएकाले यसमा सचेतता अपनाउन आवश्यक छ ।’ दसैंमा थारू गाउँमा सखिया नाच नभई नहुने अर्को परम्परा हो । गाउँमा सखिया नाच नभएपछि दसैं दसैंजस्तो नहुने दुर्गौली गाविस ९ जगतपुरका खुसीराम चौधरी बताउँछन् । उनले भने, ‘सखिया नाच हँ‘दा छुट्टै उत्साह र उमंग हुन्छ ।’

सखिया नाच्ने युवतीले सेतो फरिया र रातो चोलिया लगाउँछन् । युवकले भने सेतो धोती र रुचिअनुसारको रंगको कमिज लगाउँछन् । यो नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने दुर्गौली ७ की सुनकेशरी चौधरीले बताइन् । उनले भनिन्, ‘कृष्ण भगवान्को जीवनकथामा आधारित गीत नसकिएसम्म नाच सकिँदैन ।’

Leave a Reply

Your email address will not be published.