राजधानीमा भौँराको भब्य च्यारिटी सो

थारु भाषाको फिल्म भौँराको भब्य च्यारिटी सो गरिएको छ । राजधानीको विश्वज्योती हलमा शुक्रबार च्यारिटी सो आयोजना गरिएको हो । थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित र फोरम लोकतान्त्रिका सांसद जनकराज चौधरीले संयुक्तरुपमा फिल्मको उद्घाटन गरे । राजधानी बस्ने थारुहरु च्यारिटी सोमा सहभागी भएका थिए । निर्माता नन्दुराज चौधरीका अनुसार पाँच सयभन्दा बढी थारुहरु फिल्म हेर्न आएका थिए ।
चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए।   २५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ छन्। थारु फिल्म क्षेत्रमा नयाँ अनुहारलाई प्लाटफर्म दिने हिसाबले पनि फिल्मको निर्माण गरेको निर्माता चौधरीले जानकारी दिए।

फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका छन्। श्रीनारायण चौधरीको पटकथा रहेको फिल्मलाई अनुभवी छाँयाकार हरिनारायण चौधरीले खिचेका छन्। फिल्मको नृत्य निर्देशकमा दीपक चौधरी, हरि वाग्ले र दीपक दीप छन्। फिल्म दाङको थारु वस्ती र देउखरी वरिपरि खिचिएको छ।

फिल्ममा निर्माता नन्दुराज चौधरीसहित, कृष्ण चौधरी, श्रीनारायण चौधरी, सोनु थारु, अन्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published.