चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु

बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बर्दियाको गोला गाविस-९ बाट ताराताल तर्फ आउँदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान करिब साढे चार बजे अनियन्त्रित भइ पल्टिँदा स्थानीय ३२ वर्षीय तपेन्द्र ऐडीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ऐडीको उपचारका लागि जिल्ला अस्पताल गुलरियामा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका गोला गाविस ९ का २८ वर्षीय मंगल थारु र ३८ वर्षीय राजकुमार थारुको जिल्ला अस्पताल गुलरियामा उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ ।

सामान्य घाइते भएका गोला ९ का ३३ वर्षीय खड्कप्रसाद अधिकारी उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

मोटरसाइकलमा चारजना चढेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा दुई जनाभन्दा बढी चढ्न प्रतिबन्ध छ ।

Leave a Reply

Your email address will not be published.