घोराही २ पचुर्खाका रामप्रसाद चौधरीलाई छोरी रामकली अझै फर्कन्छिन् कि झैं लाग्छ । २०५९ वैशाख ३ गते घोराहीस्थित जिल्ला अस्पतालमा उपचार गर्न गएकी २६ वर्षीया छोरी उपचार गर्न नपाउँदै सुरक्षा फौजको नियन्त्रणमा परिन् । छोरी खोज्न गएका रामप्रसाद उल्टै दुई दिन थुनिए । तर छोरी भेटाउन सकेनन् । अहिलेसम्म पनि उनी छोरीको आशमा बसिरहेका छन् । ‘मैले आजसम्म कति खोजें तर केही पत्तो छैन । खोजी गर्द उल्टै मैले यातना भोगें,’ उनले भने, ‘अहिले पनि आयोगमा उजुरी दिएको छु । कतै भेटिइहाल्छे कि भन्ने आस छ । लास नभेटिँदासम्म आस भइरहने रहेछ ।’
मंगलबार विश्वभर बेपत्ता पार्ने कार्यविरुद्धको दिवस मनाइरहँदा रामप्रसाद र उनकी श्रीमती तुलसा छोरी हराएको पीडाले साह्रै दुस्खी थिए । ‘अझै मन मरेको छैन । अब भेटिँदैन भन्ने लाग्दैन । कतै धेरै वर्षपछि फर्केर आएका घटना सुनिन्छन्,’ उनले भनिन्, ‘मेरी छोरी पनि कतैबाट टुप्लुक्क आइपुग्छिन् कि जस्तो लाग्छ । झल्को लागिरहन्छ ।’ रामकलीसँगै पक्राउ परेका गाउँकै चारमध्ये अन्य तीन जना छुटे । तर उनी फर्किन सकिनन् । प्रत्यक्ष राजनीतिमा सक्रिय नभए पनि तत्कालीन माओवादी जनसरकार प्रमुख इन्द्रजित थारूसँग विवाह गरेकी रामकली सुरक्षा फौजको फन्दामा परेपछि छुट्न पाइनन् ।
पचुर्खाकै २३ वर्षीय बिर्जु चौधरी मजदुरीका क्रममा सदरमुकाम घोराही गएकामा घर फर्कन सकेनन् । २०५८ चैत १९ मा बेपत्ता भएका चौधरीको कतै केही पत्तो लागेन । श्रीमती कृष्णा, बुबा लबरु र आमा जिउनी बिर्जुको खोजीमा धेरै पर्ष भौंतारिए । ‘लास भए पनि भेटिन्छ कि भनेर खोला, जंगल सबैतिर खोज्यौं तर केही पत्ता लागेन,’ श्रीमती कृष्णाले भनिन्, ‘बिनाकारण बेपत्ता पारियो । न कुनै राजनीति गरेको, न कुनै दोषी रु अहिलेसम्म कतै भेटिएलान् कि झैं लाग्छ ।’
बुबा लबरु पनि छोराको चिन्ताले सिकिस्त भइरहेका छन् । छोरी पार्वतीले पनि बुबाको काखमा खेल्ने चाहना पूरा गर्न पाइनन् । बाल्यकालमै बुबा हराएपछि उनको बाल मस्तिष्कमा नराम्रो प्रभाव परेको छ। ‘किन हराएको होला रु मानिसलाई यसरी कता लगेर राखेका होलान् भन्ने लाग्छ,’ ९ कक्षामा अध्ययनरत पार्वतीले भनिन्, ‘किन यस्तो अन्याय हुन्छ रु निर्दोष मान्छेलाई यसरी सजाय दिन पाइन्छ र रु’ इन्सेकअनुसार दाङमा ७२ जना बेपत्ता भएका छन् । स्थानीय शान्ति समितिले भने १ सय १३ जना बेपत्ता भएको भन्दै राहतका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सिफारिस गरेको थियो । अहिले बेपत्ता छानबिन अयोगमा १ सय २९ जनाको उजुरी परेको शान्ति समितिले जनाएको छ ।
खोसियो बुढेसकालको सहारा
बाँके– बैजापुर १ बैंसाकी सेतुली चौधरी ६५ वर्षकी छन् । चार छोरा थिए । बुढेसकालमा छोराबुहारीसँगै बस्ने ठूलो सपना थियो । तर, उनले सँगालेको सपना सशस्त्र द्वन्द्वका क्रममा लुटियो । जेठो छोरा पोस्टवीर माओवादीको आरोपमा मारिए । माइला लालवीरलाई माओवादी आरोपमै तत्कालीन सुरक्षा फौजले पक्राउ गरी बेपत्ता पार्यो । साइँला रामवीर सशस्त्र द्वन्द्वकै क्रममा घाइते भए । उनी कान सुन्दैनन् । पार्टीले सहयोग नगरेको भन्दै परिवारसहित उनी भारत पलायन भए । भारत गएका रामवीर ८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् ।
‘बर्बादै भयो हजुर । छोरा गन्ने मात्रै भए । द्वन्द्वले मेरो परिवार छिन्नभिन्न भइसक्यो । दुुस्ख मात्रै पाइयो,’ बलपूर्वक बेपत्ता बनाउने कार्यविरुद्वको अन्तर्राष्ट्रिय दिवस मनाउन नेपालगन्ज निम्त्याइएकी सेतुलीले भनिन्, ‘बुढेसकालमा छोराबुहारीसँग चयनसाथ बस्ने सपना पूरा भएन । अहिले सहाराविहीनजस्तै भएका छौं ।’ उनका श्रीमान् चन्द्रलाल चौधरी पनि त्यही उमेरका छन् । काम गर्नका लागि शरीरले साथ दिन छाडेको छ । छोराहरूको पीडाले सेतुली गलेकी छन् । आँखा गडेका छन् । तर, अझै पनि छोरा फर्किने आसमा उनी नेपालगन्जमा हुने कार्यक्रममा आउन छाडेकी छैनन् । कान्छा छोरा लक्ष्मण अझै सानै छन् । काम गर्ने उमेर पुगेको छैन । उनैको सहारामा सेतुली दम्पती बाँचेका छन् । ‘कान्छो कमाउने भएसम्म हामी बाँच्ने हो कि होइन थाहा छैन । अहिले उसैलाई पाल्नुपरेको छ,’ उनको गुनासो छ । जेठो छोरो पोस्टवीरलाई सुरक्षा फौजले २०५८ असारमा ढकेरीबाट पक्राउ गरेको थियो । तर, रेडियोमा सुरक्षाकर्मीसँगको भिडन्तमा उनी मारिएको खबर सार्वजनिक भएको थियो ।
‘भिडन्तमा मृत्यु भएको भनिए पनि लास पाइएन । संस्कारअनुसार अन्तिम संस्कार गर्यौं,’ पोस्टवीरकी पत्नी तथा सेतुलीकी बुहारी फिरिया चौधरीले भनिन्, ‘सशस्त्र द्वन्द्व हुनुअघि हाम्रो परिवार निकै खुसी थियो । तर, त्यसपछि सबैथोक गुमाएका छौं । कमाउने कोही नभएपछि सहाराविहीन भएका छौं ।’
सशस्त्र द्वन्द्वका क्रममा बाँकेमा राज्य र तत्कालीन विद्रोही पक्षबाट ६२ जना बेपत्ता पारिएको मानव अधिकार क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था इन्सेक नेपालगन्जको तथ्यांक छ । बेपत्ता छानबिन आयोगमा बाँकेबाट १ सय २७ उजुरी परेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जको तथ्यांकअनुसार बाँकेमा सशस्त्र द्वन्द्वका क्रममा १ सय ३० व्यक्तिको हत्या भएको छ भने करिब ८२ जना बेपत्ता छन् ।
दुर्गालाल केसी/दाङ/कान्तिपुर दैनिकबाट