सन्तोष दहित/दाङ।
थारु समुदायको महिलाहरुले आजदेखि धुमधामका साथ उल्लासमय वातावरणमा अष्टिम्की मनाउँदैछन्। वर्षको एकचोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो। श्रीकृष्ण जन्माष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन्।
श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ। अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’ बाट भएको थारु संस्कृतविद अशोक थारुले बताउँछन्। उनका अनुसार श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टीका लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुपमा मनाउने गरेको हुनाले यसदिनलाई थारु समुदाले अष्टिम्की भन्ने गरेको संस्कृतविद थारुको भनाई छ।
दुई दिनसम्म उल्लासमय वातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभरि केही पनि नखाई व्रत बस्ने गर्छन्। अष्टिम्कीमा ‘कान्हा’ को जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसँग टीका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दै आएको हेकुली ८, हेकुलीकी सुल्पिक चौधरीले बताए। उनका अनुसार अष्टिमकीको पहिलोदिन अर्थात् व्रत बसेका दिन बिहानै महटावाको घरको बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा बनाइन्छ। श्री कृष्णको दाँया सुर्य र बाँया भागमा चन्द्रमाको चित्र कोरिन्छ। दोस्रो लाइनमा सात भाइ कौरवको चित्र कोरिन्छ। त्यस्तै तलको भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई लगायत विभिन्न चरा, चरिंगी र जनावरको चित्र बनाइन्छ।
यसरी सबै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्छन्। त्यसपछि विभिन्न किसिमको रंङ्गीचंङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरि थरिथरिको गरगहनाले सजिएर एकैसमयमा गाउँभरिका महिलाहरु लामबद्ध भइ बलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर महटावाको घरमा गई पूजा गर्ने गरेको चौधरीले बताए। यसरी गाँउभरिका महिलाहरु महटावाको घरमा जम्मा भइसकेपछि महटावाँकी श्रीमतीबाट अष्टिम्कीको पूजाको सुरुवाट हुनेगरेको चौधरीले जानकारी दिए। ‘यसरी भित्तामा कोरिएको चित्रको सबैभन्दा माथिको लाइनमा रहेको पाँचचित्र मध्य बीचमा रहेका श्री कृष्ण (कान्हा)लाई टीका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टीका, कलशको जलद्धारा पूजा गर्ने गरिन्छ,’ उनले भने। पूजा गर्दा निकै रमाइलो हुन्छ, ठूलाबाट सानो क्रमसै पूजा गर्ने चलन हुन्छ, पूजासँगै सामूहिकमा अष्टिम्कीको गीत गाउने गरिन्छ।’
उनको अनुसार पूजापाठ गरिसकेपछि घर घरमा गई फलफूल र दही खाई पुनः महटावाको घरमा गइ रातभिर गीत गाएर जग्राम गर्ने गरिन्छ। यसरी बिहान भइसकेपछि यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, ज्यमिरे, फूल नजिकै खोलामा गई बगाउने गर्छन्। जुन दिनलाई थारु भाषामा फह्रार भन्ने गरेको चौधरीले बताए। फह्रारको नुहाइधुवाइ गरी आ-आफ्नो घरमा जान्छन्। घरमा आइसकेपछि ५ देखि ७ थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ-आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन्, जसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ। त्यही अग्रासन विवाहित महिलाहरुले आ-आफ्नो दाजुभाइलाई अग्रासन दिन जाने चलन रहेको चौधरीले बताए।
अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउदै आइरहेका छन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर