कुनै बेला बालबालिकाको विद्यालय छोड्ने दर घटाउने महत्त्वपूर्ण माध्यम मानिएको थारू भाषाको पढाइ अहिले हराउँदै गएको छ । दाङका अधिकांश विद्यालयमा थारू भाषामा शिक्षण थालिएको थियो । तर अहिले क्रमश: छोड्दै गएका छन् । अंग्रेजी शिक्षाप्रतिको मोह, अभिभावकको अनिच्छा, जटिल पाठ्यक्रम र प्राविभन्दा माथि पुस्तक नहुने समस्याले मातृभाषाको पढाइ संकटमा परेको हो ।
जिल्ला शिक्षा कार्यालयको पहलमा १० बाट सुरु भएको थारू भाषा शिक्षा विस्तार भई ४२ विद्यालयसम्म पुगेको थियो । अहिले एउटा विद्यालयको एउटा कक्षामा मात्र सीमित छ । शंकर मावि पिपरीले ५ कक्षामा मात्रै चलाएको छ । अन्य कक्षाको पठनपाठन बन्द छ । १ देखि ३ कक्षासम्म १ सय पूर्णांकको ऐच्छिक विषयमा थारू भाषाको पाठ्यक्रम राखिएकामा अहिले त्यसको सट्टा अंग्रेजी राख्न थालेको जिल्ला शिक्षा कार्यालयका मातृभाषा शिक्षा हेर्ने अधिकृत देवमणि चौधरीले बताए ।
‘सबैलाई अंग्रेजीको मोह छ । अभिभावकमा अंग्रेजी नजाने के पढाउने भन्ने धारणा छ,’ उनले भने, ‘सामाजिक, स्वास्थ्य र सिर्जनात्मक कलामा २० प्रतिशत स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने भन्ने प्रावधान छ । यसको पनि कसैले कार्यान्वयन गरेको छैन ।’ २०६५ देखि सुरु भएको थारू भाषाको पढाइ २०७० देखि हराउँदै जान थालेको हो ।
थारूका साथै अवधी भाषाको समेत शिक्षा चलाउने सोचका साथ १४ जनालाई प्रशिक्षक/प्रशिक्षण तालिम दिई उनीहरूमार्फत १ सय बढी शिक्षकलाई तालिम दिइएको चौधरीले बताए । ‘त्यति गर्दा पनि केही उपलब्धि भएन । मातृभाषा शिक्षालाई कसरी बचाउने भनेर धेरैपटक प्रधानाध्यापकहरूको पनि बैठक राखियो,’ उनले भने, ‘अभिभावक र शिक्षकहरूको रुचि नभएपछि हराउँदै गयो । केही गर्दा पनि बचाउन सकिएन ।’ पहिले १ देखि ५ कक्षासम्म थारू भाषामा पढाउँदै आएकामा अहिले ५ कक्षामा मात्रै सीमित रहेको शंकर मावि पिपरीका प्रधानाध्यापक रामकुमार चौधरीले बताए ।
‘शिक्षकहरूलाई पनि थारू भाषामा पढाउन गाह्रो भयो । अभिभावकले पनि चासो दिन सकेनन्,’ उनले भने, ‘सबै अभिभावकले अंग्रेजी मात्रै भन्छन् । थारू भाषामा चासो नै राखेनन् । एक/एक गरी सबै कक्षामा बन्दै हुँदै गएको छ ।’ कतिपय विद्यालयमा विभिन्न गैरसरकारी संस्थाको पहलमा सञ्चालन भइरहेकामा संस्थाले सहयोग गर्न छोडेपछि पढाइ बन्द भएको छ । ‘सिकाइ प्रभावकारी होस् भनेर मातृभाषा, राष्ट्रभाषा र अन्तर्राष्ट्रिय भाषा गरी तीन तहबाट बुझाउने प्रयास थालेका थियौं,’ उनले भने, ‘कतिपय अभिभावकले हामी नेपाली सजिलै बुझ्न सक्छौं, हामीलाई नबुझ्ने कमजोर ठानेको भनेर हेपेको जस्तो महसुस गरे । त्यसपछि फेरि पुरानै तरिकाले पढाउन थालियो ।’
भाषाप्रति मोह हराउँदा र शिक्षक अभिभावकलाई चासो नहुँदा थारू भाषाको शिक्षा लोप हुँदै गएको थारू भाषा पाठ्यपुस्तकका लेखक कृष्णराज सर्वहारीले बताए । पाठ्यक्रम विकास केन्द्रले फरकफरक ठाउँको भाषा एउटै किताबमा हाल्दा पनि थारू भाषाको पुस्तक जटिल भएको उनले बताए ।
अधिकांश विद्यालयमा बन्द
बर्दियास्थित मानपुरटपरा माविमा करिब ७५ प्रतिशत थारू भाषी विद्यार्थी अध्ययनरत छन् । सरकारले मातृभाषामा पठनपाठनको व्यवस्था गरे पनि यहाँ भने लागू हुन सकेको छैन ।
मानपुरटपराजस्तै बर्दियाका करिब एक हजार सामुदायिक विद्यालयमध्ये चार वटामा मात्र थारू मातृभाषाको पढाइ हुने गरेको छ । करिब ५१ प्रतिशत थारू भाषी रहेको जिल्लामा अभिभावकले चासो नदिँदा मातृभाषाको पढाइ हुने अधिकांश विद्यालयमा पठनपाठन बन्द हुँदै गएको हो । भाषाका कारण कतिपय विद्यार्थीलाई दोभासे शिक्षकले बुझाउँदै आएका छन् ।
घरमा मातृभाषा बोल्दै आएका कलिला बालबालिकालाई समस्या भए पनि उनीहरूले बुझ्ने गरी भाषाको प्रयोग गरिएको बगलामुखी राधाकृष्ण थारू मावि, गुलरियाकी शिक्षिका जया शर्मा बताउँछिन् । गुलरिया आसपास र मोहम्मदपुरमा अवधी समुदायको बाक्लो बस्ती छ । अवधी भाषा बोल्ने बाबालिकाको समस्या उस्तै छ तर शिक्षकले उनीहरूलाई बुझ्ने भाषामा अध्ययन गराइरहेको बताउँछन् । जिल्लाको चारवटा सामुदायिक विद्यालयमा थारू मातृभाषामा पढाइ भए पनि पाठ्यक्रम र पाठ्यपुस्तक अभावमा झन्डै २५ वटा विद्यालयमा लागू हुन नसकी बन्द भएको बहुभाषिक प्रशिक्षक च्यामु चौधरीले बताए ।
दाङमा रहेको थारू समुदायलाई आधार मानी प्रकाशित गरेका पाठ्यपुस्तक यहाँका स्थानीय थारू भाषीसँग मिल्दोजुल्दो नभएका कारण पठनपाठन गर्न समस्या भएको गुनासो शिक्षकको छ । थारू भाषा घरमै बोलिन्छ, नेपाली र अंग्रेजी सिक्न भनेर पढ्न विद्यालय पठाएको भन्दै अधिकांश अभिभावकले प्रतिक्रिया दिने गरेको बहुभाषिक प्रशिक्षक चौधरीले बताए । किसान मावि फचकवा, नेरामावि भैसाहीलगायत चारवटा विद्यालयमा प्राथमिक स्तरका विद्यार्थीलाई मातृभाषा थारूमा पढाइ हुने गरेको छ ।
मगरागाडी, गुलरिया र मैनापोखर स्रोत केन्द्रका अधिकांश विद्यालयमा थारू भाषामा पढाइ हुने गरेकामा गत शैक्षिक सत्रमा बन्द भएका छन् । अहिले पनि मातृभाषाका पाठ्यपुस्तक अभाव रहेको शिक्षक बताउँछन् । सदरमुकाम गुलरिया, मोहम्मदपुर, सोरहवा, जमुनी र राजापुर क्षेत्रमा अवधी समुदायको बसोबास रहेको छ । तीमध्ये सबैभन्दा बढी गुलरियाको मथुराहरिद्वार र खैरापुरमा अवधी समुदायको बाक्लो बस्ती छ । ती बस्तीको हरेक गाउँमा विद्यालय छन् तर शिक्षक मधेसी समुदायको भए पनि नेपाली भाषामा बालबालिकालाई अवधीमा अनुवाद गरी पढाउने गरेको शिक्षक मिथलेश यादव बताउँछन् ।
छेदापुर प्राविका प्रधानाध्यापक मिथलेश यादवले हालसम्म अवधी भाषाका लागि पाठ्यपुस्तक तयार नपारेको बताए । जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले भैसाहीलगायत केही विद्यालयमा थारू मातृभाषामा पढाइ हुने जानकारी भएको बताए ।
बाँकेमा पनि समस्या
थारू, अवधी र उर्दु भाषी बहुल बाँकेमा जिल्ला शिक्षा कार्यालयले ती समुदायका केही शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दियो । तालिम प्राप्त शिक्षकले आफ्ना स्रोत केन्द्रअन्तर्गत रहेका प्राथमिक तहका शिक्षकलाई दुईपल्ट मातृभाषाको पढाइ विधिबारे प्रशिक्षण दिए । ‘तर, तालिम पाएको चार वर्ष बितिसक्दा पनि मातृभाषाको पढाइ लागू भएन ।
कान्तिपुर दैनिकका दुर्गालाल केसी, कमल पन्थी र ठाकुरसिंह थारूको रिपोर्ट