थारु पत्रकार संघले खुवायो भिन्सरीया

थारु पत्रकार थारु पत्रकार संघ नेपाल बाँकेले सोमवार नेपालगन्जमा भिन्सरीया खुवाएको छ। नेपाल पत्रकार महासंघ बाँकेको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी थारु समुदायले मनाउने महानपर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा भिन्सरीया अर्थात दर खुवाएको हो।

कार्यक्रममा पत्रकारितामा थारु पत्रकारलाई स्थापित गर्नका लागि उनीहरुको क्षमता अभिवृद्धि गराइनुपर्ने सहभागीहरुले बताएका थिए। बाँकेमा थारु पत्रकारहरुको उपस्थिति न्यून रहेको, भएकाहरुले पनि पत्रकारीतालाई निरन्तरता दिन नसकिरहेको थारु पत्रकार संघ नेपालका सल्लाहाकार ठाकुर सिंह थारुले उनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए।

उनले थारु पत्रकारहरुलाई भाषिक समस्या भएको समेत बताए। थारु पत्रकार संघले पहिलोपटक बाँकेमा यसखालको कार्यक्रम गरेको भन्दै कार्यक्रमका सहभागीहरुले यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक झलक गैरे, बाँके शाखा अध्यक्ष रुद्र सुवेदी, पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई, चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेत, प्रेस युनियनका सचिव अर्जुन ओली, कृषि पत्रकार समूहका अध्यक्ष खगेन्द्र दाहाल, पत्रकार ठाकुरसिंह थारु, कांग्रेस नेता लाहुराम थारु, एमाले नेता चन्द्रबहादुर थारु, थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य पूर्ण थारुलगायतले बोलेका थिए।

थारु समुदायमा भिन्सरीया भन्नाले दर भन्ने बुझिन्छ जुन श्रीकृष्ण जन्माष्टमीको अघिल्लो रात भाले नबास्दा सम्म खाइने दरलाइ बुझिने थारु अगुवाहरु बताउँछन्। संघको अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भगतराम थारुले गरेका थिए।

Leave a Reply

Your email address will not be published.