गोविन्द चौधरी र जितेन्द्र सोनल पार्टी कार्यालय जानै छाडे

महामन्त्रीबाट घटुवा गरेर केन्द्रीय सदस्य बनाएपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा तीव्र विवाद सुरु भएको छ । पार्टी स्थापना भएपछि तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल, जितेन्द्र सोनल र गोविन्द चौधरीलाई महामन्त्री बनाएका थिए । तर, हालै सम्पन्न प्रथम महाधिवेशनपछि ठाकुरले शुक्ललाई उपाध्यक्ष तथा चौधरी र सोनललाई घटुवा गरी केन्द्रीय सदस्य बनाएपछि तमलोपाको विवाद सतहमा आएको हो ।

आफूहरूलाई केन्द्रीय सदस्य बनाएपछि चौधरी र सोनल पार्टी कार्यालय जानै छाडेका छन् । तमलोपामा चौधरी र सोनल लोकप्रिय युवा नेता मानिन्छन् । ‘पार्टी नेतृत्वले आफ्ना आसेपासेलाई च्याप्न खोज्दा पुराना र पार्टी संगठन गर्ने नेताहरूलाई पाखा लगाइयो, यस्तो कार्यशैलीले पार्टी चल्न सक्दैन,’ नेता सोनलको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने ।

केही दिनअघि केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने क्रममा अध्यक्ष ठाकुरले बृजेशकुमार गुप्ता र जंगीलाल रायलाई महामन्त्री बनाएका थिए । महामन्त्री बनाइएका राय सर्लाही जिल्लाका हुन् । तमलोपा केन्द्रीय कार्यसमितिमा सर्लाही, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको वर्चश्व छ ।

Leave a Reply

Your email address will not be published.