गच्छदारलाई सत्तामा जान रोक्ने प्रचण्ड होइन देउवा

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए ।

‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ, उहाँको तर्फबाट कतै अप्ठ्यारो छैन,’ ती नेताले भने, ‘तर शेरबहादुर दाइले मानिराख्नुभएको छैन । किन अप्ठ्यारो मान्नुभएको हो, थाहा हुन सकेको छैन ।’ यसबीचमा गच्छदारले देउवालाई मनाउने कोसिस गरे पनि उनले चासो नदेखाएको फोरम लोकतान्त्रिकका अर्का नेताले बताए ।

ती नेताले प्रधानमन्त्री दाहालका निकटस्थबाट देउवासँग कुराकानी गर्न गच्छदारलाई सुझाव प्राप्त भएको समेत खुलाए । बिहीबारको बैठकले सरकारका बारेमा अरू दलसँग छलफल चलाउने जिम्मेवारी अध्यक्ष विजयकुमार गच्छदारलाई दिएको छ । पार्टीका अर्का नेता रामजनम चौधरीले बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकाले शुक्रबार दिउँसो एक बजे पुनः बस्ने जानकारी दिए ।

पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको एक साता नाघिसक्दा दुईपल्ट मन्त्रिपरिषद् विस्तार भइसक्यो । अन्तिम घडीसम्म अघिल्ला प्रधानमन्त्री केपी ओलीलाई सघाउने वचन दिएको फोरम लोकतान्त्रिकले दाहालका पक्षमा भोट हाले पनि सरकारमा जाने प्रयास सफल हुन सकेको छैन । अपवादबाहेक सबै मन्त्रिपरिषद्मा सामेल हुने गरेका फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई यसपटक सत्तारोहण सहज भएको छैन ।

कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.