थारु अगुवाहरुको गुनासो- ‘सिकलसेल रोकथाममा सरकार गम्भिर भएन’

अवीनाश चौधरी/धनगढी।

थारु समुदायको अस्तित्व नै सखाप पार्ने गरी वङ्शाणुगत रोग सिकलसेलको प्रभाव बढे पनि सरकारले रोकथामका लागि चासो नदेखाएको सो समुदायका मानिसले गुनासो गरेका छन्। बिहीबार धनगढीमा सिकलसेल एनिमियाविरुद्धको तेस्रो राष्ट्रिय जागरण दिवस मनाउने क्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन्।

हालसम्म थारु समुदायमा मात्रै देखिएको यो रोगले पश्चिमको थारु गाउँ आक्रान्त भएको छ। सिकलसेलका कारण थारु समुदायको वङ्श नै विनाश हुने खतरा बढे पनि सरकारले यसलाई जनस्वास्थ्य समस्याको रुपमा सम्बोधन गर्न नसकेको कतिपयको गुनासो छ।

सेती अञ्चल अस्पतालमा मात्रै उपचारका लागि दुई सय भन्दा बढी विरामी दर्ता हुनु दर्दनाक अवस्था रहेको थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव चौधरीले बताए। उनले सिकलसेलका कारण स्थिति भयाबह रहेको भन्दै सरकारले जनस्वास्थ्य समस्याको रुपमा सम्बोधन गर्दै रोकथामका अभियान चलाउन आवश्यक रहेको बताए।

‘यो हामी थारुहरुको मात्रै नभइ सबैको साझा समस्या हो’, उनले भने– ‘त्यसकारण यसलाई जनस्वास्थ्य समस्याको रुपमा सम्बोधन गरिनु पर्दछ।’ सचिव चौधरीले जागरणको कार्यक्रम गर्ने दायित्व पनि सरकारी निकायकै रहेको उल्लेख गरे।

sickle cellसिकलसेल रोगबाट ग्रसित अधिकांशलाई आफूमा लागेको रोगबारे अझै थाहा नै छैन। कतिपयले रोग पत्ता समेत नलाग्दै ज्यान गुमाइरहेको स्वास्थ्यकर्मीहरुले दावी गर्दै आएका छन्। स्वास्थ्य संस्थामा उपचारका लागि सिकलसेलबारे बुझेका र बढी जसो सहर बजार नजिकका मात्रै आउने गरेका बताइएको छ।

सिकलसेलबाट धेरै मानिसले ज्यान गुमाइसकेका र अझै धेरै व्यक्ति ग्रसित रहेकाले रोकथामका लागि राज्यले प्रभावकारी कदम चाल्न आवश्यक रहेको थारु युवा नेतृ इन्दु चौधरीको जोड छ। उनले तराईका अञ्चल अस्पतालमा सिकलसेल परीक्षण गर्ने मेशिन र रगत परीक्षणको व्यवस्था हुनुपर्ने बताइन्।

‘जनचेतनाको फैलाउने दायित्व पनि राज्यकै हो’, चौधरीले भनिन्, ‘सामाजिक संघसंस्थाले जनचेतना फैलाउने काम गर्दै आए पनि त्यो पर्याप्त छैन। यो कार्य जिल्ला जनस्वास्थ्यले गर्दा झनै उत्तम हुन्छ। किनकि, जनतासंग प्रत्यक्ष जोडिएका महिला स्वास्थ्य स्वयम् सेविकाहरु पनि जिल्ला जनस्वास्थ्य कार्यालयसँग छन्।’

जागरण कार्यक्रममा उपस्थित भएका धेरैले नै सिकलसेलबारे अनविज्ञता प्रकट गरेका थिए। उनीहरुले यो रोगको बारेमा कुनै पनि थाहा नभएको उल्लेख गरेका छन्। सिकसेल विरुद्धको चेतनामूलक प्रचार प्रसारका कार्यक्रम ग्रामीण क्षेत्रमा अझै हुन सकेको छैन।

सिकलसेलबारे अधिकांशलाई थाहा हुन नसकेको भन्दै मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले राज्यले व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए। फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुङ्गेलले सिकलसेल एनिमिया बिरुद्ध सरकारले थप अनुसन्धान र प्रभावितहरुलाई सहज र निःशुल्क उपचारको तत्काल व्यवस्था मिलाउन जरुरी रहेको बताए।

नागरिक समाजले सिकलसेल अरु दीर्घ रोगभन्दा भिन्न रहेको र यसले एउटा समुदायको अस्तित्व नै खतरामा परेका कारण हाल कायम उपचार सुविधा पर्याप्त नरहेको बताएका छन्। सिकलसेल विरामीहरुलाई आजिवन निःशुल्क उपचार सेवा उपलब्ध हुन आवश्यक रहेको उनीहरुको भनाइ छ। सरकारले विपन्न असहाय सेवा अन्तर्गत एक लाख रुपिया बराबर निःशुल्क उपचार सेवा सिकलसेल विरामीलाई प्रदान गर्दै आएको छ।

सेती अञ्चल अस्पतालका डा. शेरबहादुर कमरले वङ्शाणुमा हुने दोषका कारण सिकलसेल रोग हुने गरेको बताए। उनले रातो रक्तकोष हसिया जस्तो (सिक्लिङ्ग) भइ गर्नु पर्ने काम नगरेपछि सिकलसेल हुने गरेको उल्लेख गरे।

जागरण दिवसको अवसरमा थारु नागरिक समाज कैलालीको आयोजनामा क्याम्पस चौकदेखि जिल्ला विकास समितिसम्म जागरण र्‍याली समेत भएको थियो। जागरण दिवसकै अवसर पारेर थारु नागरिक समाजले सिकलसेल परीक्षण मेशिन, निःशुल्क रगत परीक्षण, विरामीको आजिवन निःशुल्क उपचार सुविधा हुनु पर्ने लगायतको माग राख्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।

Leave a Reply

Your email address will not be published.