सिर्जना चौधरी।
म मेरो समाजमा भएको परिवर्तनलाई नियालिरहेको छु। परिवर्तनको क्रममा धेरै अगाडि बढिसकेको छ मेरो गाँउ, मेरो समाज अहिले, त्यही पुरानो खपटाले छाएको छानोको घर छैन, लडिया हिँड्ने धुलो खाल्टाखुल्टी बाटो छैन, जहाँ हामी बाटा चप्पल लगाएर धुलो उडाउँदै लडिया पछि लाग्थ्यौं। अहिले त गाडी हिँड्ने पक्की सडक बनिसकेको छ। गाँउको गल्ली गल्ली ग्राभेल भइसेकको छ। घरायसी काम गर्नदेखि लिएर कृषिमा पनि नँया प्रविधि अपनाइएको देखिन्छ।
वैदेशिक रोजगारकै क्रममा भए पनि केटाहरु देश विदेश पुगिसकेका छन्। स्वास्थ्य क्षेत्रमा पनि विकास र परिवर्तन भएको देखिन्छ। त्यसैले त पहिलेको तुलनामा दम्पत्तिहरु सानो परिवारको महत्व बुझेका छन् र परिवार नियोजनका साधनहरुसँग अज्ञात छैनन्। आर्थिक उपार्जन गर्नका लागि केही न केही काममा लागेका छन् र परिवार खुसी छन्।
तर आधुनिकतामा राम्ररी भिजेको भए पनि आधुनिक सोँच ल्याउन नसकेको मेरो समाजमा अझै पनि छोरीलाई हेर्ने दृष्टिकोण बदल्न बाँकी नै छ। छोरी घरको काममा मात्र सिमित हुनुहुँदैन, उनलाई उच्चशिक्षा पनि लिनुछ भन्ने बुझेको भएपनि, हाम्रो समाज छोरीलाई उच्चशिक्षा नभएपनि हुन्छ भन्ने विचार कायमै छ।
त्यसैले त अहिले पनि छोरीहरु स्कुल जान्छन् तर उच्चशिक्षा भने कमैले पाएको देखिन्छ, कारण उनीहरुको कमजोरी होइन, कमजोरी त अभिभावकको हो। जो आफ्नी छोरी घरायसी काममै सिपालु होस् भन्ने चाहन्छन्। ताकी छोरी ससुराल जाँदा छोरीसँगै गाली माइती नआओस्। छोरी जति पढेपनि सम्हाल्ने भनेको चुल्होचौको नै हो भनेर आफ्नी छोरी घरायसी काममै सिपालु बनाउनतर्फ लाग्छन्। स्कुलबाट आएर होमवर्क गर्न बसेकी छोरीलाई फलानासँग माछा मार्न जा भनिन्छ, छोरी ठूली भई भन्ने अनूभूति छोरी पढाईमा होइन अब त काम गर्नुपर्छ भन्ने कुराले बुझाइन्छ र छोरीको हातमा ढकिया बुन्ने छेदना र लेस बुन्ने काँटी कलमसँगै थपिन्छ। पढिरहेकी छोरीलाई पढाईभन्दा घरयसी काममै लगाइन्छ।
छोरीले जति चासो घरायसी काममा देखाउँछे उति नै खुसी हुन्छन् आमाबाबु र उति नै ढुक्क पनि तर घरायसी काममा चासो नदिने छोरीहरुप्रति दुःखि र चिन्तित पनि उति नै हुन्छन्। आमाबुबाको सपना र चाहना त छोरी घरायसी काममै सिपालु होस् सकेसम्म घरकै काममा सिमित होस् ताकि छोरीले ससुरालमा दुःख नपाओस् भन्ने हुन्छ।
मेरी आमालाई एक छिमेकीले भन्नुहुन्छ, ‘छोरीको पढाई सकिएन, अझै कति पढाउनुहुन्छ, अब त बिहे गर्ने बेला भयो त। कहिले गरिदिनुहुन्छ, उमेर त भयो आदि इत्यादि। फेरि अर्की काकीले भन्नुहुन्छ- दिदीले त छोरी भएर पनि सुख पाउनु भएन है। छोरी बाहिर पढ्न पठाएर आफू मरी मरी काम गर्नुपर्छ। छोरी घरमा भैदिएकी भए सुख त हुन्थ्यो, कहिले सुख नपाउने हुनुभयो। यस्तो विचार छोरी पढ्न पठाएर दुःख पाउनु भन्नेबारे साँघुरो सोँच होइन र।
छोराछोरी बराबर हो भनेर छोरी पढेर आफ्नो खुट्टामा उभिन सक्छे भन्ने मेरो समाज छोरीको पढाइमा खुसी किन हुँदैन। छोरीले काम सिकेको देख्दा, खाना पकाएको देख्दा, घाँस दाउरा, ढकिया कुस चलाएको देख्दा प्रशंसा गर्ने मेरो समाज पढ्दै गरेकी छोरीलाई पढ्नबाट निरुत्साहित किन गर्छ?
आधुनिकतामा रमाइरहेको समाज छोरीको हकमा सोच्न अझै डराएकै छ। हाम्रो समाजमा छोरीको पढाईको स्तर, उनले गर्ने काम, उनको प्रोमोसनमा ध्यान जाँदैन र चर्चा पनि हुँदैन। उनीहरुको ध्यान त कसको छोरीको बिहे कोसँग भयो, कस्तोसँग भयो, कति दाइजो पायो भन्नेमा जान्छ। जागिर गर्न लागेकी अविवाहित छोरीको प्रोमोसनमा आँखा जाँदैन, उनीहरु त पोहोर बिहे भएकी चमेलीले छोरा पाई वा सुन्तलीले छोरी पाई भन्नेमा जान्छ। यस्तै छ हाम्रो समाज।
मेरी साथीको विहे भएको ५ वर्ष भयो, छोरा पनि अहिले स्कुल जाने भैसकेको छ। उनको जीवन भरिपूर्ण छ भनेर समाजले देख्छ र मेरै अगाडि उनको जीवन सुखी र खुसी भएको उदहारण दिन्छ तर मैले देख्छु उनको वास्तविक जीवन, म सुन्छु मेरो साथीको दुःखको कहानी। उनीसँग भेटेपछि मलाई यही भन्छिन, ‘ हेर न म त बिहे गरेर मेरो जीन्दगी नै खतम भएजस्तो लाग्छ। तिमीले राम्रो गर्यौ, पढिराछौ, बिहे गरेको भए मैलेजस्तै पढ्न पाउँदैनथ्यौ होला। यसरी मजस्तै सबैको आवश्यकता पूरा गर्नमै दिन बित्नेथ्यो। उनको कुरा सुनेर म अलि सन्तुष्ट हुन्छु आफ्नो जीवनदेखि। तर दुःख लाग्छ उनले गरेको बलिदान देख्दा, तर समाज त खुसी छ। समाजलाई छोरीको बलिदान नै मनपर्छ।
मलाई र मेरी विवाहिता साथीलाई कुरा गरेको देख्दा भन्छन्ई, तेरो पनि यत्रो छोरो भैसक्थ्यो। बिहे नगरी बुढी भइस्। तर मलाई थाहा छ बच्चा पाइसकेकी मेरी साथी कति कमजोर भैसकेकी छ, सानो उमेरमै बच्चा जन्माएर। धेरै समयपछि भेट भयो दौतरीको साथीलाई, मैले चिन्न सकिन। ऊ काखमा बच्चा च्यापेर बसेकी थिई। र, एक उमेर ढल्केकी, अधवैँशे महिलाजस्तो, मैले चिन्न नसकेका कारण उसले नै बोलाई, अनि चिने। मोटोघाटो सरलक्क परेको उसको शरीर अब दुब्लो पालतो नपत्याउने शरीर मैले चिन्न सकिन।
सबैले अवसर पाउनुपर्छ भन्ने बुझेको मेरो समाजमा छोरा र छोरीलाई समान अवसर दिइँदैन। छोरा कति दिन घर नआउँदा, राति राति डुल्दा पनि चिन्ता हुँदैन, तर छोरी कुनै सिपमुलक तालिममा जान नपाउने कस्तो असमान सोच। रातमा जान नदिनु एक हिसाबले ठिकै होला, तर अवसर पाएको बेला अवसरबाट वञ्चित हुनुपर्ने छोरीले बरु घरकै भएनभएका कामहरु देखाइन्छ र यसरी बाटो छेकिन्छ। अनि कसरी अगाडि बढ्छ पिछडिएको समाज।
आफ्नो छोरी बहिरको काममा नजाओस् सकेसम्म घरायसी काममा गुनीहोस् र घर सम्हालोस् भन्ने मान्यता भएकाले, पढेलेखेको बुझेको एक शिक्षित बाबुले पनि आफ्नी छोरी बाहिर काम नगरोस् भन्ने चाहन्छन्।
बदलिँदो दुनिया, विकासशिल परिवर्तनसँगै अविकसित सोँच रहेको हाम्रो थारु समाज अझै पुरातनवादी सोँचमै अडिग छ। छोरीहरु घरायसी काममा नै सिपालु भैरहुन्, माइतीघरमा आमा र ससुरालमा सासुलाई सघाउन भन्ने मान्यता यसरी छोरीप्रतिको धारणा अझै कायमै रहेको छ। छोरीहरु आत्मनिर्भर बनून्, अधिकारको कुरा गरुन् राजनीति सामाजिक बहस गरुन् भन्ने अपेक्षा गर्नु त टाँढैको कूरा।