पश्चिम थारू बस्तीमा हरडहुवा/हरधोबाको रौनक

धान रोपाई सकिएपछि पश्चिम नेपालको थारू वस्तीमा हरडहुवा तथा हरधोवाको रौनक बढेको छ । धान रोपाई सकिएको खुसयालीमा मनाइने पर्व तथा हरडहुवा÷हरधोवाको रौनक सुरु भएको हो ।

डगौंरा थारूले हरडहुवाको नामले र कठरिया थारूहरुले हरधोवाको नामले सामूहिक रुपमा खानपान, नाचगान गरी, चेलीबेटी, इष्ट मित्रहरुलाई घरमा आमन्त्रण गरी आपसमा खुसयाली साटासाट गरी मनाइरहेका छन् । हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हर अर्थात हलो धुनु हो ।

कैलालीको गदरिया–६ बेनौलीवासीले असार २१ गते हरडहुवा मनाए । भने हालै जिल्लाको पहलमानपुर–३ शिसैयाका कठरिया थारूहरुले धमधामले हरधोवा मनाएका हुन् । बेनौलीका भलमन्सा पहलमान चौधरीले गाउँभरीको लागि दुई/तीन ओटा जिटा (बंगुर) काटेर पर्व मनाएको जानकारी दिए ।

हरडहुवा मनाउनुको अर्को अर्थ रोपाई सकिएको पनि बुझाउँछ । सामान्यतया टोल या गाउँमा सबैले रोपाई सकाएपछि मात्रै हरडहुवा मनाइने गरिन्छ । जुन धान रोपाईको क्रममा खेपेको दुःख पीडा भुलाउने माध्यम पनि बनेको छ ।

यसरी हरडहुवा मनाइ सकेपछि आ–आफ्नो गन्तव्यमा लाग्छन् ।

Leave a Reply

Your email address will not be published.