सन्तोष दहित/दाङ
दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कनै समस्या थिएन। घरमा श्रीमान थिए, घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे। तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालीन सेनाले घर अगाडि गोली हानेर हत्या गरेपछि सुनितालाई घर खर्च चलाउन निकै धौधौ पर्यो। ‘घर चलाउन सबै उहाँकै भर थियो,’ मारिएका श्रीमानको सम्झना गर्दै सुनिताले भनिन्, ‘घरकै मुली नभए कसरी घर चलाउने हैरान भएकी छु्।’
सुनिताले घर चलाउन प्रयास नगरेकी भने होइनन्। घर खर्च चलाउन सजिलो हुन्छ कि भनेर उनले सिलाइकटाइ तालिम लिने प्रयास गरिन तर आर्थिक अवस्था कम्जोर भएकै कारण सनिताले तालिम पनि लिन सकिनन्। तालिम लिन नसकेपछि सिलाइकटाइ सिकेर गाउँमा सिलाइकटाइ सेन्टर खोलेर घर खर्च चलाउला भन्ने तत्कालिन सपना पनि अधुरै भयो। तर, तत्काल त्यो सपना अधुरै रहेपनि अहिले भने उनको सपना पूरा भएको छ।
मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्रले लक्ष्मीपुर गाविसमा संक्रमणकालिन न्याय तथा शान्ति प्रवर्द्धनका लागि स्थानीय क्षमता विकास कार्यक्रमअन्तर्गत द्वन्द्वपीडितका लागि संक्रमणकालीन न्याय तथा शान्ति मञ्च गठन गरेपछि त्यसमा आफू पनि आबद्ध भएको चौधरीले बताए।
त्यसको केही महिनापछि हरप्लेस दाङको र संक्रमणकालीन न्याय तथा शान्ति मञ्चको संयुक्त आयोजनामा २०७२ माघ २९ गते लक्ष्मीपुर गाविसमा द्वन्द्वपीडित र स्थानीय सरोकारवालाहरुको बीचमा गाविस स्तरिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रममा लक्ष्मीपुरका गाविस सचिव पुनाराम गिरीले द्वन्द्वपीडितलाई विशेष प्राथमिक्ता राखेर सिलाइकटाई तालिमको आयोजना गर्ने र तालिममा आउन चाहनेहरुको नामवली मागेपछि आफ्नो नाम दिएको उनले बताइन्। त्यसपछि केहिदिन आधारभूत सिलाईकटाई तालिम लिएको उनले बताए।
तीन महिना तालिम सिकेपछि आफ्नै घरमा साथीहरुसँग मिलेर सिलाइकटाई सेन्टर खोलेको चौधरीले बताइन्। ‘पढ्न पनि सकिएन सधैँभरि मजदुरी पनि गर्न सकिँदैन, त्यसैले सिलाइकटाई सिकेर घर खर्च चलाउन सजिलो होस् भनि यो पेसा रोजेकी हुँ,’ उनले भनिन्। तर त्यतिबेला सिलाइकटाई तालिम लिनको लागि आफूसँग एक सुको नभएको उनले बताइन्।
‘सिलाईकटाइबाट आएको पैसाले घर चलाउन पनि सजिलो भएको छ, दुई/चार पैसा पनि देख्न पाइएको छ,’ उनले भनिन्।