स्वास्थ्यमन्त्री रामजनम चौधरीले अवैध भनेको परीक्षा नियमसंगत

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेको स्वास्थ्यकर्मीको करार नियूक्ति प्रक्रिया नियमसंगत भएको छानविन समितिले निष्कर्ष निकालेको छ।

यसअघि निर्देशनालयले गरेको नियुक्ति प्रक्रिया अवैध भएको भन्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीले स्थगित गरिदिएका थिए। चौधरीले सिफारिस गरेका व्यक्ति छनौटमा नपरेपछि उनले वैशाख ३० गते मन्त्री स्तरीय बैकठबाट करार नियुक्ति प्रक्रिया स्थगित गरेको आरोप लागेको थियो।

त्यसपछि स्वास्थ्यमन्त्री चौधरीकै निर्देशनमा भर्ना छनौटमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयकै उपसचिव झपीन्द्र पाण्डेय र शाखा अधिकृत चिरन्जीवी सापकोटाका सम्मिलित समिति गठन भएको थियो। समितिले छनौट नियमसंगत भएको प्रतिवेदन बुझाएको छ।

छनौट प्रक्रिया नियमसंगत भएको प्रतिवेदन आए पनि उत्तीर्ण भएका स्वास्थ्यकर्मीहरुलाई नियूक्ति भने दिइसकेको छैन। काममा पठाइसक्नु पर्ने हो सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक सुशीलनाथ प्याकुरेलले भने, ‘छानविन समितिले छनौट नियमसंगत भएको प्रतिवेदन दिँदासमेत मन्त्रालयले नियूक्ति दिन भनेको छैन।’ मन्त्री चौधरीले अझै पनि नियुक्ति नदिन दबाब दिएकै कारण नियुक्ति प्रक्रियामा ढिलाई भएको बुझिएको छ।

‘मलाई त एक महिनाको काजका लागि मन्त्रालयमा हाजिर हुन भनिएको छ,’ क्षेत्रीय निर्देशक डा. सुशीलनाथ प्याकुरेलले भने, ‘त्यसैले धेरै कुरा थाहा छैन। हामीले गरेको काम नियमसंगत नभएको कुरा पुष्टी भैसकेको छ। त्यसैले नियूक्ती हुनुपर्ने हो। खै के कारणले रोकिएको हो?’ रिक्त रहेका स्वास्थ्यसंस्थाहरुमा तत्काल स्वास्थ्यकर्मी पठाउनुपर्ने अत्यावश्यकता रहेको उनले बताए। ‘जोखिमको समय छ। जतिबेला पनि महामारी फैलन सक्छ। यसैले अब स्वास्थ्यकर्मीलाई नियूक्ती दिएर पठाउन ढिलो गर्नु हुँदैन्,’ उनले भने।

उनलाई आफूले सिफारिस नगरेको झाेंकमा मन्त्री चौधरीले मन्त्रालयमा एक महिनाका लागि झिकाएका थिए। एक महिना पुगिसकेकाले अब चाँडै फिर्ता हुने निर्देशक प्याकुरेलले बताए। स्वास्थ्यमन्त्री चौधरीले ६६ जना अनमी, ९ जना स्टनफनर्स, ८ जना ल्याव असिष्टेन्ड गरी ८३ जनाको नाम उत्तीर्ण गर्नु भनी निर्देशक प्याकुरेललाई पत्र पठाएका थिए।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले केन्द्रको निर्णयअनुसार २०७२ साल फागुन २० गते अनमी १ सय २७, हेल्थ असिष्टेन्ड १ सय ४०, रेडियो ग्राफर २, स्टाफनर्स ९, अहेव ७० र ल्याव असिष्टेन्ड ५ जनाका लागि करार नियुक्तिका लागि बिज्ञापन खुला गरेको थियो। परेका आवेदकहरुको चैत २० गते देखि २०७३ वैशाख ३० गतेसम्म अन्तर्वार्ता लिएको थियो। जसमा विभिन्न पदमा गरी १ हजार १ सय ३७ जना सहभागी थिए।

Comments are closed.